‘फादर फिगर’ र २०३९ साउन ६ गते

सेमेष्टर प्रणालीको अन्तिम ब्याच थियो हाम्रो । पछिल्लो वर्ष कलेज पढ्न आउनेहरुले फेरि पहिले जस्तै ईयर (वार्षिक) प्रणालीमा पढ्न थाले ।

नयाँ शिक्षा योजना अन्तरगत अमेरिकी ढाँचामा ढालिएको नेपालको नयाँ शिक्षा प्रणालीले बिश्वबिद्यालयका कलेजहरुलाई क्याम्पस बनाई दियो र वार्षिक परीक्षा हुने पुरानो प्रणालीलाई ६ महिनामा जाँच लिने समेष्टर प्रणालीमा फेरिदिएको थियो ।

उच्च शैक्षिक संस्थाको अर्थ दिने “कलेज” पनि भौतिक संरचनाको परिसरको अर्थ दिने गरि “क्याम्पसमा” शब्दान्तरण गरिएको शैक्षिक कालखण्डको अन्त्यतिर हामी थियौं– पिसिएल(साईन्स)का विद्यार्थी । ‘ईन्टरमिडिएट ईन साइन्स’ लाई ‘प्रोफिसिएन्सी सर्टिफिकेट लेभेल’ नाम दिइएका बेलाको कुरा हो यो।

पकिस्तानमा निर्बाचित प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई जनरल जिया उल हकको मार्शल रुलले सत्ताको सत्ताको तख्ताबाट फाँसीको तख्तेमा पुर्याएर झुण्डाईदिएको घटनाले नेपालमा भड्किएको विद्यार्थी आन्दोलन गोरखापत्र संस्थान र शाही नेपाल वायु सेवा निगमको आगजनीसम्मको उग्रतामा पुगेपछि बालिग मताधिकारको आधारमा जनताले राजनैतिक व्यवस्थाको विकल्प छान्न पाउने ‘जनमत संग्रहको’ घोषणाले मात्र मुलुक साम्य भएको राजनैतिक स्थिति थियो ।

जनमतसंग्रहसम्मको राजनैतिक परिस्थिती निर्माण गर्ने बिद्यार्थी ताकतका कारण हाम्रो कलेजका दिनहरु ‘हड्तालमय’ थिए । केमेष्ट्री वा फिजिक्सको क्लास भईरहेको ठाँउमा एक हुल विद्यार्थीहरु पसेर मुठ्ठी उठाउँदै ,’साथीहरु संघर्ष जारी छ’ भन्दै ‘क्लास बहिस्कार गरौँ” भन्नेहरुको अक्रामक भाषण चल्दै गर्दा प्रोफेसरसाहेब लुसुक्क बाहिरिएपछि क्लास बन्द । कहिले कुन क्लास, कहिले कुन क्लास, कहिले क्याम्पस प्रमुखको कार्यालयमा ताल्चा, कहिले आपसमा कहिले पुलिसलाई ढुँगा हानाहान । हरेक दिन केही न केही घट्नाहरु भइराख्थे तर क्लास भने हुदैनथे ।

जनमतसंग्रहको प्रभावले कलेजहरु पोलिटिकल्ली रंगीन थिए- आफ्नै शिक्षादिक्षाको लागि माहत्वपूर्ण समयलाई बहिस्कार गर्ने जोशिलो दैनिक एडभेन्चरमा ।

परिणाम के रह्यो भने ६ महिनाको सेमेष्टर कहिले ९ महिना पुग्ने त कहिले एक वर्ष । २ वर्षको शैक्षिक वर्ष ४ वर्षसम्म पुग्यो । बेहालै बेहाल ।

२०३७ सालमा सम्पन्न रेफ्रेन्डममा सुधारिएको पँचायती ब्यबस्थाले पाएको ४ लाख मतको अग्रतालाई बिपि ले स्वीकार्दै शायद ईभोलुस्नरी पोलिटिकल डेभ्लपमेन्टको नीतिमा अडिएपछि आमूल राजनैतिक परीबर्तनको रिभोलुश्नरी सँभाबना करीब करीब स्थगन जस्तै हुन पुगेको २ बर्ष भै सकेको थियो । सुधारिएको पँचायतले बालिगमाताधिकारको सिमित प्रजातान्त्रिक स्ट्रेन्थमा बहुदलिय प्रजातन्त्रको समग्रता ग्रहण गर्ने कमजोर कोशिस गरिरहेको अबस्थाकै बीचको कुरा हो।

साउन ६, २०३९ ।

विपी कोइरालाको निधनको खबर डढेलो लागेसरी फैलियो ।

मुलुक भित्र तत्काल आम सञ्चारको माध्यम रेडियो नेपाल बाहेक अरु नभएको अवस्थामा पनि त्यो खबर यति चाँडो फैलिएको थियो कि बन्द प्रकृतिको चुपचाप नेपाली समाज अकस्मात तरंगित भयो । विपीको निधन एउटा अपेक्षित तर अनिच्छित घटना थियो, त्यति बेलाको उदार राजनीतिमा आस्था राख्नेहरुका लागि । अझै उदार प्रजातान्त्रिक को सपनामा सँघर्ष बाँचिरहेका हरुका लागि त कडा ह्रदयाघात नै थियो त्यो निधनको समाचार ।

मलाई एक्कासी त्यहाँ जाउँ जस्तो भयो । र जानै पर्छ भन्ने लाग्न थाल्यो । र तत्कालै दिमागमा बुवाको अनुहार बारम्बार आउन थाल्यो । उहाँले मलाई भनिरहेको जस्तो लाग्यो, “म धेरै धेरै टाढा छु, तँ जा, त्यहाँ जा । मेरो लागि भए पनि उनलाई एक पटक हेरिदे ।”

म असमन्जसमा परें ।

राष्ट्रिय पञ्चायतको अधिवेशन चलिरहेको छ । ठूल्दाइ भर्खरै दौरा सुरुवालको पोशाकमा माननीयको ब्याच ग्रे कोटमा खिपेर ग्यालरी बैठक, सिंहदरबारतर्फ लाग्नुभयो ।

“विपीको घाँटी खराब थियो, त्यसैले सधै सफा सेतो मलमलको रुमाल स्कार्फ जस्तो घाँटीमा बाँध्नु हुन्थ्यो ।“

२०१५ सालमा दुई तिहाई बहुमतले क्षेत्र नम्बर ८३ बाट प्रथम निर्वाचित एम पी हुनु हुन्थ्यो रे बुवा । हामी त जन्मेकै थिएनौं । (२०१५ सालको प्रथम आम चुनाबबाट एम पि चुन्नकालागी भर नेपाल १०९ वटा निर्वाचन क्षेत्रमा बाँडिएको थियो । २०१८ सालमा मात्र जिल्ला बिभाजन भयो र २०४८ पछि मात्र जिल्ला भित्रै पनि निर्बाचन क्षेत्र छुट्याईयो) । पछि बालयकालमा बुवाको काखमा बसेर सुनेको त्यो बाक्य घरिघरी आईरह्यो।

“नेता त विपी हुन, विपी !” राष्ट्रिय पञ्चायत सदस्य ठूल्दाईले बेला बेलामा तुलनात्मक राजनैतिक प्रसंग चल्दा भनेको याद आयो । र, फेरि मेरो जाउँ नजाउँ को दोधार अल्ली कम भयो ।

‘ए! सुरेन्द्र, जे भए पनि १५ सालको विंडो थामेको छस नाती । दुःख त पाईस नै , तर ठूलो बुवाको २००७ सालदेखिको प्रजातन्त्रको लागि योगदान हो । तँलाई आशिर्वाद छ । कसरी काठमाडौंमा धानिन्छस् ? ल अलिकति भए पनि खर्च चला ।’ ठूलदाइले हातमा थमाईदिने त्यो दुःख धान्ने खर्चको अर्थ थियो – तैलें कन्भिक्सन नछोड्नु ।

दोधारको मनस्थीतिमा एकपछि अर्को घटना स्मृतिमा आए र गए , एक पछि अर्को गर्दै। ती सबै म त्यहाँ जान हुन्छ या हुँदैन भन्ने कुराको असमन्जस्यताको प्रक्रियामा आईरहेको थिए र गइरहेका थिए ।

“मुलुकमा एउटा जिर्ण शरीर लिएर प्रजातन्त्र–प्रजातन्त्र भनेर बोलिराख्ने एउटा बुढो छ । ठूलो परिवारमा यौटा बुढो मान्छे कोठामा खोकीराख्दा पनि परिवारलाई जीवन्त बनाइदिन्छ, जाँगर भरिदिन्छ । ती छन र प्रजातन्त्रको दियो बलिराखेकोछ भाइ ।” विष्णु बिभूले धोवीधारमा हामी फुच्चे भाईहरुसँग गफ गर्दै गर्दा भनेको कुरा अनायसै याद आयो।

ल त्यो बत्ति त निभि सकेछ । नरमाईलो लाग्यो ।

थाहा नपाई नपाई म मैतिदेवीबाट हिंडिसकेछु- त्यो निभेको बत्ति राखिएको भनिएको ठाउँ जयबागेश्वरीतर्फ । झुण्ड झुण्ड मान्छेहरु जयबागेश्वरीतिर उभिरहेका थिए । मान्छेको सानोतिनो भीड भएकै ठाँउतिरै जाँदै गर्दा ठ्याक्कै त्यहीं पुगियो जहाँ त्यो “दियो” निष्प्राण शरिरमा अझैँ पनि आशा, विश्वास र भरोसा बनेर मृत्यु शैय्यामा लम्पसार थियो ।

बालिग मताधिकारको आधारमा निर्वाचित राष्ट्रिय पञ्चायतबाट निर्वाचित सुधारिएको पञ्चायतका पहिलो प्रधानमन्त्री सूर्यबहादुर थापा भर्खरै जयबागेश्वरी पुगेर विपीको पार्थिव शरीरमा श्रद्धाञ्जली चढाएर फर्केको भन्ने सुनेपछि भने मलाईं लाग्यो कि प्रधानमन्त्री नै आएर श्रद्धाञ्जली दिन हुने अरुलाई किन डर त्रास ? अरुले किन नहुने ?

अकस्मात मलाई एक प्रकारको आत्मविश्वास चढ्यो र घरबाट हिड्नु अघिसम्मको दोधारको मनौवैज्ञानिक दबाव हटेजस्तो भयो ।मैले आफूलाई दृढ महसुस गरें ।

जयबागेश्वरीमा बरण्डा भएको घरको भुईंतलामा झुस्स दाह्री भएको एउटा बृद्ध तर ऊज्यालो उज्यालो निस्प्राण अनुहार बरफको ठूलो ढिक्कामाथि उत्तरतर्फ सिरानीमा चीर निद्रामा थियो । मैले श्रद्धापूर्वक दुई हात जोडर ढोगे र मनमनै भनें, “मेरो बुवाको राजैतिक आदर्शको प्रतिमूर्ति प्रति मेरो श्रद्धाञ्जली छ ।” र निकै बेर हात जोडीरहे ।

मलाई त्यतिबेला बुवाको प्रतिनिधित्व गरिरहेको छु भन्ने भावले बढी उद्देलित गरिरहेको थियो र ईमोश्नल बनाईरहेको थियो । कता कता त्यो शरीरको आकार र अनुहारमा मलाई आफ्नै बुवाको प्रतिरुप देखेजस्तो लाग्यो । म आत्तिएँ , झसँग भएँ र फेरि नमस्कार गरे ।

विपीको शव राखेको ठूलो ढिक्का बरफबाट बिस्तारै बिस्तारै पग्लिरहेको पानी प्लास्टर गरेको भुईंमा तप्प तप्प तप्प झरिरहेको थियो ।

जनमत संग्रहको चर्काचर्की थियो । खुलामञ्चमा बहुदल पक्षको ठूलो आमसभा भयो । त्रि–चन्द्र कलेज पढ्नेलाई त्यस्तो भाषण हेर्ने या सुन्ने सुविधा बेजोड थियो । किनकि क्याम्पसकै छतबाट खुला मञ्च छर्लँगै देखिने- भाषण सुने पनि हुने सभा हेरे पनि हुने ।

त्यसदिन भने म रत्नपार्कसम्मै गएँ । मलाई विपीलाई स–शरीर हेर्नु थियो, देख्नु थियो ।

“ विपीको भाषण, शब्द, ओज, दृष्टिकोण…” बुवाले भनेको स्वर र बालक मष्तिस्कमा प्रिन्टेड वर्णनले मलाई चुम्बकजस्तै खिचेको थियो त्यो दिन । “ब्यक्तित्व पनि अति सुन्दर, लवेदा सुरुवाल लगाएको त यति सुहाउने,” बुवाको शब्दहरु थिए ती । बुवा आँफै पनि रबाफिलो व्यक्तित्वको मान्छेले भनेको सुनेको मेरो युवा उत्सुकताले त्यस दिन बुवा भन्दा राम्रो मान्छे पनि हेरु न त भन्ने चुनौती स्वीकारेको थियो ।

ठूलो संख्यामा मान्छे भरिएको टुँडिखेलको खुलामञ्चमा उद्घोषण भयो, ‘जननायक विपी…”त्यस्तै त्यस्तै ।

एउटा वृद्ध शरीर माइक अगाडि उभियो र भास्सिएको तर स्पष्ट स्वरमा बोल्न थाल्यो । दौरा सुरुवाल कोट र टोपी लगाएको त्यो पातलो अग्लो शरीरको अस्तित्व यति प्रभाबशाली थियो कि हल्ला खल्ला गारिरहेको सारा भीड एकाएक ‘पिन ड्रप साइलेन्स’ मा पुग्यो ।

चारैतर्फ राखिएका भोपुँ माइकमा मधुरो स्वरमा तरंगित भयो, “ प्रजातन्त्र, राष्ट्रियता, समाजवाद, राजा …” यस्तै शब्द बुनिएका सुत्रहरु सुनिए । भीड हिप्नोटाईज्ड भए जसरी सुनिरहेको थियो, एउटा एउटा शब्दलाई, शायद त्यो एक एक शब्दमा सुत्र थियो र भाष्य थियो होला ।

मलाई त्यो स्वर भास्सिएको तर पनि केही गँभिर कुरा बुझाउन खोजिरहेको अग्लो मान्छे कता कता मेरो बुवा जस्तो लाग्यो । परीपक्वता, धैर्यता र समझदारीका बाक्यहरुबाट कठिन राजनैतिक सुत्र र राष्ट्र र समाजको भबिष्य बुझाउन र देखाउन खोजिरहेको । जसमा ऊग्रता , चर्कोपन र उत्ताउलोपन छैन, छ त केवल जनताको उत्थान,भरोसा र विश्वास र शाशन सत्ताको हातरो भन्दा पनि जनताको सर्बोच्चताको चिन्ता ।

यस्तो मधुरो स्वरलाई पनि किन यसरी सुनिरहेको छ यो जनसागर ? मलाई अचम्म लाग्यो तर म आफै पनि सुन्ने कोशिस गरिरहेको थिएँ र अर्थ लगाउने विफल प्रयत्न गरिरहेको थिएँ, के भनेको होला भनेर ।

मलाई अकस्मात लाग्यो, शायद ‘फादर फिगर’ भनेको यस्तै होला ।

‘पोलिटिकल पावर ग्रोज आउट अफ द व्यारल अफ द गन’ भन्ने जस्ता भाषणहरुको जमाना थियो, रगत उम्लने उमेर पनि थियो । तर ती बृद्धको भाषणमा त्यो उत्तेजना ईन्ड्युस गर्ने “एलिमेन्ट” थिएन र त्यो “एलिमेन्ट” नभएको भाषण सुन्ने धैयर्ता नभएको जमानमा पनि केही त थियो त्यहाँ जसले गर्दा भीड एक टकले त्यो क्यान्सरले गलेको तर जित्न नसकेको तेजिलो अनुहारमा आँखा टिकाएर बसेको थियो, कान थापेर बसेको थियो ।

मलाई लाग्योः त्यहाँ त्यो टावरिङ फिगर ऊत्तेजना को आकर्षक पहाड चढाउने र भीरमा पुर्याएर खसाल्ने शैली भन्दा धेरै फरक “होश’ को सँरचनामा आधारित परिवर्तनको लागि जनताको “जोशको” आह्वान गरिरहेको थियो ।

र, त्यो मानिसलाई स–शरीर सुनेको ठिक तीन वर्षपछि म त्यो मानिसको पार्थिक शरीरलाई नमस्कार गरिरहेको थिएँ – विना कुनै जानकारी कि त्यो मानिस हुनु वा नहुनुले के फरक पार्छ भनेर ।

मलाई एकाएक फेरि विष्णु विभूको गफ भने याद आयोः “ठूलो परिवारको जेष्ठ सदस्य यौटा वृद्ध घरको कुनै कोठामा बसेर खोकीराख्दा पनि चोर भाग्छ, घरको सुरक्षा हुन्छ । “

म फर्कन चाहन्थे, अब । तर के ले हो मलाई रोक्यो र भन्यो “तँ अब उन्को मलामी जानैपर्छ । म धेरै टाढा छु, मैले विपीलाई भेट्न पाईन, तैले मेरो लागि भए पनि मलाई गईदिनु ।”

त्यो शायद बुबाको टेलिप्याथी थियो मलाई ।

जयवागेश्वरीबाट सुरु भएको उनको शव यात्रामा मान्छेहरु थपिंदै गए । घरहरुको बार्दलीबाट मानिसहरु अवीर प्याकिरहेका थिए । अबीर उनको शव मै परोस नभए शव राखिएको ट्रकमा त परोस भन्ने जसरी ।

पुरानो बानेश्वर चोकमा हामी हिंडिरहेकाहरु पुग्दा त्यो ट्रकमा राखिएको शव पुतलीसडक पुगिसकेको थियो र हामी भन्दा पछाडि पनि चावेलर्फबाट मान्छेहरु ओइरिरहकै थिए । त्यति बेलाको काठमाडौंको जनसंख्यामा त्यस्तो विधि मानिस ओइरिएको त्यसअघि मैले देखेको थिएन । त्यसमाथि पनि शवयात्रामा- मलामीको रुपमा ।

बसन्तपुर–असन हुँदै कमलपोखरी- गौशाला बाट आर्यघाट तर्फ लागेको त्यो शवयात्राको लर्को साउनको अध्याँरो बादलले ढाकेको साँझमा आर्यघाट पुग्दा अन्धकार भैसकेको थियो । लाखौं मानिसको भीड आर्यघाट वरपर अधीर भएर उभिरहेको थियो । घरी घरी भीडको धकेलाधकेलले मान्छेको पहिरो जान्थ्यो र सम्हालिन्थ्यो । हरेकलाई विपीको शवको नजिक एक पटक पुग्नु थियो ।

प्रजातन्त्रको चिरागलाई दागवत्तिको आगोले विस्तारै छोप्दै गयो । पुरै चिता आगो र धुँवाको कोलाजमा छोपियो ।

म पनि विस्तारै विस्तारै भीडबाट धकेलिंदै बाहिरिएँ र ७-८ घण्टाको उनको अन्तिम यात्राको साक्षी बनेर फर्किएँ ।

मैले लगाएको माथि सम्म आउने हिलवाला छालाको बुट हिलै हिलो भएको थियो र त्यति बेलाको चलन चल्तीको स्किन टाइट सर्ट पसिनाले निथ्रुक्कै भिजेको थियो । म थकित थिएँ तर त्यो ‘मान्छेको महायात्रामा’ सामेल भएकामा गौरव पनि महसुस गरिरहेको थिएँ ।

राती १० बजे मैतिदेवी घरमा पुग्दा ठूल्दाइ राष्ट्रिय पञ्चायत सदस्यको औपचारिक पोसाकमै मलाई पर्खिराख्नु भएको रहेछ ।

“किन ढिला? गयौ की क्या हो?” उहाँले मेरो पसिनाले भिजेको सर्ट तिर हेरे भन्नुभयो ।

“हो “मैले विस्तारै भनें ।

“समात्ला पुलिसले पछि” उहाँले भन्नुभयो ।

“प्रधानमन्त्री पनि त गएका थिए नि ।” मैले डिफेन्स क्रियट गरें ।

“ठीकै गर्यौ । मलाइ जान मिलेन, भएन पनि । तिमी गयौ, ठूलो काम गर्यो । परिवारको त कोही न कोही जानै पर्थ्यो । ठूलो बुबालाई सबै वृत्तान्त चिठ्ठीमा लेखेर पठाउनु । उहाँलाई नबताएर यो कुरा पुरा हुँदैन ।” अर्को पुनर्गठनमा मन्त्री बन्ने तयारीमा ठूल्दाइले गम्भीर स्वरमा मलाई भन्नुभयो ।

“हस्!” मैले टाउको हल्लाएँ ।

फिजिक्स प्राक्टिकल बुकको पानामा मैले त्यस रात नै चिठ्ठी लेँखे बुबालाई १० पेजको । एक एक विवरण सहित । र राती २ बजे मात्रै सुतें ।

भोलीपल्ट रजिष्ट्री गरेर चिठ्ठी हुलाकबाट पठाएँ ।

बुबाले त मलाई भन्नु भएन तर त्यो चिठ्ठी पढ्दै गर्दा बुबाको आँखाबाट भेल बगे जसरी आँसु बगिरहेको थियो रे- पछि परिवारका सदस्यहरुले बताएका थिए मलाई ।

त्यतिबेला, हाम्रो आईएस्सीको बल्ल चौथो समेष्टर चलिरहेको थियो ।