रास्वपा केन्द्रीय समिति बैठक आज : संसदीय दलको नेता चयन मुख्य एजेन्डा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टीका अनुसार बैठक दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना हुने तय गरिएको छ।
बैठक पार्टी सभापति रवि लामिछाने को निर्देशनअनुसार बोलाइएको हो। आजै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ कार्यक्रम सम्पन्न भएपछि बैठक बस्ने जानकारी दिइएको छ।
बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गर्ने रहेको छ। यस विषयमा पार्टीभित्र आन्तरिक छलफल र सहमति जुटाउने तयारी गरिएको छ।
यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले पार्टीका वरिष्ठ नेता बलेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको सन्दर्भमा पनि बैठकमा थप रणनीतिक छलफल हुने अपेक्षा गरिएको छ।
रास्वपाको आजको बैठकलाई पार्टीको आगामी संसदीय भूमिका, नेतृत्व चयन र राजनीतिक रणनीति निर्धारणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।








