११ आश्विन २०८३, आइतबार

सिमलतालमा सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित

प्रकाशित मिति :  27 September, 2026 10:15 am


चितवन । सिमलतालमा सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ । त्रिशूली नदीको तीव्र कटानका कारण नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा सडकको एक भाग भासिएपछि उक्त स्थानमा यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

सडक डिभिजन भरतपुरका अनुसार आज बिहान त्रिशूली नदीको तीव्र बहावले सडकको करिब आधा भाग कटान गरी बगाएको हो।

सडक भासिएको जानकारी प्राप्त भएलगत्तै डिभिजनले प्राविधिक टोलीलाई घटनास्थलमा पठाएको जनाएको छ। टोलीले क्षतिग्रस्त सडकको मर्मतसम्भारको कामसमेत सुरु गरिसकेको छ।

नदीको बहाव र सडकमा भएको क्षतिको अवस्थालाई हेर्दा सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्न सक्ने सडक डिभिजनले जनाएको छ।

सडकको एक भाग क्षतिग्रस्त भएपछि सो सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। डिभिजनले यात्रु तथा चालकलाई सिमलताल क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !