४ जेष्ठ २०८३, सोमबार

संसदीय अभ्यास सुधार्न प्रविधिमैत्री र ‘मेरिट’ आधारित निर्णय आवश्यक : सांसद आचार्य

प्रकाशित मिति :  18 May, 2026 1:41 pm



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले संसद्भित्र ‘सत्तापक्ष र प्रतिपक्ष’ को परम्परागत मनोविज्ञानले गुण–दोषको आधारमा निर्णय गर्ने अभ्यास कमजोर बनाएको टिप्पणी गरेका छन् ।

उनले यो विषयलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभामा प्रतिनिधि सभा नियमावलीको प्रतिवेदनमाथि छलफलमा बाेल्दै आचार्यले भने, “हामी कुनै पनि विषयलाई ‘मेरिट’ का आधारमा हेर्न सकिरहेका छैनौँ । सरकारले ल्याउने नीति तथा कार्यक्रम जतिसुकै राम्रो भए पनि प्रतिपक्षले त्यसलाई ‘कर्मकाण्डी’ भन्दै अस्वीकार गर्ने प्रवृत्ति देखिन्छ, जुन स्वस्थ संसदीय अभ्यास होइन ।”

समस्या केवल प्रतिपक्षमा मात्र सीमित नभई सत्तापक्षमा पनि उस्तै देखिएको आचार्यको टिप्पणी छ ।

“सत्तापक्षले पनि प्रतिपक्षका रचनात्मक संशोधनहरूलाई गम्भीर छलफल नगरी अस्वीकृत गर्ने गरेको छ । प्रतिपक्षका सुझाव स्वीकार गर्दा सरकार कमजोर देखिन्छ भन्ने गलत धारणा अब तोड्नुपर्छ,” उनले भने ।

आचार्यले सरकार गठन, विश्वासको मत र बजेट जस्ता प्राविधिक विषयमा ‘ह्विप’ आवश्यक भए पनि कानुन निर्माण र जनजीविकाका सवालमा दलगत सोचभन्दा माथि उठ्नुपर्ने बताए ।

“कानुन निर्माण जस्तो विषयमा ‘गुण र दोष’ का आधारमा निर्णय गर्ने संस्कार विकास गर्न सक्नुपर्छ,” उनले स्पष्ट पारे । सांसद आचार्यले संसद् सञ्चालनका विद्यमान प्रक्रिया अझै पनि अनावश्यक रूपमा कर्मकाण्डी रहेको भन्दै प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

“ई–भोटिङबाट दुई मिनेटमै टुङ्गिन सक्ने प्रक्रिया हामीले दुई घण्टा लगाएर सक्यौँ। यो त एउटा उदाहरण मात्र हो,” उनले भने । उनले ‘डिजिटाइजेसन’ र ‘ई–गभर्नेन्स’को कुरा गर्ने संसद्ले आफ्नै कार्यप्रणालीमा प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !