६ चैत्र २०८२, शुक्रबार

कांग्रेस बैठक : ‘५० दिनमै मूल्याङ्कन अन्यायपूर्ण’ भन्दै थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश

प्रकाशित मिति :  20 March, 2026 4:12 pm


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ । उपसभापति विश्वप्रकाश शर्माले चुनावी समीक्षा प्रतिवेदनसँगै उक्त प्रस्ताव पेस गरेका हुन् ।

शर्माले नेतृत्व मूल्याङ्कनका लागि पर्याप्त समय आवश्यक हुने भन्दै थापाको राजीनामा अस्वीकार गर्नुपर्ने तर्क अघि सारेका छन् । उनले राजनीतिमा ‘हनिमुन पिरियड’ को उदाहरण दिँदै नेतृत्व सम्हालेको छोटो अवधिमा सम्पूर्ण मूल्याङ्कन गर्नु न्यायसंगत नहुने बताएका छन् ।

“विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएको जम्मा ५० दिनमै दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत हुँदैन,” शर्माको भनाइ उद्धृत गर्दै प्रस्तावमा उल्लेख गरिएको छ, “यस्तो अवस्थामा व्यक्तिप्रति पनि न्याय हुँदैन ।”

उनले प्रतिकूल परिस्थितिमा पार्टीलाई अनुकूलतामा लैजाने जिम्मेवारी बोकेको नेतृत्वले बीचमै पदत्याग गर्नु संगठनका लागि उचित नहुने पनि स्पष्ट पारेका छन् ।

शर्माले सभापति थापाले लिएको नैतिक जिम्मेवारीको भावनालाई सकारात्मक रूपमा लिँदै, अहिलेको मुख्य आवश्यकता पार्टीलाई सम्हाल्ने नेतृत्व भएको उल्लेख गरेका छन् ।

“नैतिक जिम्मेवारी अनुभूत गर्ने भावनाको उच्च कदर गर्दै वर्तमान परिस्थितिमा स्थिति सम्हाल्नु नै प्रधान दायित्व भएकाले सभापतिले दिएको राजीनामा अस्वीकृत गरिन्छ,” प्रस्तावमा भनिएको छ ।

बैठकमा प्रस्तुत यो प्रस्तावले पार्टीभित्र तत्काल नेतृत्व परिवर्तनभन्दा स्थिरता र सुधारको प्रक्रियालाई प्राथमिकता दिने संकेत गरेको विश्लेषण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !