१९ चैत्र २०८२, बिहिबार

नव निर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरू

प्रकाशित मिति :  2 April, 2026 7:25 am


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित नयाँ संसदको पहिलो अधिवेशन आजदेखि सुरू हुँदैछ। दिउँसो २ बजे बस्ने बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ।

बैठकको सुरूमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। साथै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पनि सभामा प्रस्तुत गरिनेछ।

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश तथा नेपाल विशेष सेवा अध्यादेश पेश गर्नेछन्। ती अध्यादेशहरू संसदमा प्रस्तुत भएसँगै आगामी विधायिकी प्रक्रियाको मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ।

प्रतिनिधिसभाले नयाँ नियमावली निर्माण नगरेसम्मका लागि मौजुदा नियमावलीमार्फत कामकारबाही सञ्चालन गर्ने प्रस्ताव पनि पेश गरिनेछ। यस प्रस्तावलाई स्वीकृत गराएपछि संसदको नियमित गतिविधि अघि बढ्नेछ।

त्यसैगरी, बैठकमा विभिन्न दलका सांसदहरूले दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची रहेको छ। उनीहरूले नयाँ संसदको प्राथमिकता, सरकारका कार्यक्रम र समसामयिक विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ।

आजकै बैठकमा सभामुख पदको निर्वाचनको मिति पनि निर्धारण गरिनेछ। सभामुख चयनसँगै प्रतिनिधिसभाको नेतृत्व संरचना पूर्ण हुने र विधायिकी कार्य थप व्यवस्थित हुने विश्वास गरिएको छ।

नव निर्वाचित संसदको पहिलो अधिवेशनलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ, जसले आगामी शासन व्यवस्था, नीति निर्माण र संसदीय कार्यदिशा तय गर्ने आधार तयार पार्नेछ।



प्रतिक्रिया दिनुहोस !