पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको दोस्रो दिनमै पक्राउ परेको पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
दुबैजनालाई हाजिरी जनमानीमा परिवारको जिम्मा लगाइएको छ । पक्राउपछि त्रिवि शिक्षण अस्पतालमै उपचाररत रहेका पूर्वप्रधानमन्त्री ओलीलाई पत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ ।
यस्तै नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणमा रहेका पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा भएका छन् । उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाइएको छ ।
उनीहरूलाई अनुसन्धानका क्रममा बोलाएको बेला हाजिरी हुने गरि रिहा गरिएको हो । शाह नेतृत्वमा सरकार बनेसँगै बसेको पहिलो मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । लगत्तै ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको थियो ।
चैत १४ गते पक्राउ परेपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो । रिटमा सुनुवाई गर्दै सर्वोच्चले चैत २३ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत आजसम्म टुंग्याउन आदेश दिएको थियो ।
पक्राउको १३ दिनमा दुबैजना छुटेका छन् । शाह नेतृत्वमा सरकार बनेपछि पक्राउ परेका लुम्बनी प्रदेश सदस्य रेखाकुमारी शाह र व्यवसायी शंकल अग्रवाल पनि छुटिसकेका छन् ।








