१६ बैशाख २०८१, आइतबार

मेलम्ची खानेपानीको परीक्षण सुरु,भदौको दोस्रो साताभित्र काठमाडौँमा पानी उपलब्ध गराउने

प्रकाशित मिति :  5 July, 2020 7:49 pm


काठमाडौं,२१ असार ।

मेलम्ची खानेपानीको परीक्षण सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाले २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण सुरु गरेको छ । आयोजनाले आगामी दुई महिनापछि काठमाडौँवासीको धारामा पानी पु¥याउने प्रतिबद्धता जनाएको छ ।

सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्नेछ । सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि १५ दिन लाग्ने छ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तरराष्ट्रिय मापदण्डअनुसार प्राविधिक टोलीले निरीक्षण गर्नेछ । सबै अवस्थाको जाँच गरेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा खानेपानी मन्त्रालय रहेको छ ।

आगामी भदौको दोस्रो साताभित्र काठमाडौँमा नियमितरुपमा पानी उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । ‘मेलम्चीको पानी अझै डेढ वर्ष आउँदेन, काम नै सकिएको छैन, सरकारले पटकपटक ढाँटिरहेको छ भन्ने जस्ता जनमानसमा उठिरहेको आरोपकोसमेत अब खण्डन भएको छ’, मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री बीना मगर, सचिव माधव बेल्वासे र आयोजना प्रमुख तिरेशप्रसाद खत्रीलगायतले एकै स्वरमा भने,‘लामो प्रतिक्षाको घडी अब सकिएको छ ।’

आयोजनाको सुरुङमा आज बिहान ९ः४५ बजेदेखि प्रतिसेकेण्ड २६० लिटर पानी पठाइएको छ । ‘सुरुङमार्गमा पानी पथान्तर गरिएसँगै मेलम्चीबारे दशकौँदेखि रहेका हाम्रा आशङ्का र अन्योलको मात्र अन्त्य भएको छैन, हामी सम्पूर्ण नेपालीमा गौरवको अनुभूति गराएको छ’, आयोजना प्रमुख खत्रीले भने ।

काठमाडौँ उपत्यकाको जनसङ्ख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएको थियो । सरकारले २०२९ सालदेखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालेकामा २०४१ सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो ।

विसं २०४९ को तुलनात्मक अध्ययनबाट आर्थिक र प्राविधिकरुपमा उत्तम विकल्पका रुपमा मेलम्ची, याङ्ग्री र लार्के नदीबाट दैनिक कूल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौँ उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालिएको थियो ।

आयोजनाले तत्कालका लागि वैकल्पिक संरचनामार्फत नै पानी ल्याउने तयारी गरेको छ । सम्झौताअनुसार बाँधस्थल निर्माणको काम हाल ६६ प्रतिशत बढी सम्पन्न भएको छ । स्थायी बाँध यसै वर्षभित्र सम्पन्न हुनेछ । सरकारले आगामी आवको बजेटमा नै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । सो लक्ष्यअनुसार नै काम भएको र आयोजना सम्पन्न भई राजधानीवासीको धारामा पानी आउने दिन नजिकिएको खानेपानी मन्त्रालयका सचिव बेल्वासेको भनाइ छ ।
सुरुङ परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी आयोजनाले सम्पन्न गरिसकेको छ । शुरुमा परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिएको छ । सुरुङको सुरक्षा तथा सञ्चालनका लागि प्रचलित अन्तरराष्ट्रिय मापदण्डअनुरुप पानी प्रवाह गरिने र सोहीअनुसार पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिएपछि पूर्ण भरिएको सुरुङलाई केही दिन यथास्थितिमा राखिनेछ ।

पानी भरिएकै दरमा सुरुङ खाली गरी सुरुङको अवस्थाको पूर्ण परीक्षण गरिएपछि कुनै समस्या देखिएमा आवश्यकताअनुसार तिनको समाधान गरिने आयोजनाको भनाइ छ । सो कार्य सम्पन्न भएपछि नियमितरुपमा पानी पथान्तरण गरी काठमाडौँ उपत्यकाको वितरण प्रणालीका लागि उपलब्ध हुनेछ ।

पानी पथान्तरण शुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्र साथै वाग्मती नदीमा कुनैपनि बेला पानीको बहाव बढ्नसक्ने भएकाले नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

आयोजनामा एशियाली विकास बैंकले कूल लागतको झण्डै ८० प्रतिशत र नेपाल सरकारले २० प्रतिशत लगानी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !