५ चैत्र २०८२, बिहिबार

गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव नै केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने

प्रकाशित मिति :  19 March, 2026 6:13 pm


काठमाडौँ । नेपाली कांग्रेसभित्र सभापति गगन थापाको राजीनामाभन्दा नेतृत्वलाई जोगाउँदै अघि बढ्ने रणनीति बलियो बन्दै गएको संकेत देखिएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव नै केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने स्पष्ट पारेपछि पार्टीभित्रको धार प्रस्ट भएको हो ।

शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकअघि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत धारणा सार्वजनिक गर्दै शर्माले अहिलेको मुख्य आवश्यकता नेतृत्व परिवर्तन नभई परिस्थिति सम्हाल्नु भएको सन्देश दिएका छन् ।

उनले ‘नैतिक जिम्मेवारी लिनु सकारात्मक भए पनि अहिलेको प्रधान जिम्मेवारी संकट व्यवस्थापन हो’ भन्ने तर्क अघि सारेका छन् । साथै, ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन’ भन्ने अभिव्यक्तिले थापाप्रति सहानुभूति मात्र होइन, उनलाई निरन्तरता दिनुपर्ने राजनीतिक संकेत पनि दिएको छ ।

फागुन २१ को निर्वाचनमा पराजयपछि थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । तर, पार्टीभित्रका शीर्ष तहका नेताहरूको धारणा भने उनको राजीनामालाई ‘अस्वीकृत गरेर सुधारको अवसर दिनुपर्ने’तर्फ झुकेको देखिन्छ ।

विश्लेषकहरूका अनुसार यो घटनाक्रमले कांग्रेसभित्र तीन सन्देश दिएको छ । पहिलो, नेतृत्व परिवर्तनभन्दा स्थायित्वलाई प्राथमिकता दिइँदैछ । दोस्रो, पराजयको जिम्मेवारी एक व्यक्तिमा केन्द्रित नगर्ने रणनीति अपनाइएको छ । र तेस्रो, रास्वपाको उभारपछि कांग्रेसले आन्तरिक एकता जोगाउन खोजिरहेको छ ।

निर्वाचनमा कांग्रेस ३८ सिटमा सीमित भएपछि नेतृत्वमाथि प्रश्न उठिरहेका बेला, राजीनामा अस्वीकृत गर्ने प्रस्तावले पार्टीभित्र ‘सामूहिक जिम्मेवारी’ को लाइन स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ ।

अबको केन्द्रीय कार्यसमिति बैठकले केवल थापाको भविष्य मात्र होइन, कांग्रेसले संकट व्यवस्थापन कसरी गर्छ भन्ने व्यापक राजनीतिक सन्देश दिनेछ ।



प्रतिक्रिया दिनुहोस !