रकारले सय दिनमा जनताले अनुभूति गर्ने काम गर्न सकेन : हर्कराज राई
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले सय दिनको अवधिमा आम नागरिकले अनुभूति गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन्।
दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरेर शुक्रबार काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले केही गर्ने प्रयास गरे पनि त्यसको परिणाम जनताले महसुस गर्न नसकेको दाबी गरेका छन्।
सरकारको सय दिनको कार्यसम्पादनबाट आम नागरिकले अनुभूति गर्ने उपलब्धि नदेखिएको उनको भनाइ छ। महँगी नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने सुझाव आफूहरूले निरन्तर दिँदै आएको पनि उनले स्मरण गराएका छन्।
“कोशिस उहाँहरूले गर्नुभएको हो। तर रिजल्ट चाहिँ जनताले त्यति महसुस गरेका छैनन्। रिजल्ट भएको अनुभूति हुनुपर्छ। महँगी धेरै भयो। अब महँगी नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो सल्लाह–सुझाव थियो। म दार्चुलामा हुँदा त्यहाँ आमसञ्चार पनि थिएन। पेट्रोलियम पदार्थको भाउ अलि घटेछ भन्ने सुनेँ।”
उनले सरकारले हालै पेट्रोलियम पदार्थको मूल्य घटाएको निर्णयलाई सकारात्मक रूपमा लिएको बताएका छन्। दार्चुलाजस्तो विकट जिल्लाको विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै उनले दुर्गम क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
– न्युज एजेन्सी नेपाल








