१४ असार २०८३, आइतबार

‘उचित विकल्प देऊ, नत्र पुरानै ठाउँमा फर्किन्छौँ’ – सुकुम्बासी

प्रकाशित मिति :  28 June, 2026 10:26 am


काठमाडौँ । थापाथलीस्थित वागमती किनारको बस्तीबाट विस्थापित सुकुम्बासीहरूले उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किने चेतावनी दिएका छन्।

सरकारले बस्ती हटाएपछि कीर्तिपुरलगायतका होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले शनिवार माइतीघर मण्डलामा प्रदर्शन गर्दै सात दिनभित्र स्थायी व्यवस्थापनको स्पष्ट योजना ल्याउन माग गरेका हुन्। उनीहरूले सरकारले प्रस्ताव गरेको प्रतिपरिवार २५ हजार रुपैयाँ राहत अस्वीकार गर्दै त्यसले दिगो समाधान नदिने बताएका छन्।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका प्रतिनिधिहरूले होल्डिङ सेन्टरमा खाद्यान्न, स्वास्थ्य सेवा र बालबालिकाको शिक्षामा गम्भीर समस्या देखिएको बताएका छन्। उचित उपचार नपाउँदा एक जनाको मृत्यु भएको दाबी पनि उनीहरूले गरेका छन्।

प्रदर्शनमा सहभागी सुमित्रा थापाले “हाम्रो घर भत्काएर अहिले त्यहाँ माटो हालिएको छ। बस्ने ठाउँ नभएकाले हामी त्यहीँ माटोमाथि बस्न बाध्य छौँ” भन्दै विकल्पविनाको विस्थापन अन्यायपूर्ण भएको बताइन्।

सुकुम्बासी अभियन्ता भगवती अधिकारीले सरकारले १५ दिनभित्र व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको भए पनि दुई महिना बित्दा कुनै ठोस पहल नभएको बताइन्। “२५ हजार रुपैयाँ दिएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन,” उनले भनिन्।

सुकुम्बासी तथा भूमिहीन अभियन्ता अस्मिता आचार्यले भूमि समस्या समाधानका विषयमा सरकारी निकायहरू एक–अर्कालाई जिम्मेवारी पन्छाउँदै हिँडेको आरोप लगाइन्। भूमि आयोग र वागमती सभ्यता विकास समितिबीच समन्वय नहुँदा वास्तविक पीडित अन्योलमा परेको उनको भनाइ छ।

नेपाल महिला एकता समाजकी अध्यक्ष एवं संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाकी उपाध्यक्ष बिना बुद्धाचार्यले सरकारले संविधानको धारा ३७ मा उल्लेख गरिएको सुरक्षित आवासको मौलिक हक बेवास्ता गरेको आरोप लगाइन्। उनले बालबालिकाको शिक्षा, स्वास्थ्य र बसोवासको न्यूनतम व्यवस्था सुनिश्चित गर्न माग गरिन्।

प्रदर्शनकारीहरूले सरकारले वार्ता र छलफलमार्फत वैज्ञानिक तथा दिगो व्यवस्थापनको प्रक्रिया सुरु गर्नुपर्ने माग गरेका छन्। अन्यथा आफूहरू पुरानै स्थानमा फर्किएर बस्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !