११ चैत्र २०८२, बुधबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

प्रकाशित मिति :  25 March, 2026 7:20 am


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेबाट बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न एजेन्डामाथि आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ। हिजोको बैठकमा सभापति गगनकुमार थापाले आगामी २०८३ साल भदौ २४ देखि २६ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए।

आजको बैठक मुख्यतः सोही महाधिवेशनको कार्यतालिका र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ।बैठकमा सुशासन स्थापना, संविधान संशोधनका लागि विज्ञसहितको अध्ययन समिति गठन तथा केन्द्रीय निर्वाचन समिति निर्माणजस्ता विषयमा पनि छलफल भइरहेको छ।

यसैगरी, प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम, क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गर्ने विशेष अभियान, साथै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन समीक्षा सम्बन्धी विषयहरू पनि कार्यसूचीमा समावेश गरिएका छन्।



प्रतिक्रिया दिनुहोस !