शंकर पोखरेल : सिद्धान्त र सङ्कल्पको राजनीतिक यात्रा
अखिल भारत स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षदेखि पार्टी महासचिवसम्मको सफल राजनीतिक यात्रा
काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेपाली राजनीतिमा चिनाइरहनु पर्ने नाम होइन । वैचारिक निखारता, प्रष्ट वक्ता, साङ्गठनिक कुशलता, आर्थिक रुपमा पारदर्शी उहाँको परिचय हो ।
देशको आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने एक अगुवाको रुपमा समेत उहाँ परिचित हुनुहुन्छ । मूलतः उहाँ माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) को कुशल व्याख्याता र सच्चा कार्यान्वयनकर्ता हुनुहुन्छ । सादा जीवनशैली, निष्कलङ्क छवि र अध्ययनशील, समन्वयकर्ता नेताको रुपमा जनस्तरले अनुभूत गरेको छ । उहाँ समकालीन नेपाली राजनीतिमा मुलुकलाई नेतृत्व दिने दूरदृष्टि र दृढ सङ्कल्प भएको नेता हो ।
पारिवारिक र शैक्षिक जीवन
वि.सं. २०१९ फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीका कान्छो छोराका रूपमा उहाँको जन्म भएका हो । वि.सं. २०५४ सालमा तत्कालीन विद्यार्थी नेतृ सुजिता शाक्यसँग जनवादी विवाह गर्नुभएका पोखरेल दम्पत्तीका दुई छोरी छन् ।
जनता संस्कृत माध्यमिक विद्यालय बिजौरीबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका उहाँले माध्यमिक तहको अध्ययनका लागि तुलसीपुरस्थित महेन्द्र माध्यमिक विद्यालयमा भर्ना भए पनि तत्कालीन मण्डले गुण्डागर्दी र प्रशासनिक दमनका कारण प्रवेशीका (एसएलसी) परीक्षा नै दिन पाउनु भएन । अनेकौं प्रतिकूलतालाई अनुकूलतामा बदल्दै उहाँले भारतको बनारस पुगेर प्राइभेट परीक्षार्थीका रूपमा बोर्ड परीक्षा पास गर्नुभयो । बनारसबाटै स्नातक सकेर नेपाल फर्किनुभएका पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गर्नुभयो ।
राजनीतिक यात्रा र मदन भण्डारीको मार्गदर्शन
बाल्यकालदेखि नै राजनीति र सामाजिक परिवर्तनप्रति लगाव भएका पोखरेलको राजनीतिक यात्रा वि.सं. २०३५ सालबाटै सुरु भएको थियो । विद्यार्थी जीवनकै ऊर्जा, जिज्ञासा र अध्ययनले वि.सं.२०३६ सालको विद्यार्थी आन्दोलनतर्फ उहाँलाई तान्यो । उक्त आन्दोलनमाथि भएको दमनका कारण वि.सं.२०३७ सालमा उहाँ पहिलोपटक जेल पर्नुभयो । विद्यार्थी जीवनमा उहाँ पटक–पटक गिरफ्तारी पर्नुभयो । भारतमा अध्ययनरत रहँदा पोखरेलले प्रवासी नेपाली विद्यार्थीहरूको हक–हितका लागि अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन (अभानेस्ववियु) को स्थापना गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।
जननेता मदन भण्डारीको विचारबाट प्रभावित शंकर पोखरेल प्रवासममै उहाँसँग प्रत्यक्ष सम्पर्कमा पुग्नुभयो । त्यही ऐतिहासिक भेट उहाँको राजनीतिक जीवनका लागि निर्णायक मोड बन्यो । भारतमा प्राप्त अनुभव र सङ्गठन कौशल बोकेर वि.सं. २०४२ सालमा नेपाल फर्किएर उहाँ पुनः विद्यार्थी आन्दोलनमै जोडिनु भयो र त्यस आन्दोलनको प्रमुख अगुवाका रूपमा स्थापित हुनु भयो ।
अखिल आन्दोलनका रोलमोडेल
अखिल भारत स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष उहाँ नेपाल फर्किएपछि अनेरास्ववियु वागमती अञ्चल कमिटीको अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्नुभयो । वि.सं.२०४५ सालमा त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित भएपछि उहाँको शैक्षिक, राजनीति र नेतृत्व प्रभाव विस्तार भयो । सोही जगमा उहाँ नेपाली राजनीतिको एउटा उदाउँदो नक्षेत्र बनेर स्थापित हुनुभयो ।
स्ववियु सभापतिको रूपमा उहाँले विद्यार्थी हकअधिकार, शैक्षिक सुधार, प्राज्ञिक स्वतन्त्रता र राजनीतिक सचेतनाका सवालमा प्रभावकारी भूमिका खेल्नुभयो । यही कालखण्डमा उहाँले देशभरका स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित पदाधिकारीहरूले कार्यमा एकरुपता, अभियानमा समानता र मुद्दामा सँगसँगै कार्यसम्पादनका लागि स्ववियु काउन्सिललाई संस्थागत गर्दै यसको संस्थापक अध्यक्ष हुनुभएको थियो ।
पञ्चायती निरङ्कुशताविरुद्धको प्रतिरोध र बहुदलीय प्रजातन्त्र स्थापनाका लागि समग्र विद्यार्थीको नेतृत्व गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनमा समेत अगुवाइ गर्नुभयो । विश्वविद्यालयदेखि सडकसम्म फैलिएको विद्यार्थी लोकप्रियताले उहाँको सार्वजनिक छवि, विश्वासनीयता र राजनीतिक धरातललाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण आधारशिला खडा ग¥यो ।
वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनमा उहाँले विद्यार्थी फाँटबाट निर्णायक भूमिका निर्वाह गर्नुभयो । यही क्रममा उहाँ अनेरास्ववियुको केन्द्रीय कमिटीको कोषाध्यक्ष, उपाध्यक्ष हुँदै वि.सं.२०४७ सालमा अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँको नेतृत्वमा अनेरास्ववियुले स्ववियु निर्वाचनमा उल्लेखनीय सफलता हासिल ग¥यो । मूलतः अखिल आन्दोलनसँग जोडिएको नवपुस्ताले सदाबहार रोलमोडेल मान्ने नेताको रुपमा उहाँको पहिचान छ ।
पार्टी राजनीति र नेतृत्व
वि.सं. २०५४ मा नेपालगञ्जमा सम्पन्न नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभयो । सातौँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य, आठौँ महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित हुनुभयो । नवौँ महाधिवेशनपश्चात् स्थायी समिति सदस्य भई पार्टीको स्कूल विभागमार्फत् नीति निर्माणमा अगुवाइ गर्दै विचार, अभियान, आन्दोलन र कार्यान्वयन तहमा प्रभावकारी भूमिका खेल्नुभयो ।
वि.सं. २०७८ मङ्सिरमा चितवनमा सम्पन्न नेकपा (एमाले) को दशौँ महाधिवेशनबाट सर्वसम्मत महासचिव पदमा निर्वाचित हुनुभयो । उहाँको वैचारिक निखारता, नेतृत्वको संरक्षण, साङ्गठनिक कुशलता, समन्वयकारी भूमिकाले पार्टी जीवनमा थप गति पैदा भयो । पार्टीभित्र देखापरेका अनेकौं बाधा–अड्चन छिचोल्ने, व्यवस्थापन गर्ने र पार्टीलाई श्रेष्ठता कायम गर्ने भूमिकामा उहाँले निरन्तर पहलकदमी र अगुवाइ लिनुभयो ।
असल जनप्रतिनिधि, समृद्धिका शिल्पी
विद्यार्थी नेताको रुपमा लोकप्रियता हासिल गर्नुभएका शंकर पोखरेल वि.सं. २०५१ सालमा प्रतिनिधि सभा सदस्य बन्नुभयो । यही निर्वाचनको प्रचारको दौरानमा उहाँलाई लक्षित गरी नेपाली काङ्ग्रेसका कार्यकर्ताबाट विजौरीमा गोली प्रहार भएको थियो । उक्त विजौरी हत्या काण्डमा पुष्प घिमिरे, नारायण चौधरी र कृष्ण चौधरीको मृत्यु भएको थियो, भने दर्जनौं युवा गोली लागेर घाइते भएका थिए । ३२ वर्षको उमेरमा पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर उहाँले संसदमा जनसरोकारका विषयलाई शसक्त रुपमा विवेचना गर्ने अगुवा सांसदको रुपमा परिचत हुनुभयो । संसदमा ‘पँजेरो सुविधा’ को प्रतिवाद गर्ने र सदन आवाज बुलन्द गर्ने उहाँ पहिलो व्यक्ति हो । सुविधा कटौतिको कार्यान्वयन कालान्तरमा भयो र हालसम्म पनि सुविधान बन्द भयो ।
वि.सं.२०५१ को आमनिर्वाचनबाट नेकपा (एमाले) देशकै ठूलो राजनीतिक दलको रुपमा स्थापित भयो । प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी हुनुभयो । पोखरेल त्यही अवधिमा पार्टीको प्रचार विभाग प्रमुख बन्नुभयो । सरकारलाई लोकप्रिय बनाउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो । वि.सं. २०५२ सालबाट सुरु भएको शसस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र राजनीतिक निकासको पक्षमा जनमत सिर्जना गर्न उहाँले माओवादी हिंसाबाट अति प्रभावित राप्ती अञ्चलका पहाडी जिल्ला रुकुम, रोल्पामा शान्ति पदयात्राको नेतृत्व गर्नुभयो ।
वि.सं.२०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकसँगै औपचारिकरुपमा राजतन्त्रको अन्त्य भई मुलुक गणतन्त्रको नयाँ युगमा प्रवेश ग¥यो । संविधानसभाको गठन भए पनि संविधान निर्माणको कार्य सहजरुपमा अघि बढ्न सकेन । मुलुक सङ्क्रमणकालीन राजनीतिक जटिलतामा फस्दै गयो । पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको नेकपा (माओवादी) सरकार सञ्चालनमा असफल भएपछि वि.सं.२०६६ सालमा नेकपा (एमाले) को नेतृत्वमा नयाँ सरकार गठन भयो । संविधानसभा सदस्यसमेत रहनुभएका पोखरेल सूचना तथा सञ्चार मन्त्री बन्नुभयो । त्यस क्रममा नेपाल सरकारको प्रवक्ता रहनुभएका उहाँले सङ्क्रमणकालीन राजनीतिक जटिलताको व्यवस्थापनका साथै नेपाल सरकारको सेवा प्रवाह, सूचना प्रविधिको पहुँच विस्तार एवं मन्त्रालय र अन्तर्गतका निकायको संस्थागत विकासमा महत्वपूर्ण योगदान गर्नुभयो ।
नेपालले भू–उपग्रह (स्पेस) को अधिकार गुमाएको अवस्थामा उहाँकै पालामा स्पेसको गुमेको अधिकार फिर्ता ल्याउने योगदान उहाँकै हो । नेपालको आकाशमा विदेशी च्यानलको निर्वाध प्रवेशलाई नियन्त्रण र व्यवस्थापन गर्न कानुन बन्यो । यस्तै नेपाल टेलिकमको डाटाको प्रयोगमा जोड दिने र सूचना महामार्गको विकासको अवधारणा पनि सोही समयमा अघि बढाइयो । फलतः नेपालले दूरसञ्चारको क्षेत्रमा महत्वपूर्ण फड्को मार्न बलियो आधार बन्यो । उक्त समयमा ११औं त्रिवर्षिय योजनाले निर्धारित गरेको लक्ष्य भन्दा बढि उपलब्धी सूचना र सञ्चारका क्षेत्रमा हासिल ग¥यो ।
देश सङ्घीयतामा प्रवेश गरेपछि भएको पहिलो निर्वाचन–२०७४ मा दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा उहाँ निर्वाचित हुनुभयो । त्यसपछि उहाँ तत्कालीन प्रदेश नं. ५ हालको लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री हुनुभयो । मुलुकमा पहिलोपटक स्थापित प्रदेश संरचनाप्रति जनअपेक्षा अत्यधिक थियो भने पूर्वाधार, शासकीय अनुभव र स्रोतसाधनका दृष्टिले चुनौतीको पहाड थियो । मुख्यमन्त्रीको हैसियतमा शून्य अवस्थाबाट कार्य प्रारम्भ गर्नुभएका उहाँले “समृद्ध प्रदेश, खुसी जनता” को सङ्कल्पका साथ नागरिकमा सेवा प्रवाह, विकास निर्माण, समृद्धि र सुशासनको क्षेत्रमा उल्लेख्य योगदान गर्नुभयो ।
प्रदेशको नामाकरण र राजधानी निर्धारणजस्ता अत्यन्त संवेदनशील विषय पनि उहाँको समन्वयकारी भूमिका र कुशल नेतृत्वमै सहमतिका आधारमा सम्पन्न भए । तीनवटा आञ्चलिक मनोविज्ञानलाई जोडेर एउटा साझा मनोविज्ञान तयार पार्दै प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम ‘लुम्बिनी’ राख्न सफल हुनुभयो । सङ्घीय संरचनाको जग बसाल्न उहाँले खेलेको भूमिका ऐतिहासिक रह्यो ।
विकास निर्माणमा उहाँले उदाहरणीय नेतृत्व प्रदान गर्नुभयो । कार्यकालको तेस्रो वर्षमा आइपुग्दा सतप्रतिशत पूँजीगत खर्च गर्ने प्रदेशका रुपमा लुम्बिनीलाई स्थापित गर्नुभयो । आफूले सम्हालेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र अर्थमन्त्रालयमा बेरुजु शून्यमा ल्याउनुलगायतका उहाँबाट सम्पादित कामलाई उल्लेखनीय मानिन्छ । तत्कालीन नेकपाका दुवै अध्यक्षले उहाँलाई संघीयता संस्थागत गर्नकै लागि मुख्यमन्त्रीको जिम्मेवारीमा पठाउने निर्णय गर्नुभएको थियो ।
वैचारिक स्पष्टता, दुरद्रष्टा
जननेता मदन भण्डारीले समेत “जबजका प्रमुख व्याख्याता” को रुपमा विश्वास गर्नुभएका शंकर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) लाई कोरा सिद्धान्त मात्र नमानी नेपाली समाजको रूपान्तरण र सामाजिक जागरणको मेरुदण्डका रूपमा संस्थागत गर्न योगदान गर्नुभएको छ । उहाँले जबजलाई जनस्तरसम्म पु¥याउन सरल तर गहिरो व्याख्या प्रस्तुत गर्नुभएको छ । पार्टीभित्र वैचारिक बहसलाई सुदृढ बनाउँदै सङ्गठनलाई स्पष्ट मार्गदर्शनमा उभ्याउनुभयो र नयाँ पुस्तालाई जबजमा दीक्षित गर्दै वैचारिक स्पष्टता ल्याउन निरन्तर वकालत गरिरहनुभएको छ ।
जबजलाई पार्टीको सिद्धान्त बनाउन सङ्घर्ष गर्नुभएका उहाँले मुलुकमा सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न निरन्तर वैचारिक पहलकदमीमा लागिरहनु भयो । वि.सं.२०५९ जनकपुरमा सम्पन्न पार्टीको सातौं महाधिवेशनमा उहाँले संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्ने प्रस्ताव पेश गर्नुभयो, जुन तत्समयमा स्वीकार भएन । उहाँले सो सवालमा निरन्तर वैचारिक अभियान जारी राख्नुभयो । अन्ततः नेकपा (एमाले) र देशले त्यही बाटो समात्न पुग्यो । त्यसैगरी उहाँले वि.सं.२०६० सालमा ‘संविधानसभा, राज्यको पुनःसंरचना र समावेशी लोकतन्त्र’ नामक पुस्तक प्रकाशित गर्दै मुलुक सङ्घीयताको दिशामा जानुपर्ने स्पष्ट धारणा प्रस्तुत गर्नुभयो । पछि पार्टी र देश नै सोही दिशातर्फ उन्मुख भयो ।
वि.सं.२०६२÷०६३ को जनआन्दोलनको अग्रभागमा उहाँ हुनुहुन्थ्यो । त्रिचन्द्र क्याम्पसमा आयोजित खुला सभामा उहाँ पहिलो पटक गणतन्त्रको पक्षमा सार्वजनिक आह्वान गर्ने प्रमुख वक्ता हुुनुहुन्थ्यो । यही आन्दोलनको बलमा राजतन्त्रकै अन्त्य भई २०६३ मा गणतन्त्र स्थापना भयो ।
संविधानसभा, नयाँ संविधान निर्माण र सङ्घीयता कार्यान्वयनका क्रममा नेपालका प्रमुख वैचारिक–राजनीतिक मुद्दाहरूमा उहाँ निरन्तर सक्रिय रहनुभयो । वि.सं.२०६५ फागुनमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा पार्टी जीवनको लोकतान्त्रीकरण सम्बन्धी पुरक प्रस्ताव र २०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनमा नेपालको आर्थिक–सामाजिक विकास सम्बन्धी रुपान्तरणको अवधारणा उहाँकै अगुवाइमा तयार भएका दस्तावेज हुन् । त्यसैगरी नेकपा (एमाले) र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टीमा उत्पन्न मतभेद समाधान गर्न उहाँले खेलेको भूमिका उल्लेखनीय छ ।
वि.सं.२०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनबाट उहाँ महासचिवमा निर्वाचित भएपछि मिसन ग्रासरुट, मध्यपहाडी लोकमार्गको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको अभियान ‘सङ्कल्प यात्रा’, वडा–केन्द्रित ‘जरा अभियान’ जस्ता सङ्गठन सुदृढीकरण, विस्तार तथा जनतासँग एमाले जोड्ने सेतुका रुपमा स्थापित अभियान सञ्चालन तथा कार्यान्वयन गर्नुभयो । पार्टीलाई जबजको मार्गदर्शनमा आजका चुनौती समाधान गर्ने कार्ययोजना निर्माणमा उहाँको भूमिका सदैव नेतृत्वदायी रहेको छ ।
जबजलाई आधुनिक राष्ट्रिय विकास–यात्रासँग जोड्ने क्रममा नवौँ महाधिवेशनमा उहाँले प्रस्तुत गरेको रूपान्तरणीय अर्थ–नीति अवधारणाले उत्पादन संरचनाको आधुनिकीकरण, सामाजिक न्याय, राष्ट्रिय उद्योग विस्तार, आधुनिक पूर्वाधार निर्माण र समावेशी विकासजस्ता पाँच प्रमुख आधारमार्फत् समाजवादउन्मुख अर्थतन्त्रको स्पष्ट खाका तयार गर्नुभयो । यसले जबजलाई केवल राजनीतिक दिशानिर्देश मात्र होइन, आर्थिक रूपान्तरणको वैज्ञानिक नक्साका रूपमा पुनःपरिभाषित गरिदिएको छ ।
उहाँले विगतमा पार्टीको वैचारिक पक्षलाई शसक्त बनाउन स्कूल विभागमार्फत् देशभर माक्र्सवाद, लेनिनवाद र जबजको सिद्धान्तका विषयमा प्रशिक्षण गर्ने अतुलनीय योगदान गर्नुभएको छ । उहाँले नवपुस्तालाई राजनीतिमा सङ्गठित गर्ने, प्रशिक्षित गर्ने र नेतृत्वमा पु¥याउन अहम् भूमिका खेल्नुभयो । पार्टीको जनसङ्गठनलाई मोर्चा प्रमुखको जिम्मेवारीबाट शसक्त, बलियो सङ्गठन निर्माणको कार्यमा एकताबद्ध बनाउनुभयो ।
वि.सं.२०८२ भदौ २३ र २४ गतेको जेनजी घटनापछि उत्पन्न राज्य–दुर्बलताको अवस्थालाई व्यवस्थापन गर्दै पार्टी पङ्तिलाई परिचालित गर्न वडा, पालिका र जिल्लातहमा विशेष अभियान, सभा योजना निर्माण र कार्यान्वयन गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरताबाट गुज्रिरहेको संवेदनशील समयमा पार्टीलाई स्पष्ट एजेण्डामा उभ्याउन उहाँ सफल हुनुभयो ।
राजनीतिक, साङ्गठनिक जिम्मेवारी वहन गरिरहेकै समयमा युगलहर, सिमानापारिको हुँकार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प, एक्काइसौँ शताब्दीजस्ता प्रकाशनहरूमा विचार प्रस्तुत गर्नेदेखि सम्पादनसम्म गर्ने काम उहाँका महत्वपूर्ण सिर्जनात्मक योगदान गर्नुभयो । उहाँले पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादक तथा पार्टीको प्रचार विभाग प्रमुख रही उल्लेख्य भूमिका गर्नुभएको छ ।
राजनीतिक स्वतन्त्रता, राष्ट्रियता, जनहीत र समानताका पक्षमा उभिदा बारम्बार जेल र हिरासत जीवन बिताउनु परे पनि उहाँ आफ्नो वैचारिक अडान र सिद्धान्तबाट कहिल्यै विचलित हुनुभएन । यसर्थ, नेपालका दीर्घकालीन आर्थिक विकासको खाका कोर्नसक्ने सीमित दूरदर्शी नेता हुनुहुन्छ ।
शंकर पोखरेल वैचारिक व्याख्याकार, सङ्गठन निर्माणका शिल्पी, नीति–निर्माणका वास्तुकार, संवाद र समाधानका संयमित नेता तथा दीर्घकालीन दृष्टि राख्ने योजना–मानसका रूपमा स्थापित हुनुहुन्छ । उहाँको नेतृत्व शैली आरोपभन्दा तर्कमा, आक्रोशभन्दा संयमतामा, लोकप्रियताभन्दा सिद्धान्तमा, भावनाभन्दा विवेकमा र पदभन्दा जिम्मेवारीमा आधारित छ । जसले उहाँलाई समकालीन नेपाली राजनीतिमा एक विशिष्ट, आर्थिक पारदर्शी र विश्वसनीय वैचारिक योद्धाको रूपमा स्थापित छ । उहाँको यस असाधारण योगदानप्रति हामी युवा–विद्यार्थी गौरवबोध गर्दछौं । उहाँले कोरेको पथलाई थप सुदृढ बनाउने सङ्कल्प गर्दछौं ।
पूरा जीवनी पढ्नुहाेस्








