एमालेको सचिवालय बैठकमा कार्यवाहक अध्यक्ष बादललाई जथाभावी नबोल्न सचेत गराउने तयारी
काठमाडौँ । एमालेको आज बस्ने सचिवालय बैठकमा नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादललाई सचेत गराउने तयारी भएको छ ।
बिहिबार बसेको संसद बैठकमा संसदीय दल नेता राम बहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर एमाले नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईले प्रतिक्रिया दिँदै असन्तुष्टि र आपत्ति जनाएका छन् ।
आजको सचिवालय बैठकबाट पार्टीको मूल्य मान्यता विपरीत जथाभावी नबोल्न बादललाई सचेत गराइने भएको हो । एमाले सचिवालय बैठक आज दिउँसो एक बजे च्यासलमा बस्दै छ ।
बादलले १९ चैतको संसद बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावपछि रास्वपाको विशाल विजय अस्वाभाविक रहेको भन्दै नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था र पात्रहरूले रास्वपाको जितमा निर्णायक भूमिका खेलेको आरोप लगाएका थिए।








