सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति ल्याउन सकेनः सांसद थापा
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने स्पष्ट नीति ल्याउन नसकेको टिप्पणी गरेका छन्।
शुक्रबार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले विद्युतीय सवारीमा लगाइएको करले स्वच्छ यातायात प्रवर्द्धनमा अवरोध सिर्जना गरेको बताए।
उनले स्वदेशमै उत्पादन भएको विद्युतको खपत बढाउन र पेट्रोलियम पदार्थमा निर्भरता घटाउन विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उल्लेख गरे। साथै, बुढीगण्डकी जलविद्युत आयोजना ऐनका कारण नभई बजेट अभावका कारण अघि बढ्न नसकेको भन्दै सरकारले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए।
उनले भने, “स्वदेशमा उत्पादन भएको विद्युतको खपत बढाउन र पेट्रोलियम पदार्थमा निर्भरता घटाउन विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ। बुढीगण्डकी जलविद्युत आयोजना ऐनका कारण होइन, बजेट अभावका कारण अघि बढ्न नसकेको हो।”
सांसद थापाले सरकारले विद्युत उत्पादन र वितरणका लागि आवश्यक व्यवस्था गर्न नसकेको पनि बताए।
-न्युज एजेन्सी नेपाल








