१३ चैत्र २०८२, शुक्रबार

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारमा उच्च अपेक्षा

प्रकाशित मिति :  27 March, 2026 5:00 pm


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएसँगै सरोकारवाला निकायहरूले प्रतिक्रिया दिन थालेका छन्।

यसैक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघले नवगठित सरकारप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ।

महासंघका महासचिव बद्री प्रसाद चौलागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहसहित सम्पूर्ण मन्त्रीपरिषद् सदस्यलाई सफल कार्यकालको कामना गरिएको छ। राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेल द्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइएपछि महासंघले औपचारिक रूपमा शुभकामना दिएको हो।

विज्ञप्तिमा देशको आर्थिक विकास, पूर्वाधार विस्तार र यातायात क्षेत्रको सुदृढीकरणमा नयाँ सरकारबाट प्रभावकारी भूमिका अपेक्षा गरिएको उल्लेख गरिएको छ। विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीले यातायात क्षेत्रका दीर्घकालीन समस्या समाधानमा प्राथमिकता दिने विश्वास महासंघले व्यक्त गरेको छ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले पनि प्रतिक्रिया दिँदै नयाँ सरकार गठनसँगै यातायात क्षेत्रले नयाँ ऊर्जा पाउने विश्वास व्यक्त गरे।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले सडक पूर्वाधार सुधार, ढुवानी व्यवस्थापन, व्यवसायीका समस्या समाधान तथा नीतिगत स्थिरतामा ध्यान दिने अपेक्षा गरिएको बताए ।

नवनियुक्त मन्त्रिपरिषद्मा अर्थ, गृह, परराष्ट्र लगायतका महत्वपूर्ण मन्त्रालयमा नयाँ अनुहार आएका छन् भने रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले नै समालेका छन्। सरकारले आगामी दिनमा पूर्वाधार विकास, आर्थिक सुधार तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने संकेत गरेको छ।



प्रतिक्रिया दिनुहोस !