बाल गीताञ्जली स्कुलमा विद्यार्थी र अभिभावक सहभागी काउन्सिलिङ वर्कशप सफल
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कुलको आयोजनामा एकदिवसीय ‘मोटिभेसनल एण्ड काउन्सिलिङ वर्कशप’ सम्पन्न भएको छ। कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी र प्रेरणादायी बनेको विद्यालयले जनाएको छ।
कार्यक्रममा चर्चित मोटिभेटर डा.तारा जीले विद्यार्थीहरूको मानसिक, भावनात्मक तथा शैक्षिक विकाससँग सम्बन्धित विविध विषयमा स्पष्ट, व्यवहारिक र प्रेरणादायी मार्गदर्शन दिएका थिए। उनका अनुभव, उदाहरण तथा सकारात्मक सोचले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति केन्द्रित रहन, आत्मविश्वासका साथ अघि बढ्न र चुनौतीहरूलाई अवसरका रूपमा लिन प्रेरित गरेको सहभागीहरूले बताएका छन्।
त्यसैगरी, कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना सन्तानको व्यवहार, सोच र आवश्यकतालाई अझ नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्। अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यको भावना विकास गर्नुपर्ने सन्देश पनि कार्यक्रममा प्रवाह गरिएको थियो।
विद्यालयका प्रिन्सिपल महेन्द्रराज घिमिरेले यस्ता कार्यक्रमले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले शैक्षिक उपलब्धिसँगै मानसिक सुदृढता र सकारात्मक सोचको विकास अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रमले सहभागीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्ने, नयाँ कुरा सिक्ने तथा आत्मविश्वास अभिवृद्धि गर्ने अवसर प्रदान गरेको विद्यालयको भनाइ छ। यस प्रकारका मार्गदर्शनमूलक कार्यक्रमले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक, शिक्षक(शिक्षिका तथा सम्पूर्ण सहभागीप्रति विद्यालयले आभार व्यक्त गरेको छ।








