१५ चैत्र २०८२, आइतबार

ओलीको रिहाइ माग्दै एमालेको देशव्यापी ज्ञापनपत्र अभियान

प्रकाशित मिति :  29 March, 2026 8:15 am


काठमाडौँ । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।

गौरीबहादुर कार्की आयोगले दोषी ठहर गरेको निष्कर्षका आधारमा प्रहरीले ओलीलाई हिजो निवासबाटै पक्राउ गरेपछि एमालेले त्यसको कडा विरोध जनाएको हो । पार्टी सचिवालय बैठकले पक्राउलाई राजनीतिक प्रेरित भन्दै तत्काल रिहाइको मागसहित देशव्यापी रूपमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको जनाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलमा भेला भएर नाराबाजीसहित जुलुस निकाल्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ । यसअघि नै हिजो पार्टीसम्बद्ध विभिन्न जनसंगठनहरूले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए ।

यसैबीच, अध्यक्ष ओलीको पक्राउबारे कानुनी पक्षबारे छलफल गर्न आज बिहान १०ः३० बजे कानूनविदहरूसँग अन्तरसंवाद कार्यक्रम राखिएको छ । चौतारीका अनुसार पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा हुने उक्त कार्यक्रममा पक्राउको कानुनी आधार र त्यसका सम्भावित प्रभावबारे विस्तृत छलफल गरिनेछ ।

एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने संकेत समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !