वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवर्द्धनका लागि प्रयोग गरियोः खुश्बु ओली
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनका गतिविधिमा प्रयोग भएको आरोप लगाएकी छिन् ।
बिहीबार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उनले धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग हुने वैदेशिक सहायतालाई रोक्नुपर्ने बताइन् । विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामार्फत नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण र नास्तिकता फैलाउने गतिविधिमा प्रयोग भएको आफूहरूले देखेको उनको दाबी छ ।
नेपालका विभिन्न स्थानमा धार्मिक संस्थाहरूले सार्वजनिक रूपमा धर्मान्तरणका गतिविधिका लागि परिचालन गर्ने गरेको र केही अवस्थामा विदेशी नागरिकसमेत गाउँगाउँमा परिचालित भएको उनको भनाइ छ । यस्ता गतिविधिले सामाजिक तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने उनले बताइन् ।
उनले सबै वैदेशिक सहायता अनिवार्य रूपमा सरकारी खातामा ल्याउनुपर्ने पक्षमा आफू नरहेको स्पष्ट गर्दै विकासका नाममा आउने सबै स्रोतलाई भने राष्ट्रिय प्राथमिकता, सार्वजनिक सूचना, परिणाम मापन र उपयुक्त लेखापरीक्षणको दायरामा ल्याउनुपर्ने बताइन् ।
नेपालमा सञ्चालन हुने सबै विकास सहायता परियोजनाको अनिवार्य अभिलेख राख्ने, सहायता सम्झौता, कुल रकम, वार्षिक खर्च, प्रशासनिक तथा परामर्श खर्च, खरिद प्रक्रिया, लाभान्वित समूह र परियोजनाको परिणाम सरकारको सूचना प्रणालीमा सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।
उनले अर्थ मन्त्रालयको नेतृत्वमा द्विपक्षीय तथा बहुपक्षीय दाता, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, फाउन्डेसन तथा प्राविधिक सहायता प्रदायकको विवरण समेटिने एकीकृत डिजिटल सहायता अभिलेख प्रणाली निर्माण गर्न पनि आग्रह गरिन्।








