स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपाको ‘क्यान्डिडेट क्लब’ , गाउँपालिकाका उम्मेदवारका लागि आवेदन खुला
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन तथा छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ।
सोमबार चःमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्यान्डिडेट क्लब’ घोषणा गरेका हुन्। उम्मेदवार छनोटअघि आकांक्षीको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालगायत विषयको मूल्यांकन गरी योग्य र सक्षम प्रतिनिधि छनोटमा सहयोग पुर्याउने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याइएको उनले बताए।
स्थानीय तहको उम्मेदवार बन्नुअघि उम्मेदवारको राजनीतिक तथा अन्य मापदण्ड ‘क्यान्डिडेट क्लब’मा जाँच गरिने उनले बताए। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारले आजैदेखि आवेदन दिन सक्ने पनि उनले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप ‘आरएसपी’मार्फत आवेदन दिन सकिने उनले बताए। पार्टीलाई आवश्यक नेतृत्व खोज्ने प्रक्रियामा ‘मेरिटोक्रेसी’ कायम गर्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरशिप एकेडेमी’को अवधारणा अघि सारिएको पनि उनले बताए।
“पार्टीलाई आवश्यक परेको नेतृत्वको खोजी गर्ने राजनीतिसँगैको एउटा मेरिटोक्रेसीको बिन्दु के होला भन्ने सोचेर हामीले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरशिप एकेडेमी’को अवधारणा ल्याएका हौँ। यो एउटा दलका लागि मात्र नभई नेपालको समग्र राजनीतिमा योगदान दिन सकिन्छ कि भनेर ल्याइएको हो,” उनले भने।
उम्मेदवार बन्न आवश्यक पर्ने कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थाबारे जानकारी लिनुपर्ने उनले बताए।
“उम्मेदवार बन्नका लागि आवश्यक पर्ने कतिपय अवस्थामा केही कानुनी झमेलामा पो छ कि ? केही आर्थिक वा सामाजिक किसिमका अप्ठ्याराहरू पो छन् कि ? पारिवारिक किसिमका झमेलाहरूमा पो छ कि ? भन्ने कुरा जान्न जरुरी रहेछ। नेतृत्वमा आएका कयौँ मानिसहरूका कयौँ कुराहरू उठ्दै आउँछन्। त्यसकारण ‘क्यान्डिडेट क्लब’भित्र ल्याएर ती सबै कुरालाई हेरेर राजनीतिक रूपमा, सामाजिक रूपमा र अन्य मापदण्डका आधारमा उम्मेदवार चयन गर्नका लागि यो क्लब गठन गरिएको हो,” उनले भने।
सुरुवातमा गाउँपालिकाबाट उम्मेदवार छनोट प्रक्रिया सुरु गरिने उनले बताए। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाका अध्यक्षलगायत पदका लागि साेमवारदेखि औपचारिक रूपमा आवेदन खुला गरिने उनले जानकारी दिए।
“आजदेखि आउँदो स्थानीय तह निर्वाचनमा गाउँपालिकामा उम्मेदवारी दिने सबैले पार्टीको क्यान्डिडेट क्लबमा आवेदन दिन सक्नुहुनेछ,” साेमबार बेलुका उनले भने।
सभापति लामिछानेले ‘क्यान्डिडेट क्लब’लाई रास्वपाभित्रको उम्मेदवार छनोट प्रक्रियामा मात्र सीमित नराखी समग्र नेपाली राजनीतिमा योगदान पुर्याउने उद्देश्यले ल्याइएको पनि बताए।
-न्युज एजेन्सी नेपाल








