सरकारले दलित समूदायका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरोस्ः रिमा विश्वकर्मा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले दलित समुदायको उत्थान र न्यायका लागि सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्न माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले हिरासतभित्र हुने मृत्युका घटनामा दलित तथा सिमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताइन्।
सांसद विश्वकर्माले इन्सेकको तथ्यांक उद्धृत गर्दै पछिल्लो एक वर्षमा हिरासतभित्र ८८ जनाको मृत्यु भएको र तीमध्ये ५२ प्रतिशत दलित तथा सिमान्तकृत समुदायका रहेको उल्लेख गर्दै ५६ प्रतिशत घटनालाई आत्महत्याको रूपमा वर्गीकरण गरिएको बताइन्।
उनले श्रीकृष्ण विकको मृत्यु प्रसंग उल्लेख गर्दै हिरासतभित्र हुने अधिकांश मृत्युलाई सहजै आत्महत्या भनेर वर्गीकरण गर्नु स्वाभाविक नभएको टिप्पणी गरिन् ।
सांसद विश्वकर्माले पीडितलाई न्याय दिन ढिलाइ नगर्न सरकारसँग आग्रह गर्दै दलित समुदायलाई बजेट तथा राज्यका कार्यक्रमहरूमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।








