४ जेष्ठ २०८३, सोमबार

सरकारलाई काँग्रेसको सुझावः शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आग्रह

प्रकाशित मिति :  18 May, 2026 2:43 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएको छ ।

सोमवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै काँग्रेसकी प्रमुख सचेतक बासना थापाले यस्तो सुझाव दिनुभएको हो ।

उहाँले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती अझै कायम रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकारलाई प्रभावकारी पहल गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार रोजगारी सिर्जना, कृषि, पर्यटन र जलविद्युत क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

थापाले स्वास्थ्य, शिक्षा र पोषण क्षेत्रमा कटौती होइन, प्रभावकारी लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले यी तीन क्षेत्रलाई एउटै विकास सूचकसँग जोडेर अघि बढाउन सरकारलाई सुझाव दिनुभयो ।

उहाँले अर्थतन्त्रका प्रमुख चुनौतीहरू यथावत रहेको उल्लेख गर्दै कमजोर पूँजीगत खर्च, निजी क्षेत्रको निरुत्साह, अस्वाभाविक मूल्यवृद्धि, युवा पलायन, कृषि परनिर्भरता र जटिल सार्वजनिक सेवा प्रवाहप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काँग्रेसले आगामी बजेटले यी समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने स्पष्ट दृष्टिकोण राखेको पनि उहाँले बताउनुभयो । साथै, रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई बजेटमा प्राथमिकता दिन सरकारलाई आग्रह गर्नुभयो ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !