प्रहरी हिरासतबाट निस्कँदै पत्रकार श्रेष्ठले भने, “सरकारको नियत ठीक छैन, विरोधीको आवाज थुन्ने खेल भइरहेको छ”
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन्।
सोमबार राति प्रहरी हिरासतबाट निस्कँदै सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन्। जनआस्थामा प्रकाशित समाचार गलत भए राज्यले कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था हुँदाहुँदै सरकार आफैंले पात्र खडा गरेर प्रतिशोध साँधेको उनको आरोप छ।
सरकारले जनआस्थाविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै लगेर आफ्नो आवाज बन्द गर्ने खेल खेलिरहेको उनले बताए। सर्वोच्च अदालतको परमादेशले सञ्चारमाध्यममाथि सरकार थप आक्रामक हुने प्रयासमा रोक लगाएको पनि उनले बताए। राज्यको निरङ्कुशता र जंगलीतन्त्रविरुद्धको लडाइँ जारी रहने उनको भनाइ थियो।
“यो पेशागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही हो। यो सरकार गठन भएदेखि कहिले मिडिया, कहिले ट्रेड युनियन, कहिले अदालतलाई गिजोल्दै आयो। केही पनि अछुतो रहेन। कुनै प्रक्रिया नै पूरा नगरी हुकुमी शैलीमा आक्रमणको प्रयास भयो,” उनले भने।
जनआस्थाले लेखेका समाचार गलत भए राज्यले त्यसको खण्डन गर्न सक्ने बताउँदै उनले त्यसका लागि प्रेस काउन्सिल नेपाल र अदालत रहेको बताए।
“कुनै पनि प्रक्रियामा नगईकन सरकार पात्र खोज्ने र जनआस्थाविरुद्ध खडा गर्ने काममा लाग्दै आएको छ। खेतालाहरू खोज्दै आयो। यसक्रममा समाजमा डामिएका, सामाजिक सञ्जालमा आफैं रंगिएका केही मानिसलाई खडा गरेर हाम्राविरुद्ध प्रयोग गर्न खोजियो,” उनले भने।
मुद्दा थप्दै लगेर जसरी हुन्छ आवाज बन्द गर्ने खेल भएको उनको आरोप छ। गोपनीयतासम्बन्धी कानुन ल्याउने प्रयासको प्रसंग उल्लेख गर्दै उनले त्यसमा कुरा आएका व्यक्ति आफैं पीडित भएको बताए।
“यदि आज सम्मानित अदालतले हस्तक्षेप नगरेको भए भोलिदेखि विरोधी मिडियाका क्यामेरा, ल्यापटप र छापा समेत जफत हुन्थे। पत्रकारहरूले जेल भरिन्थ्यो। आज यसमा ब्रेक लागेको छ। राज्यको निरङ्कुशता र जंगलीतन्त्रमाथि कानुनी हस्तक्षेप सर्वोच्च अदालतबाट भएको छ। मिडियाकर्मीमाथि अरू प्रहार हुने थिए,” उनले भने।
उनले आफ्नो गिरफ्तारीलाई पेशागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाहीका रूपमा टिप्पणी गरे।
जनआस्था अनलाइनमा प्रकाशित एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो।








