३० बैशाख २०८१, आइतबार

विवाहको सनातन मर्म र बदलिँदो मान्यता

प्रकाशित मिति :  5 September, 2020 10:41 am


उठान

जन्मिएपछि मृत्यु र संयोगपछि वियोग हुनु कुनै अस्वाभाविक होइन तर दुई शरीर एक भएर जीवनपर्यन्त सँगसँगै जिउने वाचाकसम खाएका दम्पतीहरूका सन्दर्भमा छोडपत्र हुनुलाई स्वाभाविक ठान्न सकिँदैन ।

जुनसुकै विधिबाट भएका विवाहमा पनि दम्पतीका बीचमा आफूखुसी छोडपत्रको शृङ्खला बढ्दै जानुलाई हाम्रो परम्पराका सन्दर्भमा अस्वाभाविक मानिन्छ । वर्तमान समयमा कसैको पनि विवाह करकापमा गरिँदैन । बीस वर्ष नपुगीकन गरिने विवाह पनि हाल कानुनविपरीत ठानिने भएकाले आफ्नो जीवनसाथी खोज्न नर वा नारी दुवै परिपक्व भइसकेका हुन्छन् ।

यस अवस्थामा दुवैको मन्जुरीमा खुसीसाथ गरिएका वैवाहिक बन्धनहरू टुट्तै जानु वर्तमान समयको एउटा गम्भीर सामाजिक समस्या हो । जुन दिन विवाह सम्पन्न भयो त्यही दिनदेखि दुःखसुखमा एकअर्काको साथी बनेर जीवनभर सँगसँगै जिउने जीवनपत्रमा दुवैले अघोषित रूपमा हस्ताक्षर गरिसकेका हुन्छन् ।

सहोदर सन्तानमा त कहिलेकाहीँ ठाकठुक पर्छ भने भिन्नाभिन्नै गोत्र र परिवारमा जन्मिएर एउटै परिवारमा जोडिन पुगेका लोग्नेस्वास्नीका बीचमा कहिलेकाहीँ ठाकठुक भइरहनु कुनै आश्चर्यको कुरो होइन । त्यसैले लोग्नेस्वास्नीको झगडालाई परालको आगोसँग तुलना गरेर त्यसलाई क्षणिक ठान्ने गरिन्छ ।

परालको आगालाई भुसको आगोमा परिणत गर्दै गएका खण्डमा कुनै पनि दम्पतीको जीवन सुखमय बन्दैन भने ससाना बालबालिकाहरूको भविष्यसमेत अन्धकारतर्फ धकेलिन्छ ।

तसर्थ कुनै पनि दम्पती पारिवारिक मुद्दाका लागि अदालत धाउनै नपरोस्, अदालत धाएर पनि झगडियाका रूपमा चिनिएर मिलापत्रमा हस्ताक्षर नै गर्न नपरोस् र मिलापत्र पनि गर्न नसकेर छोडपत्र वा त्यागपत्रमा हस्ताक्षर गरेर समाजलाई पारिवारिक विघटनको दुरुत्साहनतर्फ धकेल्नै नपरोस् भनेर वैवाहिक जीवनपत्रका मर्यादाहरूलाई आत्मसात् गर्दै जाने दिशामा हाम्रो समाजको ध्यान आकृष्ट हुनु आवश्यक छ ।

ब्रह्मचर्य व्रतको पालनमा ह्रास

हाम्रा ऋषिमुनिहरूले ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास गरी चार प्रकारका आश्रमहरूको व्यवस्था गरेका थिए । सामान्यतया सय वर्षको आयुलाई चार भागमा समविभाजन गरी पच्चीस वर्षसम्म ब्रह्मचारी भएर ब्रह्मचर्य व्रतमा रहन निर्देशन दिएका थिए ।

विद्याबाट मात्र होइन ब्रह्मचर्य व्रतबाट समेत स्नातक भएपछि मात्र गृहस्थाश्रममा प्रवेश गर्ने अनुमति दिइन्थ्यो । ब्रह्मचर्य व्रत धारण गरेका अवस्थामा स्वप्नमा समेत वीर्यस्खलन भएमा त्यसको पनि प्रायश्चित्त गर्नुपर्थ्यो भने जाग्रत अवस्थामा ब्रह्मचारीको वीर्य स्खलन हुनु व्रतभङ्गमात्र होइन जघन्य अपराधझैँ मानिन्थ्यो ।

वर्तमान समयमा ब्रह्मचर्य व्रतको पालना गर्ने र गृहस्थाश्रममा प्रवेश गर्नुपूर्व नै स्त्रीसंसर्गबाट टाढै रहने युवा पुस्ता भेट्टाउन मुस्किल पर्दै जानु भनेको हामीले आफ्ना सन्ततिलाई स्वसंस्कृतिको ज्ञान गराउन नसक्नु नै मुख्य कारण हो भन्ने कुराबाट हामी पन्छिन सक्तैनौँ । ब्रह्मचर्य व्रतको पालनका बारेमा नवपुस्तालाई सुसूचित गर्न नसकेका कारण पनि वर्तमानमा छोडपत्रको कुसंस्कृति मौलाउँदै गएको हो ।

विवाहपछि मात्र नरनारीमा पूर्णाङ्गता

पच्चीस वर्षसम्म अध्ययन र ब्रह्मचर्य व्रतको पूर्णतः पालना गरिसकेपछि मात्र विवाहका लागि योग्य मानिन्छ । हाम्रा १६ संस्कारहरूमध्ये सबैभन्दा मुख्य र महत्त्वपूर्ण संस्कारका रूपमा विवाह संस्कारलाई लिने गरिन्छ । नारीहरूका लागि व्रतबन्धको व्यवस्था नगरिएकाले विवाह नै उनीहरूका लागि नयाँ जन्म संस्कार मानिन्छ । स्वतन्त्र रूपमा रहेका दुई शक्तिलाई एउटै शक्तिका रूपमा संयोजन गर्ने काम विवाह संस्कारकै माध्यमबाट गरिन्छ ।

परमात्माको दायाँ अंशस्वरूप पुरुष र बायाँ अंशस्वरूप नारी भएर एकात्मक शक्तिको उदय हुन्छ । विवाह भएपछि नारी र पुरुष दुवै शारीरिक रूपमा भिन्नाभिन्नै भए पनि मानसिक रूपमा दुवै एउटै शरीरझैँ मानिन्छन् । त्यसैले विवाहित नारीलाई वामाङ्गिनी भन्ने गरिएको हो र विवाहित नारी वामाङ्गिनी भएपछि विवाहित पुरुष स्वाभाविक रूपमा दायाँ अङ्ग मानिन्छ ।

यसरी विवाहअघि नारी र पुरुष दुवै एक किसिमले अपाङ्गजस्तै हुन्छन् र विवाहपछि मात्र नारी र पुरुषले वास्तविक रूपमा साङ्ग भएको अनुभूति गर्दछन् । छोडपत्रले गर्दा नर र नारी स्वयंलाई मात्र होइन समाजलाई पनि साङ्गबाट अपाङ्ग बनाउँदै जाने कुरा सुनिश्चित छ ।

विवाहको सनातन मर्म

वैदिक सनातन पद्धतिअनुसार विवाहमा सप्तपदीका अवसरमा दुलहीले दुलाहासँग ‘तपाईंले गर्ने सबै किसिमका कर्ममा म वामाङ्गिनी भएर रहनेछु’ भनेर प्रतिज्ञा गरेका हुन्छन् । साथै दुलहीले घरका सबै चीज मेरो अधीनमा रहने छन्, तपाईंको दुःखमा दुखिनी र सुखमा सुखिनी भएर रहनेछु भनेर दुलाहालाई विश्वस्त बनाएका हुन्छन् ।

दुलाहाले पनि आफ्नो मन मेरा मनमा मिलाऊ भनेर दुलहीलाई पत्नीका रूपमा स्वीकार गर्छ । विवाहको नैतिक बन्धनले नारी र पुरुष दुवैका स्वच्छन्द आचरणहरूलाई पनि नियन्त्रण गर्छ । जसले गर्दा गृहस्थरूपी रथका दुवै पाङ्ग्रा निर्बाध, सन्तुलित र मर्यादित रूपमा गुड्न सक्छन् ।
वैदिक सनातन पद्धतिले विवाहमा नारीलाई सात पाइला चाल्न त्यसै निर्देशन दिएको होइन ।

सप्तपदीले नारीलाई घरकी सर्वोत्कृष्ट अधिकारिणी बनाएको हो । सात पाइला हिँडेपछि मात्र दुलही माइतीको गोत्रबाट दुलाहाको गोत्रमा परिवर्तित हुन्छन् । दुलाहा र दुलही दुवैले एकअर्काप्रति आफ्ना हृदयका भावनाहरू एकाकार गराएर अघि बढ्न प्रेरित गर्नका लागि विवाहमा हृदयस्पर्श गर्ने प्रचलन रहेको हो । रातमा विवाह हुँदा ध्रुवतारा देखाउनु भनेको हाम्रो दाम्पत्य जीवन ध्रुवताराजस्तै अटल रहिरहोस् भन्नका लागि हो भने दिनमा विवाह हुँदा सूर्य देखाउनु भनेको हाम्रो दाम्पत्य जीवन सूर्यजस्तै चम्किलो, प्रकाशमय र ज्ञानस्वरूप बन्न सकोस् भन्नका लागि हो ।

अग्निलाई साक्षी राखेर सातपटक अग्निको प्रदक्षिणा गर्नु पनि नवदाम्पत्य जीवन अटुट र सुखमय हुन सकोस् भन्ने कामनाले नै हो । दुलाहा र दुलहीलाई बिदाइ गर्न लावा छर्किने परम्परा पनि त्यसै चलेको होइन । भुटेका लावा जसरी पुनः उम्रन सक्तैनन् त्यसैगरी तिमी दुवै दम्पतीका मनमा कहिल्यै पनि कुनै किसिमका दुर्भावनाहरू नउम्रियून् भन्ने कामना लावा छर्केर बिदाइ गर्ने सबैले राखेका हुन्छन् ।

विवाह गर्दा दुलहीलाई पत्थरमा दाहिने गोडा राख्न लगाइन्छ । तिमी ढुङ्गाझैँ स्थिर हुनुपर्छ, तिमीप्रति नराम्रो चेष्टा गर्ने वा तिमीलाई दमन गर्नेलाई पत्थरजस्तै कठोर भएर दमन गरी आफ्नो कर्तव्यमा स्थिर रहनुपर्छ भन्ने उद्देश्यले दुलहीलाई पत्थर टेक्न लगाइएको हो । अधिकारका नाममा नजानिँदो तरिकाले कर्तव्य छाड्नका लागि भड्काउने तत्त्वहरूप्रति प्रत्येक नारीहरू सचेत हुने हो भने वर्तमानका कसैको पनि दाम्पत्यजीवन दुःखमय हुने थिएन ।

नारीको दायाँ हात छुने अधिकार

विवाहलाई अर्को शब्दमा ‘पाणिग्रहण’ पनि भनिन्छ । ‘हे कन्या ! सौभाग्यको कामनाले म तिम्रो यो दाहिने हात समात्छु, मेरा साथ तिमी दीर्घायु होऊ’ भनेर दुलाहाले दुलहीको दाहिने हातको बूढी औँला समात्ने परम्परा छ । बूढी औँला सृष्टिकर्ता ब्रह्माको प्रतीक मानिएकाले परमात्माको दायाँ अंशबाट उत्पन्न भएको पुरुषले परमात्माको बायाँ अंशबाट उत्पन्न भएकी नारीका दायाँ हातको बूढी औँला समात्ने प्रचलन रहेको हो ।

त्यसैले गर्दा शास्त्रीय मर्यादा बुझेका कुलीन र शिक्षित नारीहरूले वर्तमानमा समेत आफ्नो दायाँ हात कसैलाई छुन दिँदैनन् तर शास्त्रीय मर्यादा नबुझेका र पाश्चात्य संस्कृतिको अन्धानुकरण गर्न मन पराउने नारीले अभिवादनका क्रममा जुनसुकै पुरुषसँग पनि पाणिग्रहण वा हात मिलाउन रुचाउँछन् । जुन प्रचलनबाट अभिवादन होइन स्वसंस्कृतिको गम्भीर अपमान हुँदै गएको कुरा मनन गर्न ढिला भइसकेको छ ।

छोडपत्र किन चिन्ता र चुनौतीको विषय बन्दै छ ?

सनातन वैदिक परम्पराले नियमन गरेका वैवाहिक बन्धनका पर्खालहरू वर्तमानमा दिनानुदिन भत्किँदै छन् । पुराना भएपछि पर्खालहरू आफै भत्कनु अस्वाभाविक पनि होइन तर जानाजान भत्क्याइनु डरलाग्दो कुरो हो ।

पुराना पर्खालहरू भत्काउन उत्सुक र अग्रसर हुनेहरूले पुराना त भत्काइहाले तर नयाँ पर्खाल पनि निर्माण गर्न नसक्ता वर्तमान नेपालका हरेकजसो क्षेत्रमा बेथितिहरू बढ्दै जान थालेका छन् । त्यस्तै बेथिति बढ्दै गएका क्षेत्रहरूमध्ये जीवनभर एकअर्कालाई साथ दिएर दुई पाङ्ग्रा भई एउटै रथ गुडाउने सङ्कल्प गरी एउटै अङ्गका रूपमा एकाकार भएका दम्पतीहरूका बीचमा छोडपत्रको लाइन लाग्न थालेको हो ।

हिजोसम्म महिलाले मात्र छोडपत्रका लागि अदालतमा उजुरी दिन सक्थे भने आजको कानुनले पुरुषलाई पनि छोडपत्रका लागि अदालतको ढोका ढक्ढक्याउने छुट दिएको छ । जसका कारण वर्तमानमा अदालतमा दर्ता हुने मुद्दाहरूमध्ये अधिकांश मुद्दाहरू छोडपत्रसँग सम्बन्धित देखिन्छन् ।

हिजोसम्म छोडपत्रलाई कुसंस्कृति मान्दै आएका कतिपय दम्पतीहरू पनि आज आएर यसैलाई सुसंस्कृति मान्न लालायित देखिनु नेपालजस्तो अल्पविकसित र सनातन वैदिक परम्परामा बढ्ता आश्रित भएका नेपाली नागरिकका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।

मुस्लिम देशहरूको कानुनमा के लेखिएको छ थाहा छैन तर मुस्लिम धर्मका अनुयायीहरूमा लोग्नेले श्रीमतीका सामु तीनपटकसम्म ‘तलाक’ शब्दको उच्चारण ग¥यो भने दुवै दम्पतीका बीचमा छोडपत्र हुन्छ भन्ने सुनिन्छ । विकसित पश्चिमी राष्ट्रहरूमा त छोडपत्रलाई सामान्य रूपमा लिइन्छ होला तर हाम्रो जस्तो अल्पविकसित र परनिर्भर मुलुकमा छोडपत्रको कुसंस्कृति मौलाउनु वर्तमानका लागि मात्र नभएर भविष्यका लागि पनि गम्भीर चुनौती बन्दै जानेछ भन्ने कुरामा कमैको दुईमत होला ।

पारपाचुकेको प्रचलन अनुसन्धेय

नेपालमा छोडपत्रको व्यवस्थाले कानुनी मान्यता कहिलेदेखि प्राप्त ग¥यो ? भन्ने कुरा खोजीपस्ता अवश्य पनि फेला पार्न सकिएला तर हाम्रो नेपाली समाजमा छोडपत्र र यसका पर्यायवाची शब्दहरू कताबाट भित्रिए होलान् ? भनेर फेला पार्न अलि कठिन छ ।

‘नेपाली बृहत् शब्दकोश’ ९२०५८, पृ.७६८० मा ‘पारपाचुके’ शब्दको अर्थ ‘पतिपत्नीका बीचमा गरिने सम्बन्धविच्छेद, पाचुके, स्वेच्छाले गरिने वैवाहिक सम्बन्धको अन्त’ भन्ने गरिएको छ । त्यसैगरी ‘पाचुकी वा पाचुके’ (पूर्ववत्, पृ. ७६०० शब्दलाई नेवारी भाषाको आगन्तुक शब्द मान्दै ‘पारपाचुके गरे बापत लेखिएको कागज, विवाहिता स्त्री र पुरुषले परस्परमा राजीखुसीसँग गरेको वैवाहिक सम्बन्धविच्छेद, पारपाचुके’ भनेर अथ्र्याइएको छ ।

त्यस्तै ‘सम्बन्धविच्छेद’ (पूर्ववत्, पृ.१२४०० शब्दको अर्थ ‘विवाह आदि वा लेनदेन, व्यवहार आदिमा भएको सम्बन्धलाई कारणवश तोड्ने वा विच्छेद गर्ने काम’ भन्ने गरिएको छ ।

त्यसरी नै ‘छोडपत्र’ (पूर्ववत्, पृ.४३५० शब्दको अर्थ ‘कुनै वस्तु वा सम्पत्तिप्रतिको आफ्नो अधिकार त्यागे बापत गरिने कानुनी कागज, त्यागपत्र वा छुटानाम र पारपाचुके’ भन्ने उल्लेख गरिएको छ । यसैगरी ‘नेवार–नेपाली–अङ्ग्रेजी शब्दकोश’ ९२०५४, पृ.२३१–२३२० ले ‘पाचुके’ शब्दलाई सम्बन्धविच्छेद गर्नु, ‘पारकाये’ शब्दलाई श्रीमतीद्वारा सम्बन्धविच्छेद गर्नु र ‘पारबिये’ शब्दलाई स्वास्नीसँग सम्बन्धविच्छेद गर्नु भनेर अथ्र्याइएको छ ।

नेपाली र नेवारीबाहेकका अन्य भाषाभाषीका लिखित वा मौखिक परम्परामा ‘छोडपत्र’लाई के–कसरी चिनाउने गरिएको छ र तिनमा छोडपत्रको पर्यायवाची शब्दको जेठो इतिहास कुन छ भन्ने कुरा अनुसन्धानकै विषय हुन सक्छ र त्यसको ढोका उघार्ने काम आगामी दिनमा कुनै न कुनै शोधार्थीले अवश्य गर्लान् ।

अहिले भने नेपाली र नेवारी दुई भाषाभाषीको तुलनात्मक अध्ययन गर्दा छोडपत्रलाई बुझाउन नेपालीमा ‘पारपाचुके’ शब्द नै जेठो र समर्थवान् ठहरिन्छ । त्यसमा पनि नेवारी भाषामा पति र पत्नीले छोडपत्र लिँदा छुट्टाछुट्टै शब्दको प्रयोग हुनुले समेत नेवारी परम्परामा पारपाचुकेको प्रचलन कहिलेदेखि प्रारम्भ भए होला रु भन्ने कुरा अनुसन्धेय नै देखिन्छ ।

बैठान

अभिभावक नै वास्तविक अभिभावक बनेर गरिने विवाहभन्दा पनि वर्तमानमा अभिभावक केवल साक्षी बनेर जन्ती गइदिनुपर्ने घोषित वा अघोषित प्रेमविवाहको प्रचलन बढ्दै जाँदा धेरैजसो नवदम्पतीहरूको जीवन सुखमय नै बन्न पुगेको देखिन्छ भने कतिपयको वैवाहिक जीवनमा विवाह भएको केही महिना वा केही वर्षभित्रै छोडपत्रको समस्या देखिन पुगेको पाइन्छ ।

त्यसैले यसको समाधानका लागि अभिभावक मात्र होइन विवाह गर्ने जोडीहरूले पनि विवाहपश्चात् छोडपत्रको समस्या ननिम्तियोस् भनेर पहिल्यै निकै विचार पुऱ्याउनुपर्ने र त्यसका लागि अग्रजहरूका साथै छोडपत्र गरिसकेका व्यक्तिहरूसँग पनि परामर्श लिएर सचेत हुनु जरुरी छ ।

जसका कारण नवजात र नाबालक सन्ततिहरूसमेत छोडपत्रका कारण बिचल्लीमा पर्नबाट जोगिन सक्नेछन् र छोडपत्रको कुसंस्कृति होइन ‘मारे पाप पाले पुण्य’ को वाचासहित जीवनपर्यन्त दाम्पत्य जीवन सुखमय पनि हुन सक्नेछ । वैदिक सनातन पद्धतिमा एकपटक मात्र कन्यादान दिइने प्रचलन रहेको र सुखद दाम्पत्य जीवनको शब्दकोशमा सम्बन्धविच्छेद, छोडपत्र, पारपाचुकेजस्ता कुनै पनि शब्दको अस्तित्व नभेटिने भएकाले पनि पतिपत्नीका बीचमा छोडपत्र होइन मिलापत्र गराउने दिशामा समाजका अगुवा, प्रबुद्ध वर्ग र न्यायिक क्षेत्रको समेत सक्रिय तत्परता बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस !