भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले उच्चस्तरीय भेटघाटमा व्यस्त
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणको दोस्रो दिन शुक्रबार उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटघाटमा व्यस्त छन्।
तीनदिने भ्रमणका लागि बिहीबार भारत पुगेका वाग्लेले सोही दिन भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
शुक्रबार बिहान ९ बजे इन्डिया इन्टरनेसनल सेन्टरमा पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा उनले आफ्नो धारणा राख्नेछन्।
यस्तै, वाग्लेले शुक्रबार भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्ता साँझ ५ बजेका लागि तय गरिएको छ।
भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि वाग्ले सहभागी हुनेछन्। भारत मण्डपममा हुने कार्यक्रममा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे छलफल हुनेछ।
वाग्लेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।
भ्रमणको तेस्रो दिन शनिबार वाग्लेले निजी क्षेत्रसहित विभिन्न पक्षसँग भेटघाट गर्ने कार्यक्रम छ। त्यसपछि प्रतिनिधिमण्डल नेपाल फर्कनेछ।









