११ चैत्र २०८२, बुधबार

सभामुख नहुँदासम्म ‘ज्येष्ठ नेतृत्व’ को भूमिका : केसीको काँधमा प्रतिनिधिसभा सञ्चालनको जिम्मा

प्रकाशित मिति :  25 March, 2026 12:36 pm


काठमाडौँ । प्रतिनिधिसभा गठनसँगै संसद् सञ्चालनको प्रारम्भिक जिम्मेवारी ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको काँधमा आएको छ ।

बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै केसी अब संसद्को प्रारम्भिक नेतृत्व सम्हाल्ने भूमिकामा पुगेका छन् ।

७८ वर्षिय केसी नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन् । संसदीय अभ्यासअनुसार सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले नै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने व्यवस्था छ, जसअनुसार केसीले अब संसद्को पहिलो चरणको सञ्चालन गर्नेछन् ।

अब केसीको मुख्य जिम्मेवारी के ?
केसीले चैत १२ गते प्रतिनिधिसभाका २७४ जना सदस्यलाई शपथ गराउनेछन् । त्यसपछि संसद् बैठक सञ्चालन गर्दै सभामुख चयन प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पनि उनकै हुनेछ ।

संक्रमणकालीन नेतृत्वको संकेत
यो चरणलाई संसदीय संक्रमणकालीन अवधि मानिन्छ, जहाँ औपचारिक नेतृत्व (सभामुख) चयन नभएसम्म ज्येष्ठ सदस्यले निष्पक्ष रूपमा बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । यसले संसद्को प्रारम्भिक दिशानिर्देशनमा महत्वपूर्ण भूमिका खेल्छ ।

संसद्को संरचना
यसपटकको प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन् । यी सबै सदस्यलाई एकैसाथ शपथ गराएपछि मात्र संसद् पूर्ण रूपमा सक्रिय हुनेछ ।



प्रतिक्रिया दिनुहोस !