३ भदौ २०८३, बुधबार

मन्त्री फेरबदलको तयारी छैनः रवि लामिछाने

प्रकाशित मिति :  19 August, 2026 5:05 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् ।

बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै यस्तो बताएका हुन । मन्त्रीहरुको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भएपनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए । उनले सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको र रास्वपाका सांसदहरुले पनि प्रश्न सोध्ने गरेको उल्लेख गरे। त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने उनको भनाई छ ।

रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने परिपाटी रहेको उनको दाबी छ । सभापति लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको पनि बताए। उनले दुई नेताबीच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने टिप्पणी गरे । उनले प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने पनि बताए ।

प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उनको अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको उनको भनाई छ । उनले सिङ्गो पार्टी प्रधानमन्त्रीसँगै उभिएको जिकिर गरे ।

उनले केन्द्रिय समितिलाई पूर्णता दिने प्रक्रिया पनि तत्काल सम्पन्न गर्नुपर्ने विषय नभएको बताए। उनले पाँच वर्षभित्र क्रमशः अघि बढाउने कार्ययोजना रहेको जानकारी दिए। महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया सकिसकेकोले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः जिम्मेवारीमा ल्याउने उनको भनाई छ ।

उनले रास्वपाभित्र दुई धार वा गुट रहेको भन्ने दाबीलाई पनि अस्वीकार गरे । उनले पार्टीभित्र कुनै गुट नरहेको दाबी गरे । उनले आफ्नो र प्रधानमन्त्री साहबीचको सम्बन्ध व्यक्तिगत बाचा नभई देश र इतिहासप्रतिको साझा प्रतिवद्धता भएको बताए । उनले देशको भविष्य र इतिहासप्रति जिम्मेवार भएर सरकारले काम गरिरहेको दाबी गरे। सामान्य घटनालाई लिएर राजनीतिक सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्नु उचित नहुने उनको भनाई छ ।

उनले सरकारले राम्रोसँग काम गरिरहेपनि व्यवस्थापनमा केही कमजोरी देखिएको बताए । ग्यासमा हाल देखिएको अभावलाई सरकारको असफलतासँग जोडेर हेर्न नहुने उनको भनाई छ । राम्रो काम गर्दागर्दै पनि कहिलेकाही समस्या देखिने गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !