२२ चैत्र २०८२, आइतबार

बाल गीताञ्जली स्कुलमा प्रि–स्कुल स्नातक समारोह सम्पन्न

प्रकाशित मिति :  5 April, 2026 9:48 pm


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कुलमा प्रि–स्कुल स्नातक समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

साना नानीबाबुहरूको उत्साह, अभिभावकहरूको उपस्थिती र शिक्षकहरूको समर्पणबीच सम्पन्न उक्त कार्यक्रमले विद्यालयको शैक्षिक यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ।

समारोहमा नानीबाबुहरूले खेल्दै–खेल्दै सिक्ने, रमाउँदै अघि बढ्ने र साथीभाइसँग सहकार्य गर्दै अनुभव बटुल्ने क्रममा अक्षर र अंक मात्र होइन, जीवनका आधारभूत सीपहरू—आत्मविश्वास, अनुशासन, सहयोग र सिर्जनशीलता समेत आत्मसात् गरेको सन्देश प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरू पनि बालबालिकाको प्रगति देखेर भावुक र गर्वित देखिन्थे।

विद्यालयका प्रिन्सिपल घिमिरेले कार्यक्रममा बोल्दै बालबालिकाको समग्र विकासमा प्रारम्भिक शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए ।

उनले भने, “प्रि–स्कुल शिक्षा केवल अक्षर चिनाउने चरण मात्र होइन, यो जीवनभर उपयोगी हुने बानी, सोच र व्यवहार विकास गर्ने आधार हो। यहाँ सिकेका सीपहरूले बालबालिकालाई आगामी शैक्षिक यात्रामा अझ सशक्त बनाउनेछन्।”

उनले अभिभावक र शिक्षकबीचको सहकार्यले मात्र बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिने उल्लेख गर्दै विद्यालयप्रति देखाइएको विश्वासप्रति कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा शिक्षक–शिक्षिकाहरूको माया, समर्पण र मार्गदर्शनप्रति विशेष धन्यवाद ज्ञापन गरिएको थियो भने आफ्ना सन्तानको भविष्य निर्माणमा निरन्तर साथ दिँदै आएका अभिभावकहरूलाई पनि सम्मान प्रकट गरिएको थियो।

विद्यालयका अनुसार यो स्नातक समारोह एउटा चरणको अन्त्य मात्र नभई नयाँ शैक्षिक यात्राको सुरुवात हो। आजका यी साना स्नातकहरू भोलिका ठूला सपना बोकेका उज्याला तारा भएको उल्लेख गर्दै विद्यालयले उनीहरूलाई उज्ज्वल भविष्यको कामना गरेको छ ।



प्रतिक्रिया दिनुहोस !