राजीनामापछि केन्द्रीय समिति बैठकमा नजाने थापा : शर्माको अध्यक्षतामा बैठक
प्रकाशित मिति : 20 March, 2026 1:26 pm
काठमाडौँ । चुनावी हारको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका गगन थापा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् ।
पार्टीले आज दिउँसो १ बजेका लागि सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ । तर राजीनामापछि थापा बैठकमा उपस्थित नहुने बताइएको छ ।
थापाको अनुपस्थितिमा बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सञ्चालन हुने जानकारी प्राप्त भएको छ ।
बैठकमा सभापति थापाको राजीनामा, प्रतिनिधिसभा निर्वाचनको समीक्षा, आगामी महाधिवेशन तथा पार्टीको भावी रणनीतिबारे छलफल हुने तयारी छ ।
थापाले निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनको जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका थिए । यद्यपि, उनको राजीनामा अस्वीकृत गर्ने विषय पनि आजको बैठकमा उठ्ने बताइएको छ ।







