एमाले सांसद श्रेष्ठको माग : मन्त्रीहरूको सुन किनेको बिल सार्वजनिक गरियोस
काठमाडौँ । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा समावेश गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेकी छन् ।
आजको प्रतिनिधि सभा बैठकमा सांसद श्रष्ठले बिलबिना सुन किनबेच नहुने भएकाले बिल सार्वजनिक गर्न माग गरेकी हुन् । यसबाट स्रोत पनि प्रष्ट हुने उनको भनाई थियो ।
उनले भनिन्,“भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारका मन्त्रीको त्यत्रो सुन कहाँबाट आयो बिल पनि सार्वजनिक गरियोस् । बिलबिना सुन किनबेल हुँदैन । सुशासन र पारदर्शिता आफैबाट सुरु गर्न म अनुरोध गर्दछु ।”
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को परिवारसँग मात्रै १८९ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
सम्पत्ति विवरणमा उल्लेख भएअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग ४५ तोला, पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग ३० तोला,शिक्षा मन्त्री सस्मित पोखरेलसँग २५ तोला,परराष्ट्र मन्त्री शिशिर खनालसँग २२ तोला, महिला तथा बालबालिकामन्त्री सीता वादीसँग १८ तोला,ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला, कानुन मन्त्री सोविता गौतमसँग १५ तोला सुन रहेको उल्लेख छ ।
तत्कालीन गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । गुरुङले भने राजीनामा दिइसकेका छन् ।








