१३ बैशाख २०८१, बिहिबार

बाल्यकालमा पढेको कथाका वास्तविक पात्र कुन्ता किन्तेको घर गाम्बिया पुग्दा

प्रकाशित मिति :  18 July, 2020 10:56 am


 

गाम्बियाको जुफ्रेमा सन् १७५० मा जन्मिएको “कुन्ता किन्ते“ दास बन्न अस्वीकार गर्दै पटक पटक गोरा दास व्यापारीहरुको पकडबाट फुत्केर भाग्यो तर अन्ततः नेल गलफन्दी लगाएर जेम्स फोर्टबाट जहाजमा हुलेर अमेरिका तर्फ पठाईयो ।

र, सन १८२२ मा अमेरिका मै दास किन्तेको  मृत्यु भयो ।

जुफ्रेको किन्तेले दास बन्न ईन्कार गर्दै ज्यानकै बाजी लगाएर पानी जहाजबाटै हाम फालेर समुद्रमा पौडिदै फुत्केका पटक पटकका  घटनाहरु भने किम्बदन्तीको रुपमा भर गाम्बिया र दासको रुपमा अमेरिका पुर्याइएका पश्चिम अफ्रिकी काला जातीबीच सन्तान दर सन्तान सुनाउने र सुन्ने क्रम भने चलिरह्यो ।

सन १९७६ मा अमेरिकी लेखक अलेक्स हेलीले लेखेको ” Roots: The Saga of An American Family” नामक पुस्तकले किन्तेको स्वतन्त्रताको असफल प्रयासका करुण घटनाका कहानीहरुलाई पुनर्जिबित गरिदियो ।

एबीसी टेलिभिजनले पुस्तकलाई मिनिसिरिजमा फिल्माङ्कन गरेपछि किन्तेको कहानी काला जातिको दास युगको करुण प्रतिनिधि कहानी बन्न त पुग्यो नै, जुफ्रे पनि दासका रुपमा अमेरिका पुर्याईएका काला जातीका आधुनिक पुस्ताका लागि आफ्ना पुर्वजहरु प्रति श्रद्धा ब्यक्त गर्न पुग्नै पर्ने पवित्र स्थल बन्न पुग्यो ।

कुन्ता किन्तेको जन्मस्थलमा लेखकसहितको टोली

अमेरिकी लेखक अलेक्स हेली आफैँ पनि किन्तेको दरसन्तान भएको बताईन्छ ।

गाम्बियाको जुफ्रे गाउँमा हामीलाई टुर गाईडहरुले कटेरो जस्तो यौटा परम्परागत अफ्रिकन घर  भित्र पुराए । कटेरोको भित्ता भरि फिल्मका पोष्टरहरु टाँसिएका थिए ।

पोष्टरमा देखिएको पानी जहाजको डेकमा टुक्रुक्क बसेर अथाह समुद्रको छाल तर्फ निरीह भाबले हेरिरहेको नेल लगाईएको काला जातीको एक ब्यक्तिको  फोटो ईँगित गर्दै टूर गाईडले भन्यो , “हामी किन्ते किन्तुको ग्य्राण्ड ग्य्राण्ड डटरको घरमा छौँ । र भित्तामा टाँसिएको पोष्टर मै छापिएको अलेक्स हेलीको फोटो देखाउदैँ भन्यो, “उहाँ उहाँको शायद दिदी भाइ पर्नु हुन्छहोला ।

“त्यो अर्को उहाँ भनेर उस्ले ईँगित गरेको भने पोष्टर तर्फ नभएर अगेनानेर बसिरहेकी एक अफ्रिकन बृद्धा थिईन । उनी नै थिईन, कुन्ता किन्ते कि खनातिनी, ग्य्राण्ड ग्रयाण्ड डटर ।

म चक्कराएँ ।

किन्तेको खनातिनीसँग लेखक

“किन्ते” ? के म त्यही किन्टेको जन्मस्थलमा छु ?, जस्को कथा मैले ८ बर्षको उमेरमा पढेको थिएँ ? हे ईश्वर ! यस्तो सँयोग पनि हुन्छ र ? मलाई मेरो माहिली र साँहिली दिदीहरुको याद आयो, उनीहरु पढने कक्षाको किताबमा यो कथा छापिएको थियो तर यो उनीहरुका लागि भने थिएन ।

बि.सं. २०२८ सालमा नेपालले अमेरिकी मोडलमा डिजाईन गरिएको “नयाँ शिक्षा योजना“ लागू गर्यो । सायद पहिलो बर्ष यो कुनै २ जिल्लामा मात्र शुरु गरियो ।

चरणबद्ध रुपले चार बर्ष भित्र बि.सं. २०३२ साल सम्ममा ७५ जिल्लामा यो कार्यान्वयन हुने परिपाटी मिलाईएको थियो र मेरो जिल्ला रोल्पामा यो २०३२ सालदेखि मात्र शुरु हुनुपर्ने भएता पनि कसरी हो कुन्नी नयाँ शिक्षाको ५ कक्षाका लागि निर्धारित केही  किताबहरु मध्येको नेपाली किताब , “ महेन्द्रमाला“ भने त्यहाँ पुग्यो ।

दिदीहरुले पढ्न त पुरानो शिक्षा कै ५ कक्षाका किताब पढथे तर यो अतिरिक्त किताब पनि हात पारे । देश देशावरका चाखलाग्दा बाल कथाले भरिएको त्यो “महेन्द्रमाला“ का कथाहरु पढने लोभले मलाई पनि छोडेन । त्यसैैैमा यौटा कथा थियो, अफ्रिकाको महादेशबाट ।

हामीले देखेको जानेको प्रकारको सामान्य मानव आकृति भन्दा केही अनौठो अनुहार भएको यौटा बालक अजिब आकारको नाक र ओँठ भएको, ठूला ठूला बल्ड्याङ्रग्रे तर उदासी भरिएका आँखाले समुद्रमा तैरिरहेका पानी जहाज तर्फ हेरिरहेको, हातमा र खुट्टामा सिक्रीले बाँधेको र छाँद लगाएको ।

असाध्यै माया लाग्दो बालकको स्केच जस्तो तस्बीर थियो, त्यो कथा छापिएको पानामा । त्यो चित्रको बालक माथिको हाम्रो आश्चार्य झन सघन हुन्थ्यो । किनकि त्यसको टाउकोमा अचम्मसँग घुम्रिएको कपाल  थियो।

हामी दिदी भाई त्यस्को कथा पढ्थ्यौँ र त्यस्को माया लाग्दो चित्रको अनुहार हेरेर कठै बिचरा किन्टे भन्थ्यौं । हाम्रो बाल स्मरणमा अफ्रिका महादेशको किन्टे काल्पनिक थियो तर हाम्रो उसप्रति तिब्र सहानुभुती थियो ।

दिदीहरुले बिर्सिए कि के गरे थाहा भएन तर ७ बर्षको भाइको मनमा किन्टेको कथा त समयले  बिर्सिएपनि त्यो निरीह बालकको फोटो भने गहिरोसँग छापिएको रहेछ, सम्झनाको तरेलीमा । जब कि त्यो किन्टेको कथाको पुनर्पठन कहिल्यै भएको पनि थिएन पनि।

म ३० बर्ष अगाडिको किताबको किन्टे को चित्र मेरो अगाडि आईपुग्यो । म बेन्चमा थचक्क बसेँ ।

हे ईश्वर ! म कसरी यहाँ आईपुगे त्यो किताबको किन्टेको घरमा ? के त्यो ३० बर्ष अगाडि पढेको कथाको किन्टे साँच्चिकै थियो ? सबै के भईरहेछ ? त्यो देश देशावरको कथाको किताब, त्यो कथा र यो सादृश्यता ? ज्यू सिरिङ्ग भयो ।

मेरो लागि काल्पनिक कथा अकस्मात साकार हुदैँ थियो । म दक्षिण एशियाको कथा पढने त्यो बालक काल्पनिकताबाट यथार्थताको अगाडि  थिएँ । कुन्ता किन्ते जन्मेको टापुमा थिएँ , उस्कै झुपडि अगाडि थिएँ  । अझ उस्कै खनातिनीको अगाडि थिएँ । म रोमाञ्चित भएँ । अझ भनुुँँ, नोष्टाल्जिक र एन्टाई नोष्टाल्जिक भएँ , एकैसाथ । किनकि एबीसी टेलिभिजन मिनी सिरिजमा देखाईएको किन्ता किन्तेको त्यस्तै तस्बिर भित्ताको पोष्टरमा छापिएको थियो,जस्तो तस्बीर बाल कथाको किताबमा देखेको बिस्मृतिमा थियो ।

टुर गाईडले किन्ता किन्तेको पश्चिम अफ्रिकी जँगलको  स्वतन्त्र कबिला जीवनको घटनाहरु सुनायो र दास बनाएर बाँधिएका साँग्लोबाट फुत्किन उस्ले गरेका अकल्पनीय प्रयासका दारुण घटनाहरु सुनायो ।

अल्ब्ररेडाकै टापुबाट र जहाजबाटै हाम फालेर भाग्दा पनि किन्ते फेरि समातिए र साङ्लामै बाँँधिएर पानी जहाजमा रवाना गराईयो  । सुदुर महादेश तर्फ र त्यो महादेश  थियो उत्तर अमेरिका । जहाँ किन्तेको जीवन दासको रुपमै बित्यो, एकपछि अर्को माष्टरसँग किनिदै बेचिदैँ र साँग्लोमा र उखु र सुर्तिका खेतमा पसिना चुहाउँदै ।

गाम्बियाको जुफ्रेमा स्वतन्त्र जन्मिएको किन्ता किन्ते सन १८२२ मा अमेरिकाको भर्जिनियामा दासको रुपमा मृत्यु भयो ।

जब अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले सन् १८६५मा अमेरिकी गृह युद्धको समाप्ति लगत्तै  दास प्रथालाई गैरकानुनी घोषणा गरे , दास किन्ते को मृत्यु भएको ४३ बर्ष भईसकेको थियो ।

सन् २००१ मा म उस्को थाँत थलोमैै उस्कै दरपुस्ताको घरैमा बसेर त्यै कथा सुनिरहेको थिएँ, जुन कथा मैले  सन् १९७० मा नेपालमा बाल कथामा पढेको थिएँ ।

मटमैलो कागजमा छापिएको किताबको पानामा टुक्रुक्क बसिरहेर समुद्रमा टाढा गईरहेको पानी जहाज हेरिरहेको किन्तेको चित्र झन झन मेरो आँखै अगाडि आयो । मैले घरको दलानमा दुबै जना दिदीहरुले त्यै कथा स्वर हालेर पढिरहेको सुने । मेरो आँखाबाट तरर्र आँसु झरे ।

किन्ते को खनातिनीले के के भनिन र भित्तामा टाँसिएको पोष्टरमा छापिएको किन्तेको तस्बीर देखाईन् । टुर गाईडले अनुबाद गर्यो । अफ्रिकी मूलका अमेरीकी र युरोपियन टुरिष्टहरु हिक्का छाडी छाडी रोए : कथा कारुणिक थियो ।

उनीहरु आफ्नो जरो किलोको कारुणिकतामा रोए । म त्यो कथा पढनु र त्यही पुग्नुको सँयोगमा दिदीहरु सँझेर  रोएँ ।

टुर गाईडले किन्तेको घर भ्रमण गरेको कर तिर्नुु भन्यो र हामीले त्यहाँ राखिएको ठूलो चिन्नो काटेर बनाइएको खपटामा २०/२० डलर हालिदियौँ र बाहिरियौँ ।

बाहिर सयौँ बर्ष पुराना हामीलाई सिमल जस्तो लाग्ने बायोबाबको रुखहरु ठिँग उभिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस !