६ चैत्र २०८२, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक आज : थापाको राजीनामा मुख्य एजेण्डा

प्रकाशित मिति :  20 March, 2026 10:16 am


काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

बैठकका मुख्य एजेण्डामा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा भावी रणनीति र कार्ययोजना रहेका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर नतिजापछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएका हुन् । तर, उनको राजीनामा स्वीकृत नहुने संकेत पार्टी नेतृत्वबाटै देखिएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव आजको बैठकमा पेश हुने जानकारी दिएका छन् । सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले राजीनामा पत्रसँगै अस्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने बताएका हुन् ।

शर्माका अनुसार पराजयको नैतिक जिम्मेवारी लिने थापाको निर्णय सकारात्मक भए पनि वर्तमान परिस्थितिमा पार्टीलाई सम्हाल्नु नै सभापतिको प्रमुख दायित्व हो ।

उनले बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा सम्बन्धी छलफल तथा अस्वीकृत प्रस्तावमाथि निर्णय हुने उल्लेख गरेका छन् । आजको बैठकलाई कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !