रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुट वा समूह नरहेको दाबी गरेका छन्।
सोमबार चःमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘क्यान्डिडेट क्लब’ घोषणा गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन्। महाधिवेशन सम्पन्न भएसँगै पार्टी समायोजनको सम्पूर्ण काम सकिएको भन्दै उनले गुटबन्दीमा नलाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए।
रास्वपामा एउटै पार्टी र एउटै नेतृत्व रहेको दाबी गर्दै उनले फरक–फरक गुटको अस्तित्व नरहने बताए। कसैले आफूलाई कुनै गुट वा नेतासँग जोडेर परिचय दिए पनि त्यसलाई मनोरञ्जनबाहेक अन्य रूपमा लिन नसकिने उनको जिकिर छ।
“महाधिवेशनको समाप्तिसँगै पार्टी समायोजनको सम्पूर्ण काम समाप्त भइसकेको छ। हामी एउटा रास्वपा छ, एउटा लिडरसिप छ। अलग–अलग छैन। फरक–फरक छैन। कसैले म यो गुटको, म त्यो गुटको भन्न सक्ला। मेरो नेता यो हो, त्यो हो पनि भन्न सक्ला। त्यसबाहेक मनोरञ्जनबाहेक केही पनि लिन सकिँदैन। यो कुरामा म स्पष्ट गर्न चाहन्छु,” उनले भने।
सभापति लामिछानेले स्थानीय तह निर्वाचनमा पार्टी संगठन निर्माणमा योगदान दिने उम्मेदवारलाई प्राथमिकता दिइने पनि स्पष्ट पारे।
-न्युज एजेन्सी नेपाल








