२७ श्रावण २०८३, बुधबार

विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकार असफल भयो : आङ्देम्बे

प्रकाशित मिति :  12 August, 2026 4:20 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाका अपेक्षा पूरा गर्न नसकेको आरोप लगाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकार असफल भएको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले युवामा पुनः निराशा बढ्दै गएको बताएका हुन्। उनले देशमै स्वरोजगार रहेका युवाले समेत चरम निराशाका कारण आत्मदाहसम्मको बाटो रोज्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको उल्लेख गरेका छन्।

आङ्देम्बेले सरकारलाई प्रश्न गर्दै जेनजीले खोजेको रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने योजना कहाँ पुगेको भन्दै जवाफ मागेका छन्। निर्वाचनअघि विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्काउने र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिए पनि सरकार बनेको साढे चार महिना बित्दा समेत त्यसको ठोस परिणाम देखिन नसकेको उनको आरोप छ।

उनले युवालाई निर्वाचनमा मत दिने समूहका रूपमा मात्र नभई देश निर्माणको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा हेर्नुपर्ने बताएका छन्। विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई उपयोग गर्न ‘रिटर्नी युवा उद्यमशीलता’सम्बन्धी ठोस नीति ल्याउनुपर्ने उनको सुझाव छ।

आङ्देम्बेले अन्तर्राष्ट्रिय युवा दिवसलाई युवाले नेपालमै आफ्नो भविष्य देख्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धताको अवसर बनाउन सरकारलाई आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस !