१५ असार २०८३, सोमबार

जनताको मूल्यांकनमा अब्बल हुने गरी काम गर्न सभामुख अर्यालको सांसदलाई निर्देशन

प्रकाशित मिति :  29 June, 2026 12:22 pm


काठमाडौं। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले जनताको मूल्यांकनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढाउनुपर्ने बताएका छन्।

संघीय संसद सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको दुईदिने सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले लाखौँ नेपाली जनताले मत दिएर पठाएका जनप्रतिनिधि भएकाले सांसदहरूको हरेक गतिविधि आम जनताको मूल्यांकनको विषय हुने बताए।

सभामुख अर्यालले सांसदहरूबीच राम्रो कानुन निर्माण, अनुकरणीय व्यवहार र प्रभावकारी प्रस्तुतिका लागि स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। अभिमुखीकरण कार्यक्रमबाट सिकेका विषयलाई व्यवहारमा उतार्दै आगामी दिनमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउन उनले सांसदहरूलाई आग्रह गरे।

उनले धेरै सांसद नयाँ भए पनि त्यसको अर्थ नेपाल, कानुन वा विधिबारे अनभिज्ञ हुनु नभएको स्पष्ट पारे। तर संघीय संसदको कार्यविधि र प्रक्रियामा अभ्यस्त हुन अभिमुखीकरण आवश्यक रहेको उनको भनाइ थियो।

सभामुख अर्यालले सांसदहरूको समयपालन, बैठकमा उपस्थितिलगायत प्रत्येक गतिविधिलाई जनताले सूक्ष्म रूपमा मूल्यांकन गरिरहेको उल्लेख गर्दै अब सांसदहरूको वास्तविक मूल्यांकन दलका नेता, प्रधानमन्त्री वा संसद सचिवालयले नभई जनताले गर्ने बताए। त्यसैले जनताको विश्वास जित्ने गरी काम गर्न उनले सबै सांसदलाई निर्देशन दिए।

उनले सांसदहरूलाई राम्रो कानुन निर्माण, राम्रो व्यवहार र प्रभावकारी प्रस्तुतिमा एकअर्कासँग स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्दै अभिमुखीकरणका क्रममा मोबाइलमा अल्झिनुभन्दा सिकाइमा केन्द्रित हुन सुझाव दिए। उनले यसबाट प्रतिनिधि सभा बैठकमा सकारात्मक परिवर्तन देखिनुका साथै मतदाताले पनि त्यसको अनुभूति गर्न सक्नुपर्ने बताए।

सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोप्रति असन्तुष्टि पनि व्यक्त गरे।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !