अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध
काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन्।
भक्तपुरको कमलविनायकस्थित येचु बुटिक होटलमा असोज ३ र ४ गते सम्पन्न ‘अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्ट कन्भेन्सन–२०२६’ ले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। निर्वाचन समितिका अनुसार निर्धारित समयभित्र उम्मेदवारहरूको अन्तिम नामावलीमाथि कुनै दाबी–विरोध नपरेपछि सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।
नयाँ कार्यसमितिमा विजय सत्याल गभर्नर इलेक्ट र मानबहादुर बस्नेत डेपुटी गभर्नर निर्वाचित भएका छन्। रिना श्रेष्ठ सचिव तथा ईश्वरीप्रसाद खनाल कोषाध्यक्ष चयन भएका छन्। कमलराम भट्टराई पार्लियामेन्टरियन र रवीन्द्र थापा सर्जेन्ट एट आर्म्स निर्वाचित भएका छन्।
त्यस्तै, राधादेवी बोहोरा, रुस्मा गौतम, अरुणराज पाण्डे, अञ्जली रञ्जित श्रेष्ठ, प्रल्हाद दाहाल, शंकर राजबाहक, किरण तिवारी र ओमप्रकाश चौँलागाई लेफ्टिनेन्ट गभर्नर चयन भएका छन्। प्रदीप थापा, तारा सापकोटा, नोबेल डिसी, शिरीष भट्टराई, उज्ज्वल शशी भण्डारी र कमल सुवार कार्यकारी समिति सदस्य निर्वाचित भएका छन्।
यसअघि एसिया डिस्ट्रिक्टको नेतृत्व गरेका प्रतापबहादुर थापा निवर्तमान गभर्नरका रूपमा नयाँ कार्यसमितिमा रहनेछन्। थापाले नयाँ नेतृत्वले अप्टिमिस्टको अभियानलाई थप विस्तार गर्दै समुदायमा सकारात्मक सोच, आशा र सामाजिक उत्तरदायित्वका गतिविधिलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
थापाले आफ्नो कार्यकालमा एसिया डिस्ट्रिक्टको संस्थागत संरचना विस्तार र गतिविधिलाई थप व्यवस्थित गर्ने प्रयास भएको उल्लेख गर्दै नयाँ नेतृत्वले त्यसलाई निरन्तरता दिनुपर्ने बताए। उनका अनुसार अप्टिमिस्टको मूल उद्देश्य समुदायमा सकारात्मक सोच विकास गर्नुका साथै सामाजिक रूपान्तरणमा योगदान पुर्याउनु हो।
पृथ्वीराज थापा संयोजक रहेको निर्वाचन समितिमा कमलराम भट्टराई र दीपकबाबु मैनाली सदस्य थिए।
दुईदिने कन्भेन्सन भक्तपुर–१ का प्रतिनिधिसभा सदस्य रुकेश रञ्जितको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो। कार्यक्रमको अध्यक्षता एसिया डिस्ट्रिक्टका गभर्नर तथा कन्भेन्सन संयोजक प्रतापबहादुर थापाले गरेका थिए। कार्यक्रममा संस्थापक गभर्नर उदय निरौला र पूर्वगभर्नर पृथ्वीराज थापालगायतको सहभागिता थियो।
कन्भेन्सनमा अप्टिमिस्ट क्लब तथा एसिया डिस्ट्रिक्टका गतिविधिको समीक्षा, आगामी कार्ययोजना, संस्थागत विकास, नेतृत्व हस्तान्तरण र सदस्यता विस्तारका विषयमा छलफल भएको थियो। समुदायमा आशावाद र सकारात्मक सोच प्रवर्द्धन गर्ने उपायबारे पनि सहभागीहरूले धारणा राखेका थिए।
कन्भेन्सनअन्तर्गत रचनात्मक पत्रकारिता, पुँजीबजार तथा व्यक्तिगत उत्प्रेरणासम्बन्धी विषयमा विभिन्न सत्र सञ्चालन गरिएको थियो। एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले आशावाद र पुँजीबजारबारे तथा उत्प्रेरक वक्ता रमन भट्टराईले सकारात्मक सोच र व्यक्तिगत उत्प्रेरणाबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा पत्रकार तथा लेखक टुमराज कोइराला ‘कला अनुरागी’ले ‘आशाको सञ्चार : रचनात्मक पत्रकारिताबाट समाज रूपान्तरणतर्फ’ विषयमा मन्तव्य दिँदै सञ्चारमाध्यमले समस्या उजागर गर्नुका साथै त्यसको सामना गर्न भइरहेका विश्वसनीय प्रयासलाई पनि सार्वजनिक गर्नुपर्ने बताए।
उनले रचनात्मक पत्रकारिता समस्यालाई लुकाउने वा कृत्रिम रूपमा सकारात्मक सामग्री प्रस्तुत गर्ने अभ्यास नभएको स्पष्ट पार्दै तथ्य र प्रमाणका आधारमा समाधानका प्रयासको खोजी गर्नुपर्ने बताए। “आशा भनेको सबै कुरा ठीक छ भन्नु होइन। ठीक नभएको कुरा बदल्न सकिन्छ भन्ने आधार देखाउनु हो,” उनले भने।
कोइरालाले अप्टिमिस्ट क्लबका सदस्यलाई आफ्नो समुदायमा भइरहेका प्रभावकारी प्रयास पहिचान गरी रचनात्मक पत्रकारितामार्फत सार्वजनिक गर्न आग्रह गरे। उनले ‘एक क्लब, एक समुदाय, एक समाधान, एक कथा र एक संवाद’ अवधारणामा अभियान सञ्चालन गर्न प्रस्तावसमेत गरे।
कन्भेन्सनमा एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष विक्रम धुकुछु, नेसनल प्याब्सन भक्तपुरका सचिव रत्न राई, उपभोक्ता मञ्च नेपालका वक्ता उज्ज्वलराज गौतम र नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलगायतको सहभागिता थियो।
अप्टिमिस्ट इन्टरनेसनलले सन् २०२० नोभेम्बर १७ मा नेपाल डिस्ट्रिक्टलाई औपचारिक मान्यता दिएको थियो। नेपाल डिस्ट्रिक्ट उत्तर अमेरिकाबाहिर स्थापना भएको अप्टिमिस्ट इन्टरनेसनलको पहिलो डिस्ट्रिक्ट भएको जनाइएको छ।









