२८ बैशाख २०८३, सोमबार

मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र बलियो हुँदैन : मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  11 May, 2026 3:57 pm


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान सुदृढ हुन नसक्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा बुटवलमा सोमबार आयोजित ‘मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको मर्मविपरीत कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिएका हुन्।

मुख्यमन्त्री आचार्यले लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले राजनीतिक दलहरू निष्क्रियजस्तै अवस्थामा रहेका बेला पत्रकार, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरू सडकमा उत्रिएर लोकतन्त्रको रक्षाका लागि योगदान गरेको इतिहास बिर्सन नहुने बताए।

उनले सङ्घीय सरकारले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन दिने गरी जारी गरेको परिपत्रबारे प्रधानमन्त्रीसँग समेत छलफल भएको जानकारी दिए। प्रदेश सरकार मिडियामैत्री रहेको दाबी गर्दै उहाँले सञ्चार क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग समन्वय गरेर बजेट व्यवस्था गरिएको उल्लेख गरे।

मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रमा देखिएका चुनौती र सम्भावनाबारे सम्मेलनमा हुने बहसले पर्यटन, उद्योग तथा व्यवसाय प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !