१ श्रावण २०८३, शुक्रबार

कार्यालय सहयोगी अविनाश चौलागाईंकाे ज्यान मार्ने धम्कीपछि खाद्य प्रविधि कार्यालय हेटौंडाका कर्मचारी त्रासमा

प्रकाशित मिति :  17 July, 2026 6:45 pm


काठमाडाैँ । मकवानपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका कर्मचारी कार्यालय सहयोगीबाट ज्यान मार्ने धम्की पाएपछि लामो समयदेखि मानसिक त्रासमा रहेको बताएका छन्।

कार्यालयका अनुसार करार सेवामा कार्यरत कार्यालय सहयोगी अविनाश चौलागाईं चोरीको आरोपमा पक्राउ परेपछि पनि प्रहरीकै अगाडि जेलबाट छुटेपछि कसैलाई पनि नछाड्ने भन्दै धम्की दिएका थिए। त्यसपछि कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारी त्रसित बनेका हुन्।

कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार चौलागाईं लामो समयदेखि कार्यालय समयमा ढिलो आउने, मदिरा सेवन गरेर कार्यालय पुग्ने, काममा अटेरी गर्ने तथा सम्झाउँदा उल्टै कर्मचारीलाई धम्क्याउने गर्थे।

उनले कार्यालय तथा कर्मचारी आवास (क्वाटर)बाट पछिल्लो करिब एक वर्षदेखि हराइरहेका गरगहना तथा अन्य सामानको चोरीमा पनि चौलागाईंको संलग्नता खुलेको दाबी गरिन्। पक्राउ परेका क्रममा चोरी भएका केही गरगहनासमेत प्रहरीले चौलागाईंकी श्रीमतीबाट बरामद गरेको कार्यालयको भनाइ छ।

कार्यालयका अनुसार घटनाको दिन चौलागाईं कार्यालय समयमा ढिलो गरी आएका थिए। त्यसपछि एक कर्मचारीको सरकारी क्वाटरको चाबी फुटाउँदै गरेको अवस्थामा फेला परेका थिए। त्यसक्रममा प्रहरी बोलाइएको थियो।

कार्यालय प्रमुख पोखरेलले चौलागाईंको गतिविधिका कारण दिनभर कार्यालयको कामकाज प्रभावित भएको र कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको बताइन्।

उनका अनुसार करिब राति ८ बजेतिर खाद्य अनुसन्धान अधिकृत मनिषा नेम्वाङको अफिस क्वाटरको बरन्डामा अपरिचित शंकास्पद व्यक्ति देखिएपछि हामीले प्रहरीलाई खबर गरेका थियौं। त्यसपछि प्रहरी आएर उनलाई नियन्त्रणमा लिएको थियो।

एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, “हामी देशका विभिन्न जिल्लाबाट यहाँ सेवा गर्न आएका छौं। आफ्नै कार्यालयमा कार्यरत व्यक्तिले प्रहरीकै अगाडि जेलबाट छुटेपछि कसैलाई पनि नछाड्ने धम्की दिएपछि स्वाभाविक रूपमा त्रास उत्पन्न भएको छ।”

यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी पुष्कर बोगटीले उक्त घटनामा अनुसन्धान जारी रहेको बताए। उनले भने, “घटनासम्बन्धी अनुसन्धान भइरहेको छ। अनुसन्धान पूरा भएपछि तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइन्छ। “

कार्यालयका कर्मचारीहरूले धम्कीका कारण अझै पनि असुरक्षाको भावना कायम रहेको भन्दै घटनाको निष्पक्ष अनुसन्धान र आवश्यक सुरक्षा व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्।



प्रतिक्रिया दिनुहोस !