१४ बैशाख २०८१, शुक्रबार

खाद्यान्न ढुवानी नहुँदा छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी रु २५०

प्रकाशित मिति :  13 July, 2020 10:14 am


दार्चुला, २९ असार । 

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो ।

विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो पटक बन्दाबन्दीका कारण खाद्यान्न ढुवानी गर्न पाएका छैनन् । अहिले गाउँमा पुरानै खाद्यान्न खाँदैछन् । गाउँमा चामल अभाव हुन थालेपछि यहाँ चामल प्रतिकिलो रु २५० सम्ममा खरिद बिक्री हुन थालेको छ ।

चीनबाट निर्यात गरिएको पुरानो चामल अहिले व्यासको छाङ्गरुमा रु २५० प्रतिकिलो खरिद बिक्री भइरहेको बुदीमा होटल व्यवसाय गर्दै आएका व्यापारी देवसिंह खातीले जानकारी दिए ।

“नेपालकै भूमि भएर कुञ्चा (बसाइँसराइ) सर्दा बाटोघाटो थिएन । अहिले यही क्षेत्रका पसलबाट खाद्यान्न खरिद गर्दा महँगो मूल्य पर्दैछ । चामल किन्न पाइँदैन । केही पसलमा मात्रै चामल पाइए पनि महँगो मूल्य हालेर खानुपर्ने बाध्यता छ”, खातीले सुनाए । उनका अनुसार अहिले छाङ्गरु र तिङ्करमा मौज्दात रहेको चामल सकिन थालेपछि स्थानीयवासीले गाउँमा पाइने पुरानो अन्नबाली खान थालेका छन् । रासस



प्रतिक्रिया दिनुहोस !