१२ बैशाख २०८१, बुधबार

सिद्धार्थ करिडोर व्यवस्थित र गतिशील बनायौँ भने २५/३० स्थानीय तहलाई फाईदा हुन्छ : मेयर शाही

प्रकाशित मिति :  26 September, 2020 11:40 am


पाल्पाको तानसेन नगरपालिका सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण नगरपालिका हो । पर्यटकीय दृष्टिले प्रदेश ५ कै महत्वपूर्ण ठाउँ समेत मानिन्छ, तानसेन । यो नगरपालिकाले उद्यम गर्न चाहनेलाई बैंक मार्फत बिनाधितो ऋण उपलब्ध गराएर सफतापूर्वक कार्यक्रम अगाडि बढाएको छ जसलाई नमुना योग्य कार्यक्रम भनिएको छ । नगरपालिकाले सिद्धार्थ हाईवेलाई आधार मानेर सिद्धार्थ करिडोरलाई गतिशील बनाउनुपर्ने आवाज समेत उठाईरहेको छ । यस करिडोरलाई छुने १५ वटा स्थानीय तहको भेला गरेर घोषणापत्र समेत जारी भएको छ । विकासमा नयाँ तरिका अपनाउने नगरप्रमुखको दाबी छ । यसै सन्दर्भमा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले लुम्बिनी सञ्चारसँग आफ्नो लक्ष्य, अहिलेसम्म  गरेका काम  तथा भावी योजनाबारे लामो कुराकानी गरेका छन् । प्रस्तुत छ मेयर शाहीसँग गरिएको कुराकानीको संपादित अंश:

कोरोना महामारीको अवस्था छ । यो संकटलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

यो महामारीसँगै हामीले हाम्रा कृयाकलापलाई अगाडि बढायौँ । तीनवटा तहबाट कार्यक्रम बनाएका थियौँ । पहिला प्रचारात्मक कार्यक्रम  बनायौँ ।

यो कोरोना के हो ? सामान्यतया कस्तो तरिका अपनाउदा बँच्न सकिन्छ ? केके उपायहरु अपनाउने भन्ने विषयमा नर्सिङ एशोसियसनसँगको सहकार्यमा टोलटोलमा अभियान चलायौँ । नगरपालिका स्वयंंपनि यसबारे जानकारी हुनुपर्छ भनेर नगरपालिकाका सबै शाखा प्रमुख र सबै प्रतिनिधिहरुलाई राखेर हामीले युनाइटेड मिसन अस्पतालको सहकार्यमा कक्षा लियौँ र दोस्रो पटकपनि त्यसरी नै कक्षा लियौँ । हामीले सुरुमा नै नगरपालिकाका सबै बाटाघाटाहरु ‘डिसन्फेक्ट’ गर्यौँ ।

यतिले मात्रै नपुग्ने स्थिति भइसकेपछि नगरपालिकासँग जोडिएका अरु स्थानीय तहहरुमा पनि महामारी फैलियो भने त्यसको नियन्त्रणका लागि हामीले सघाउने भनेर मिसन अस्पतालसँग एउटा सम्झौता गर्यौँ । अहिलेसम्म कसैले सहयोग भने मागेको छैन ।

भारतसँगको सीमाना खुल्ला भइसकेपछि मान्छेहरु आउन थाले र त्यसमा हामीले व्यवस्थापनमा ध्यान दिनुपर्ने भयो । सुरुमा दुईवटा तीनवटा क्वरेन्टाइन खोल्यौँ । खोलीसकेपछि धेरै विषेशज्ञहरुले के सल्लाह दिनुभयो भने एकै ठाउँमा क्वारेन्टाइनमा राखिसकेपछि आज आउने मान्छेपनि त्यहिँ, भोली आउने मान्छेपनि त्यहिँ । क्वारेन्टाइनबाटै त्यो रोग विष्फोटक बन्न सक्छ भनेपछि हामीले छलफल गर्यौँ र यसलाई सानासाना युनिटमा लैजान पर्छ भनेर सामुदायिक क्वारेन्टाइनको अवधारणा ल्याएर टोलटोल वस्तीवस्तीमा क्वारेन्टाइन स्थापना गर्यौँ ।

२५ वटा स्कूलहरु, ४ वटा सामुदायिक भवनहरु, ६ वटा यहाँबाट बसाई सरेर गएका घरहरु अनुमति लिएर ३५ वटा क्वारेन्टाइन सञ्चालन गर्यौँ । यो सञ्चालनको कारणले गर्दा सुरु नै कोरोना त्यति फैलन पाएन । अरु स्थानीय तहलाईपनि सघाउ पुगोस् भनेर होल्डिङ क्वारेन्टाइन बनायौँ । भारतबाट मान्छे दिनको ४,५ गाडीसम्म आउँथे ।

होल्डिङ क्वारेन्टाईनमा राखेर जुनजुन जहाँको हो त्यही पठाईदिने जिम्मेवारी तानसेन नगरपालिकाले लिएर अगाडी बढ्यौँ । त्यसपछि नेपाल सरकारको मेडिकल प्रोटोकलमा एउटा आइसोलेसन पनि खोल्ने भइसकेपछि सुरुमा नगरपालिकाको लागि भनेर खोल्यौं, मिसन अस्पतालसँगको सहयकार्यमा । त्यसपछि त्यतिले पुग्दैन फेरि खोल्नुस् भनिसकेपछि अर्को दुईटा आइसोलेसनपनि हामीले खोल्यौँ । जुन नगरपालिकाले खोलेको अध्यवधिक रुपमा चलेको छ । अरु चलेको छैन ।

लकडाउन सुरु भइसकेपछि तुरुन्तै असर पर्ने खालका समुदाय जो गरिखाने वर्ग छ उनीहरुलाई समस्या परेपछि हामीले निःशुल्क राहत वितरण गर्यौँ । त्यसपछि सुपथ मूल्यको राहतहरु वितरण गर्नेकामहरु गर्यौँ । यसमा हामीले नगरपालिकाबाट मात्रै ५ हजार परिवारलाई राहत दिने काम गर्यौं र अहिलेपनि हामीले एकल महिलाहरु छन्, सुत्केरी महिलाहरु छन् र फोन गर्नुभयो भने राहत उपलब्ध गराउने कामहरु गर्दै आइराखेका छौँ । सँगसँगै हामीले के अध्ययनन गर्यौँ भने,यो कोभिड—१९ आउँछ जान्छ तर यसले केके असर पार्छ ?

छलफल गर्दा एउटा कृषिमा असर पर्ने देखियो । रोजगारीमा असर पर्ने देखियो र सानासाना व्यवसायीहरुलाई असर पर्ने देखियो । यो दिशामा काम गर्नुपर्छ भनेर सुरुमा हामीले बीउबीजन युद्धस्तरमा वितरण गर्यौं । जस्तै धानको बीउ मकैको बीउ… ।

मेयर साप ! तपाईंहरुले के के कार्ययोजना बनाउनुभएको छ भन्ने विषयमा एकपछिनपछि छलफल गरौँला नै । स्थानीय तहमा तपाईंहरुले कोरोना संकट समाधानका लागि छलफल वा काम गरिरहँदा प्रदेश सरकारसँगको समन्वय कस्तो रहयो र अहिले कसरी समन्वय तथा सहजिकरण भइरहेको छ ?

हामीले यी कामहरु गर्दा लगभग डेढ करोड, पौने २ करोड रुपैयाँ जति लगानी गर्यौँ । त्यसमा प्रदेश सरकारबाट १० लाख रुपैयाँ हामीलाई प्राप्त भएको थियो । अरु यहाँका स्थानीय दाताहरुलाई सहयोग मागेर काम गर्यौँ ।

समन्वयको कुरा गर्ने हो भने नीतिगत हिसाबले राम्रै सहजीकरण भएको हो । अरु समस्याको विषयमा हामीले पटक पटक कुरा उठाउनुपर्ने अवस्था रहयो । पीसीआर परीक्षण केन्द्रको कुरा गरेका थियौं त्यो अहिले पुरा हुँदैछ । अरु जुन किसिमबाट सबै चलायमान गराउनुपथ्र्यो त्यसमा हाम्रो समन्वय हुनुपर्छ भनेर हामीले कुरा गरेका थियौँ । आर्थिक पाटो भन्दा अरुमा हाम्रो राम्रै सम्बन्ध रहयो । नीतिगत हिसाबले काम गर्ने, छलफल हुने नियमित सम्पर्क हुने भएका थिए ।

कोरोना महामारी संकट व्यवस्थापन स्थानीय तहबाट राम्रो भयो पनि भन्नुभयो । समन्वयपनि भएको देखिन्छ र पाल्पामै पीसीआर परीक्षण गर्ने अवस्थासम्म बनिसक्यो । जुन महामारीबाट प्रभावित भएका र दिर्घकालीन रुपमा असर गर्ने खालको जुन स्थिति बन्यो त्यसका लागि कार्यजोजनाहरु कस्तो बनाउनुभएको छ र व्यवस्थापन कसरी गर्ने सोंच बनाउनु भएको छ ?

हामीले दुईवटा कार्यक्रम अगाडी सारेका छौँ । एउटा ‘पोष्ट कोभिड’ कार्यक्रम भनेर बजेटै विनियोजन गरेका छौँ । त्यसको उद्देश्य के हो भने मैले माथिपनि भनेँ जुन सानासाना व्यसायीहरु धरासयी बनेका छन्,उनीहरुलाई अलिकति सहयोग गर्ने,यसपछि यहिँ आन्तरिक र बाहिरी रोजगारी गुमाएका मान्छेहरु छन् उनीहरुलाई व्यवसायिक काममा लगाउने ।

त्यसो भनेको चाहिँ एउटा के हुनसक्छ भने उनीहरुलाई सामान्य काउन्सिलिङ हुनसक्छ । उनीहरुलाई आर्थिक सहयोग पनि हुनसक्छ । तालिम पनि हुनसक्छ । यो काम गर्ने भनेर केही केही सहयोगि संस्था खोजेर कोभिड प्रतिकार्य कार्यक्रम हामीले सुरुपनि गरिसकेका छौँ । जस अन्तर्गत युवाहरुलाई बैंकमा नगरपालिका जमानी बसेर ऋण दिने, उहाँहरुलाई तालिम दिने, उद्योग स्थापना गर्ने, ससाना व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने कार्य हामीले गरेका छौं । यसले पनि धेरै मान्छेहरुलाई राहत भएको छ ।

अर्को युनिट के बनाएका छौँ भने विदेशबाट फर्किएकाहरुका लागि योजना बनाएर कोको फर्किएका छन् ? उहाँहरु कति बस्न चाहनुहुन्छ । उहाँहरुले के गर्न चाहनुहुन्छ ? भनेर यो बारेमा अन्तराष्ट्रिय रुपमै अनलाईन सर्भेपनि गर्यौँ ।

त्यसमा अधिकांश त्यहाँ रोजगारी गुमाएर फर्किएका वा कोभिडका कारण डरले फर्केकाहरुको मनसाय यहाँको स्थानीय, प्रदेश वा संघीय सरकारले उपयुक्त वातावरण बनायो भने आफ्नो जन्मभूमिमै बस्ने भन्ने अध्ययनका क्रममा देखिसकेपछि उनीहरुलाई ‘रिटेन’ गर्न हामीले के के गर्नुपर्छ भनेर छलफल गर्यौं र त्यसका लागि एउटा तालिमको प्याकेज, व्यसायमा लगाउने प्याकेज, उत्पादनलाई बजारसम्म लैजाने प्याकेजको रुपमा तयारी गरेका छौँ । त्यसको पहिलो चरणमा लकडाउनको बेलामा कृषि एम्बुलेन्स भनेर जनताको उत्पादनलाई बजारसम्म पुराउने काम गर्यौँ र हामीले त्यो प्रयोग गरिसकेपछि स्थानीय सहकारीलाई हस्तान्तरण गर्यौं ।

त्यो आजको दिनसम्म पनि चलिराखेको अवस्था छ । समग्रमा लक्षित वर्ग,प्रभावित वर्गहरुलाई लक्षित गरेर उनीहरुलाई आर्थिक, तालिमको रुपमा, काउन्सिलिङको रुपमा जे तयारी गर्नुपर्छ जुन बजेटको हिसाबमा, नीतिका हिसाबमा, कार्यक्रमको हिसाबमा हामी तयारी भएर बसेका छौँ र कार्यक्रम पनि अगाडि बढिरहेको छ ।

व्यवसाय सञ्चालका लागि नगरपालिका जमानी बसेर बैंकबाट ऋण उपलब्ध गराउने योजना भन्नुभयो, त्यो कस्तो खालको योजना हो ?

हामीले नेपाल बैंकमा ग्यारेन्टी भनेर १ करोड रुपैयाँ राखिदिएका छौँ । नेपाल बैंकसँग हाम्रो एउटा सहमति छ, हामीले जति पैसा राखेका छौँ त्यसको चार गुणा बराबरको ऋण दिने । ऋण दिँदा विनाधितो हुन्छ तर हामी जमानी बस्नुपर्छ । अहिलेसम्म ११०/११२ जनालाई त्यो ऋण गईसकेको छ । यो माछा पालनमा गएको छ । फ्लोरी कल्चरमा गएको छ । कसैले गाई बाख्रा पालन गरिराखेको छ । त्यस्तै बंगुर पालन,कुखुरा पालन भनेर गएको छ । अब हामीले अलिकति बढी अरु कामहरुमा पनि तालिम दिएर राखेका छौँ र तालिम दिएकाहरुलाई फेरि हामीले व्यवसायीमा लगाउने जसमा फर्निचर, बाँस फर्निचरको तालिम दिएर सकिसकेको छ ।

डेरी उत्पादनको तालिम दिएर सक्किसकेको छ । यसरी हामीले उहाँहरुलाई नीतिगत रुपमा मात्रै होईन,आश्वासन मात्रै होईन आर्थिक रुपले पनि नगरपालिकाले आफै जमानी बसेर एउटा ऋण लिईदिने र ऋण नचाहिनेलाई बजारको व्यवस्था गरिदिने, कतिपयलाई तालिमको व्यवस्था गरिदिने, स्रोतहरु जुटाईदिने खालका कामहरु चाहीँ हामीले गरिरहेका छौँ ।

तपाईंहरुले गरेको व्यवस्था अनुसार एउटा व्यक्तिले कतिसम्म बिनाधितो ऋण पाउन सक्छन् ?

हामीले बढीमा १० लाख रुपैयाँसम्म दिएका छौँ । तर, कम्तिमा प्रोजेक्टको आकार हेरेर २ लाख,३ लाख रुपैयाँसम्म दिएका छौँ । अधिकांशको ५ लाख रुपैयाँ छ । यति नै भन्ने छैन । सार्है राम्रो कार्यक्रम, साह्रै राम्रो प्रोजेक्ट छ भने १० लाख रुपैयाँ पनि दिएका छौँ । हामी के गर्छौँ भने म काम गर्छु,म कुनै ठाउँमा रोजगारी गर्छु भनेर आयो भने तपाईंको अवधारणा के हो ? बताउनुस् भन्छौं । उनीहरुले अवधारणा बताईसकेपछि एउटा प्रस्ताव बनाउनुस् भन्छौँ ।

त्यो प्रस्ताव विशेषज्ञहरुसँग राख्छौँ । विज्ञहरुले प्रस्ताव बनाइदिन पनि सिकाईदिनुहुन्छ । अन्तरकृयाको क्रममा कुनै व्यक्ति एकदमै नयाँजस्तो लाग्यो भने उहाँहरुलाई तालिम सञ्चालन गरिदिन्छौँ । त्यसपछि उसले आँटेको व्यवसायमा कति खर्च लाग्छ ? त्यसमा हाम्रो टिमले बैंकको समेत प्रतिनिधि बसेर छलफल गर्छ र यतिसम्म लाग्छ यो प्राजेक्टलाई भनिसकेपछि त्यसै अनुसार हामी दिने गर्छौ ।

प्रदेश ५ सरकारले पनि कोभिड प्रभावित भनेर कृषि सम्बन्धि कार्यक्रमका लागि भनेर रकम उपलब्ध गराउने र स्थानीय तहबाटै वितरण गरेको छ । त्यो भन्दो यहाँहरुको कार्यक्रममा फरकपन के हुन्छ ? तपाईंहरुले बिनाधितो जुन रकम दिनुहुन्छ त्यो फिर्ता कसरी हुन्छ ? डुब्न सक्ने खतरा रहँन्छ कि रहँदैन ? यसको जोखिम व्यवस्थापन कसरी गर्नु भएको छ ?

एउटा कुरा यसको बिमा गरेका छौँ । अर्को कुरा हामीले ऋण दिदाखेरी तानसेन नगरपालिका अन्तरर्गत लगभग २ सयको हाराहारीमा टोल विकास संस्थाहरु छन् । हामीले उहाँहरुलाई एउटा साछी राख्छौँ,एउटा सामाजिक ग्यारेन्टीको रुपमा । सामाजिक ग्यारेन्टीको मतलव ऋण तिर्न सकेन भने सामाजिक संस्थाले तिर्नुपर्छ भन्ने होईन । सामाजिक ग्यारेन्टी भइसकेपछि त्यसमा तीन तहको अनुगमन हुन्छ ।

एउटा ग्यारेन्टी बस्ने सामाजिक टोल विकास संस्थाहरुले अनुगमन गर्छन् । त्यसपछि हाम्रो नगरपालिकाको सम्बन्धित फाँटले अनुगमन गर्छ । त्यसपछि बैंकले अनुगमन गर्छ । यसो गर्दा हाम्रो त्यस्तो डुब्ने स्थिति छैन । अहिलेसम्म उनीहरुले समयमा नै ब्याज तिरेको अवस्था छ । एउटा केसमा ब्याजको ‘साइकल’ बिग्रेको थियो । त्यो पनि ट्रयाकमा आएको छ ।

विगतमा के देखियो भने ऋण आफ्नो मान्छेलाई दिने, अनुगमन नगर्ने भइसकेपछि जिम्मेवारीपन कम हुँदोरहेछ । तर, हामी पटकपटक अनुगमनमा गइसकेपछि व्यसायमा पनि उसले गरेको प्राजेक्टमा पनि केही कमी छ भने त्यसमा सुधार आउने भयो । हामीले प्राविधिक सहयोग गछौँ । यहाँ यस्तो भयो भन्छौँ र राम्रै गरेकोे छ भनेपनि उनीहरुलाई हौसला हुन्छ ।

हामीले के भनेका छौँ भने ऋण लिएर ब्याज हरेक एक साईकल पुरा गरिसकेपछि उसले जति ऋण लिएको छ त्यो भन्दा अलि बढी ऋण दिने व्यवस्था गरेका छौँ । त्यसकारण उत्साहपूर्वक विश्वास जित्नुपर्छ भन्ने छ । भोली के हुन्छ मैले भन्न सक्दैन । अहिलेसम्म हाम्रो अभ्यास जुन अपनाएका छौँ त्यसले राम्रै गरेको छ ।

यो कार्यक्रममा विदेशबाट फर्किएका व्यक्तिमात्रै सहभागि हुन्छन् कि स्थानीय तहमा उद्यमशीलता गरिराखेका तर कोभिड—१९ का कारण प्रभावित भएका व्यक्ति पनि हुन्छन् ?

यसमा दुई तह राखेका छौँ । एउटा विदेशबाट फर्केका युवाहरु र महिलाहरुलाई हामीले उमेर हेरेका छैनौँ । दलितहरुका लागि पनि उमेर हद राखेका छैनौँ । यसमा बाहिरबाट आउने र यहिँँकापनि रोजगारी गुमाएका, उद्यमशीलता भएका तर पैसा नभएकाहरुलाई हामीले ट्रयाकमा लिइराखेका छौँ । त्यति मात्रै होईन कतिपय साह्रै पछाडी परेका सिंगो समुदायलाई जोड्ने प्रयास जारी राखेका छौँ। जस्तै छेर्लुङमा बोटे वस्ती छ उनीहरुको केही पनि थिएन ।

त्यो सिंगो समाजलाई नै जोड्नका लागि एकीकृत कार्यक्रम चलाईरहेका छौँ । बाख्रा पालनका लागि अनुदान दिएका छौँ । खोर बनाईदिएका  छौँ । सामुहिक माछा पालनका लागि पोखरी बन्दैछ । शिक्षाका लागि कार्यक्रम लगिरहेका छौँ र हामी नजिकबाट के हेर्दैछौँ भने एक्लाएक्लै गर्नु र समुदायमा एकैचोटी गर्दाखेरी के फरक पर्छ ? उनीहरुको समुदायको लागि आर्थिक उन्नती, सामाजिक स्तर परिवर्तन गर्न सकिन्छ कि सकिन्न ? हेरिरहेका छौँ ।

अर्को दुईवटा समुदायमा आन्तरिक दर्ता गरेर सकियो । जुत्ता बनाउने दलित समुदाय जो अन्त जुत्ता बनाउने तर आफूलाई केही नहुँने । त्यो समुदायको समूह गठन गरेर केही अनुदान केही ऋण प्रवाह गरेर उद्यमशीलतामा ल्याउँदैछौा । तेस्रो, विश्वकर्मा जातिहरु जसले भाँडा बनाउन अर्काको काम गर्ने र आफू सून्यमा हुने ।

उनीहरुको पनि समूह दर्ता गरेर समूहगत एउटा उद्यमशीलता जसमा मोटामोटी ५०/६० प्रतिशत हाम्रो अनुदान हुन्छ । अनुदान मात्रै भयो भने मान्छेलाई माया हुन्न भनेर हाम्रो जमानीमा केही ऋण हुन्छ । र, फरक के छ भने यि अति विपन्न वर्गका लागि हामी ग्यारेन्टी बसेर ऋण दिने मात्रै होईन साइकल अनुसार तिरे भने सबै ब्याज पनि हामीले फिर्ता दिने, थप सुविधाहरु उहाँहरुलाई दिने ।

यो हिसाबले हामीले लगिरहेका छौं । यसरी मलाई के लाग्छ भने कतिपय काम हामीले प्रगति विवरण देखाउनका लागि मात्र गर्यो भने बिग्रन सक्छ । त्यसको सँगसँगै यो निरन्तर रहनुपर्छ, अरुले पनि सिको गर्ने हुनुपर्छ, एउटा सामाजिक परिवर्तनको माध्यम हुनुपर्छ भन्ने खालको सोंच राख्ने हो भने त्यसमा असफल हुने सम्भावना न्यून हुँदै जान्छ । त्यो आफ्नो कृयाशीलतामा भरपर्छ । हामीले जुन ठाउँमा कार्यक्रम लगेका छौँ त्यो ठाउँको मान्छेलाई कति उर्जाशील बनाउँछौँ त्यसमा भर पर्दोरहेछ । त्यसले गर्दा म यसमा विश्वस्त छु कि साह्रै दैवीय पर्यो भने त केही केही डुब्ला पनि नत्र भने त्यो हाम्रो डुब्ने खतरा छैन ।

त्यसो हो भने तानसेन नगरपालिका अहिलेको महामारीसंग जुधेर व्यवस्थापकीय हिसाबले एककिसिमबाट उठ्न सक्छ भनेर बुझ्दा हुने भयो ?
सामान्यतया भन्ने हो भने यसको ‘साइड इफेक्ट’बाट हामीले त्यसलाई ट्रयाकमा ल्याउनका निमित्त हाम्रो क्षमता हाम्रो बलबुता र स्रोतले भ्याएसम्मको तयारी गरेका छौँ । हुनसक्छ महामारी हामीले सोँचेभन्दा ठूलो भयो भने असर गर्ला नत्र अहिले जुन अनुपातमा छ त्यै अनुपातलाई हामीले हाम्रै स्रोतबाट पार लगाउन सक्छौँ । अहिलेसम्म जतिसक्छौं नियन्त्रणपनि गर्दै आएका छौँ र यसलाई व्यवस्थापन गर्न सक्छौँ भन्ने मलाई लाग्छ ।

तपाईंहरुकै कार्यकालमा यो महामारी आयो र यसको व्यवस्थापन पनि गर्दै आउनु भएको छ । समग्रमा तपाईं निर्वाचित भएर आएपछि आजसम्म भएको गतिविधिको मुल्याङ्कन पनि गर्ने बेला भयो । अब त विस्तारै अर्को चुनावतिर हेर्नेबेला पनि भयो । आजका दिनसम्म तानसेन नगरपालिकामा आइसकेपछि कति काम गरेको जस्तो लाग्यो ? तानसेन नगरवासीले अनुभूति गर्नेगरि र अरुले अनुकरण हुने गरि के के काम भए ?

योे मुल्याङ्कन गर्ने जिम्मा हामीले जनतालाई दिनुपर्छ र तपाईं सञ्चारकर्मीहरुलाई दिनुपर्छ । तर मैले आफ्नो व्यक्तिगत ढंगले हेर्दा, आत्मसमिक्षा गर्दा के लाग्छ भने हामीले गर्नुपर्ने धेरै रहेछ । तथापी के रहेछ भने हाम्रो प्रयासहरु सकारात्मक रहेकी रहेनन् ? सकारात्मक शैलीमा गएको छ कि छैन ? हामी निर्माण तर्फ गएका छौँ  कि जहाँको त्यहीँ छ ? भन्ने कुरा रहयो ।

त्यो हेर्दा हाम्रो स्रोतको कुरा, हामीसँग भएका जनशक्तिका कुरा, क्षमताको कुरा हेर्ने हो भने हामीले गरेका कामहरु त्यति साह्रै नै कम भएको जस्तो छैन । तथापी गर्नुपर्ने काम धेरै छन् । यसमा मलाई के लाग्छ भने स्थानीय तहले मात्रै सक्दैन ।

यसमा प्रदेश, संघले पनि त्यतिकै ढंगले यो स्थानीय तहको, स्थानीय समुदायको, एउटा व्यक्तिको पनि समस्या समाधान गर्नका लागि त्यै अनुसारको नीति त्यै अनुसारको कार्यक्रम, त्यै अनुसारको स्रोतहरु भयो भने अहिलेको प्रणालीबाट हामी जाँदा धेरै काम गर्न सकिने अवस्था रहन्छ । अहिलेसम्म हेर्दा के देखिन्छ भने हाम्रो स्रोत अनुसार जति गरेका छौँ त्यो ठिक छ । त्यति गर्न नसकिएको अथवा अलोचना गर्नुपर्ने अवस्था छैन ।

यहाँले प्रदेश र संघको सहयोगको कुरा गर्नुभयो तर स्थानीय तहका पनि आफ्ना सपना हुन्छन् । तपाईं मेयर निर्वाचित हुँदा मेरो नगरपालिकालाई वा क्षेत्रलाई यस्तो बनाउछु भनेर जुन प्रतिबद्धता जनाउनुभएको थियो । मुल्याङ्कन त आम जनताले गर्लान तर तपाईले गरिरहेका काम त तथ्याङले पनि देखाउला नि मैले यति गरेछु है भन्ने त ? अलोचना गर्ने पंक्ति त पक्कै छ उनीहरुले उठाएका प्रश्नको जवाफ दिन तथ्याङ्क त होला नी ?

यहाँले ठिक कुरा उठाउनुभयो । आलोचना गरेन भने मान्छेको प्रगति हुँदैन । समिक्षा गर्नुपर्छ । तर, आलोचना गर्दा के भने अगाडी बढेस भन्ने अभिप्रेरित हुने खालको आलोचना हुनुपर्छ ।

जहाँसम्म हामी निर्वाचित हुँदाखेरीको कुरा हो, तानसेन नगरपकालिकाको भुगोल यहाँको स्थिति, यहाँको जनचाहना र यहाँको सम्भावना हेर्दा हामीले एउटा पर्यटकीय नगरको रुपमा विकास गर्ने, एउटा आत्मनिर्भर नगरको रुपमा विकास गर्ने, त्यसका निमित्त यहाँको जुन भौतिक पूर्वाधारहरु छन्, ऐतिहासिक धरोहरहरु छन् त्यसलाई संरक्षण पुर्ननिर्माण लगायतका कुराहरु गरेर हामीले एउटा भावी पुस्तालाई अलिकति नविकरण गरिएको तानसेन हस्तान्तरण गर्न चाहन्छौँ ताकि यसले यहाँको जनताले, यहाँको आवश्यकताले एउटा पर्यटकीय नगर, पर्यटन भनेको छ । पर्यटनमैत्री होस भन्ने हामीले सोंचेका थियौँ ।

त्यसमा हामीले विविधताको प्रयास, साँस्कृतिक पर्यटन, कृषि पर्यटनका कुराहरु,अर्को प्रकृतिको कुरालाई जोड दिएका छौँ । त्यसलाई कुन ‘सेगमेन्ट’मा लग्ने भन्ने सवालमा हाम्रो के थियो भने तानसेन नगरपालिका स्वयंमा एउटा ऐतिहासिक, पुरानो नगरहरुमध्य भएको र यसको आफ्नै ऐतिहासिक महत्व,आफ्नै किसिमको सँस्कृति,आफ्नै किसिमको परम्परा, प्राकृतिक सुन्दरता भएको हुँदा एउटा साँस्कृतिक पक्षलाई जगेर्ने गर्नुपर्छ भने अर्को कृषिलाई आत्मनिर्भर बनाउनुपर्छ ।

यहाँको भुगोलले के अनुमति दिँदैन भने ठूलठूला मेघा प्रोजेक्टहरुको सपना बाँडेर केही सम्भावना छैन । त्यसैले कृषि आधारित उद्यमशीलतालाई विकास गर्ने,कृषिलाई आत्मनिर्भर मात्रै होईन निर्यात पनि गर्न सकिने स्थिति बनाउने भन्ने खालको हाम्रो सोंच थियो र त्यसैमा केन्द्रीत भएर हाम्रा योजनाहरु नीतिहरु कार्यक्रमहरु बनाएका थियौँ । पहिलो वर्षमा हामीले के सोंच्यौँ भने विकासको जतिसुकै कल्पना गरेपनि, सपना देखेपनि विकासको सबैभन्दा पहिलो कुरा बाटो हो ।

बाटो भनेको भौतिक कुरामात्रै होईन भावनात्मक कुरापनि हो भनेर पहिलो वर्ष सडक निर्माण वर्षको रुपमा मनायौँ । हाम्रो उद्देश्य नगरपालिकाको मुख्य प्रशासकीय भवनबाट हरेक वडामा गाडीमा चढेर त्यहाँसम्म पुग्न सकियोस् त्यो जोडिनुपर्छ भन्ने रहयो । किनभने नगरपालिकामा आउँदा, वडा कार्यालयबाट यहाँसम्म आउँदा पनि समस्या हुनहुँदैन भनेर बाटो निर्माण गर्यौं ।

अर्को कुरा हाम्रो ध्यान केमा केन्द्रित गर्यौं भने नगरपालिकालाई ऐतिहासिक नगर त भन्थ्यौं तर हाम्रो पहिचानहरु गुम्दै गइराखेको अवस्था   थियो । यहाँको मठमन्दिरको कुराहरु भयो, सडकहरु देख्नुभयो भने पुरानोपन खतम भइसकेको थियो । ऐतिहासिक रुपमा त्यसलाई पुर्नताजगी गर्ने भन्यौं । जसअन्तर्गत तीनवटा मन्दिरको जिर्णोद्धार, त्यसपछि पित्तलको छानो छाउने गर्यौं भने मुख्य क्षेत्रमा परम्परागत शैलीको देखाउनुपर्छ भनेर ढुंगा विछ्याउने काम गर्यौं ।

त्यसको सँगसँगै पर्यटनका लागि हामीले छुट्नैै शाखा नै बनाएर ‘टुरिजम एक्सन कमिटी तानसेन’ भनेर पर्यटनको विस्तृत योजना,खाकाहरु तयार पारेर हामी अगाडी बढिराखेको सन्दर्भ छ र अहिलेसम्म आउँदा हामी के स्थितिमा पुगेका छौं भने प्रत्येक वडामा हामी यहाँबाट गाडी चढेर जाने स्थिति छ । दोस्रो हाम्रो पुरातात्विक महत्वका विषयहरुको संरक्षणमा हामी अगाडी बढरिहेका छौं ।

भगवती मन्दिरका लागि कुरा चलिराखेको छ । तेस्रो, हामी आउनुभन्दा पहिलेभन्दा कृषिको उत्पादन र उपजहरु बढेको छ जुन तथ्याङकीय हिसाबले पनि पुष्टि गर्न सकिन्छ । र, अर्को भनेको मैले अघि नै भने कोभिड आउनुभन्दा अगाडिदेखि नै युवा उद्यमशीलता चलाईराखेका थियौं । अहिले धेरै युवा उद्धमीहरु तयार भएका छन् । यसले सकारात्मक सोंचाईका साथ लाग्नेकामहरु गरेको छ । बजेटहरुलाई पनि सानासाना कुरामा खर्च गर्न हुन्न भनेर नगर गौरवको योजना, नगर स्तरीय योजना बनाएर वर्गीकृतढंगले लगेर गइरहेका छौं । यति गर्दा विकासको अवधारणा पनि फरक हुनुपर्छ भनेर मान्यता राख्यौँ ।

विगतमा के थियो भने कति सडक बनायो त्यसले विकासको मापन गर्ने हुन्थ्यो तर अब मानवस्रोतको पनि विकास गर्नुपर्छ भनेर त्यसलाई दुईवटा पाटोमा हेर्यौं । एउटा,मानवीय संसाधनको हिसाबले के गर्ने त भन्दा तानसेन नगरपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई घरघरमै सेवा पुराउने जुन कुरा यो चालु आर्थिक वर्षदेखि प्रदेश सरकारलेपनि सुरु गरेको छ । त्यसैगरि यहाँका दलितहरुलाई नगरपालिकाको तर्फबाट स्वास्थ्य बिमा गर्यौं र प्रत्येक वर्ष एउटा एउटा समुदाय थप्दै गयौं ।

अघिल्लो चालु आर्थिक वर्षसम्म २ हजार परिवारले यहाँबाट स्वास्थ्य विमाको सेवा लिइराखेका थिए । यो चालु आर्थिक वर्षमा मोटामोटी हाम्रो २२ सय देखि २५ सय परिवार हुने अनुमान छ । स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा हाम्रो सबै नागरिकहरुले उपचारको अभावमा छटपटिन नपरोस भन्ने सोंचाईका साथ हामीले काम अगाडी बढायौँ ।

यसलेपनि नगरपालिका भनेको हाम्रो पनि अविभावक हो र अभिभावकत्व लिन्छ भन्ने कुरा सन्देश हामी दिन सकिराखेका छौँ । योबीचमा हामीले नगरपालिकाको स्रोत बढाउनका लागि विभिन्न कार्यक्रम र अध्ययनहरु गर्यौँ । नगरपालिकाको स्रोत बढाएर कमसेकम आन्तरिक खर्चमा आत्मनिर्भर हुनुपर्छ भनेर योजना तर्जुमा गरेर लगिराखेका छौँ । यो अवस्थामा हामी छौँ ।

तानसेन नगरपालिकासँगसँगै सिद्धार्थ करिडोर बारेमा यहाँले बढी चासो दिएको पनि देखिन्छ । यसप्रति तपाईंको चासो किन हो ?

विकास भन्ने कुरा कहिलेपनि एक्लै नहुँने रहेछ । धेरै मान्छे बसेका छौं,एउटा मान्छेले विकास गरेर सबैमान्छे त्यहिँ स्थितिमा रहनुहुन्न । यो जहिलेपनि सामुहिक प्रयत्न हुन्छ । विकास एकल प्रयास, दुईपक्षीय र बहुपक्षीय हुन्छ । सिद्धार्थ हाईवे बनिसकेपछि बेलहियादेखि पोखरासम्मको स्थिति हेर्ने हो भने पहिले र अहिले हेर्दा आर्थिक गतिविधि प्रशस्त घटेको देखिन्छ ।

राष्ट्रिय जनगणनाको हिसाबले हेर्ने हो भने यहाँको बसाई सराई गरेर जाने व्यापकमात्रामा देखिन्छ । यसले हाम्रा नजिकका शहरहरुलाई भार भएको छ जस्तै पोखरा, बुटवलजस्तो शहरलाई । त्यहाँ गएर मानिस खाँदिएर बसेका छन् । यहाँ उर्वरा जमिनहरु त्यत्तिकै खेर गइरहेको र सम्भावनाहरु खेर गइरहेको अवस्था छ ।

मैले अध्ययन गर्दा के पाए भने यो क्षेत्र गुल्जार हुने हो भने प्रशस्त मात्रामा रोजगारीका अवसर सिर्जना गर्न सक्छ । जसले यहाँको उत्पादनहरुले ति ठूला शहरहरु जनसंख्याको हिसाबले हेर्ने हो भने पनि ४० प्रतिशत जनसंख्या पोखरा र बुटवलमा केन्द्रित भएको पाईयो, यो करिडोरको । त्यहाँ जुन बनिबनाउ बजार छ त्यो बजारलाई हाम्रो समृद्धिका लागि प्रयोग गर्न सकिन्छ ।

त्यो ठाउँलेपनि हामीबाट भएको सम्भावनाबाट आफ्नो आवश्यकताहरु पूर्ति गर्नसक्छ र परस्पर हामी सँगै हिड्यौं भने सामाजिक आर्थिक संरचनालाई विकास गर्न सकिन्छ । एउटा स्थानीय आर्थिक व्यवस्थालाई उन्नतिलाई राष्ट्रिय आर्थिक उन्नतीसँग जोड्न सकिन्छ भन्ने हिसाबले यो कुरा गरेका हौँ । यसमा दुईपक्षीय बहुपक्षीय र कार्यक्रमहरु गर्दै जाने । यहाँ के देखिन्छ भने एक ठाउँको नगरपालिकाले एक थोक गर्यो अर्कोलेपनि त्यै गर्ने । सबैले एउटै गरेर त्यो ध्वस्त हुनेखालको छ ।

जहाँ जे सम्भावना छ त्यै त्यै कुरालाई विशिष्टीकृत गरेर जान सकियो भने यसले राम्रो हुन्छ भन्ने हिसाबले यो अभियान चलायौँ । यसमा हामीले प्रदेश सरकार,संघीय सरकार, योजना आयोगका प्रमुखहरु राख्यौँ र त्यसपछि अहिले हामीले एउटा अभियान के चलायौं भने प्राधिकरणको रुपमा लैजानुपर्छ ।

तथ्यगत के पुष्टि गरेका छौँ भने यसले १५ वटा स्थानीय तहमात्रै होईन २५,३० वटा स्थानीय तहको आर्थिक गतिविधि चलायमान हुनसक्छ । आर्थिक गतिविधि भयो भने मान्छेको सामाजिक स्थितिपनि राम्रो हुन्छ । त्यसले एउटा शान्ति छाउछ र त्यसले विकास हुन्छ । समृद्धिमा जान सकिन्छ भन्ने हिसाबले त्यसलाई अगाडि बढाएको हो ।

यसले अहिलेसम्म हामीलाई परस्पर रुपमा राम्रा सिकाईहरुको अनुभव आदानप्रदान गर्ने, छलफल गर्ने फोरमको रुपमा विकास भएको छ । सरकारको पनि ध्यानकर्षण भएको छ । यस्ता आर्थिक करिडोरहरु विश्वमा धेरै ठाउँमा बनाएर धेरै आर्थिक कृयाकलाप बनाएको सन्दर्भमा हामीले पनि त्यो कुरालाई प्रयोग गर्न जरुरी छ । यसमा हामीले सुक्ष्म रुपमा मात्रै होईन बृहत रुपमा हर्यो भनेपनि विकासलाई एउटा गति दिन सकिन्छ । यो लाईनमा पर्ने अधिकांश स्थानीय तहहरुबाट सन्तुष्ट हुनुहुन्छ । हामीले यो अभियान चलाईरहँदा यसले हामीलाई राम्रो प्रतिफल दिन्छ भन्ने हामीलाई आशा छ ।

ठूला आयोजना,राजमार्गहरु प्रदेश र केन्द्र मातहत पर्छन् । तर, तपाईंहरुले अलिकति फरक ढंगले अगुवाई गर्नुभएको छ । आफैँले अगुवाई गरेर भेलापनि गर्नुभयो । तानसेन घोषणा पत्र जारी भयो । तर आलोचना गर्नेहरुले त नगरपालिकाभित्र एउटा समस्या छ आफ्नो समस्या समाधान नगरेर राष्ट्रिय, प्रदेशिक स्तरमा ध्यान दिनुहुन्छ मेयरसापले भन्ने पनि त लाग्दो हो । अहिलेसम्म यसबाट तानसेन नगरपालिकाले यो करिडोरमा ध्यान दिँदा फाईदा के भएको छ ?

कतिपय फाईदा व्यक्तिगत हुन्छ । कतिपय सामुहिक हुन्छ । कतिपय परस्पर स्थानीय तहकोबीचमा हुन्छ । हामीले विकासको कुरा गरिरहँदा राष्ट्रको एउटा अंगको रुपमा स्थानीय तहपनि हो ।

स्थानीय तहमा एक्लैले जति गर्न सक्छ, धेरै मिल्दा धेरै गर्न सक्छन् । त्यसैले यो हाम्रोबीचबाट जाने जसले हाम्रो अर्थतन्त्रलाई असर गर्न सक्छ त्यसको बारेमा छलफल, चर्चा गर्नु, योजना बनाउनु राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ध्याकर्षण गराउनु या गतिविधि चलाउनु भनेको प्रथम दायित्व पनि हो ।

हामीले नगरले किन यस्तो गर्ने भन्ने, वडाले किन यस्तो गर्ने, वडाले किन यस्तो गर्ने भन्ने हो भने मुलुक कहाँबाट विकास हुन्छ ? समाज कहाँबाट विकास हुन्छ ? मलाई के लाग्छ भने यो प्रत्यक स्थानीय तहको दायित्व हो । हामी आत्मकेन्द्रित मात्रै भन्दापनि मुलुकको यो विकास गर्न समाजको विकास गर्नका निमित्त हामीसँगै नै यो अभियान चलाउँदाखेरी यसले राम्रो परिणाम हासिल हुन्छ । त्यसका लागि हामी मिल्नुपर्छ हामीसँगै जानुपर्छ ।

अर्को कुरा के छ भने यहाँको सबैको चरित्र भएका मध्यपहाडी क्षेत्रमा भएका स्थानीय तहहरुको समस्या एउटै चरित्र एउटै सम्भावना एउटै छ । त्यो भएको अवस्थामा हामी सँगै मिल्दा जुन व्यवसायको हिसाबले हेर्ने हो भने सानो स्केलमा गर्नु र ठूलो स्केलमा गर्नुमा धेरै अन्तर पर्छ । धेरै रोजगारीको सिर्जना हुन्छ ।

धेरै अवसर प्राप्त हुन्छ । त्यसैले हामीले यो काम गरेको हो । यो सडक निर्माण भइसकेपछि क्रमशः सरकारको ध्यानबाटपनि ओझेलमा परेको थियो । त्यसलाई अलिकति अगाडि ल्याउनुपर्छ भन्ने हिसाबले हो । यसलाई फाष्ट ट्रयाकको रुपमा विकास गर्ने यसलाई फराकिलो गर्ने सरकारले नीति ल्याएको छ । हामीलाई खुशी लागेको छ । यसले यहाँको आर्थिक गतिविधि चलायमान हुनसक्छ । आर्थिक चलायमान हुनेवित्तिकै मान्छेको नयाँ सोंच नयाँ विचार, नयाँ गतिवधि हुन्छ र हाम्रो विकासलाई टेवा पुग्छ भन्नेरै यसमा लागेको हो । यो कुनै व्यक्तिगत स्वार्थले होईन ।

व्यक्तिगत स्वार्थ भन्दापनि तानसेन नगरपालिका वा पाल्पावासीका लागि के फाईदा होला भन्न खोजेको ?

जहाँ मान्छेको गतिविधि हुन्छ त्यहाँ व्यवसायिक गतिविधि बढ्छ । एउटा तथ्याङ्क दिउँ यो राजमार्ग बन्दा ४,५ सय गाडी चल्थे भने अहिले दिनको साढे ४ हजार गाडी आहोरदोहोर गर्छन् । बाटोले यो क्षमता धान्न नसकेको अवस्था छ । त्यो गतिबिधिलाई व्यवसायिक हिसाबले यो ठाउँको उन्नती किन नगर्ने कुरा हो ।

खोला त्यसै बगेर गयो भने वरिपरिको खेत सुक्छ भने झै हाम्रो के रहयो भने एउटा ‘फ्लो’ त भएको छ तर यो ठाउँकोले के लिन सक्या छ त ? मध्यपहाडी क्षेत्रमा प्रत्येक वर्ष जनसंख्या घटिराखेको छ । विकासमा स्थिरता छ । यो हुनुहुँदैन । विकासमा पनि सधै चलायमान हुनुपर्छ जनसंख्या पनि चलायमान भएको संगसँगै यहाँबाट बसाइँ सर्ने चलन त हो सँगसँगै अन्तबाट यहाँ आउन पर्यो । यो चलायमान भयो भने राम्रो हुन्छ र अर्को अहिले हाम्रो पहाडहरु सबै रित्तिदैछन् ।

यसले भोली सामाजिक विषमता ल्याउन सक्छ । पहाडका सम्भावनाहरु सकिदैछन् । सम्भावना भएको ठाउँमा आवश्यकता धान्नै नसक्ने गरि मानिसहरु पुगेपछि दुबै ठाउँमा समस्या हुनसक्छ । त्यसकारणले समय छँदै मध्यपहाडी क्षेत्रका स्थानीय तहहरुलेपनि अभियान चलाएर विकासलाई सन्तुलित बनाउनका निमित्त यो प्रयास गरेको हो । यो भयो भने तनसेन नगरपालिकामात्रै होईन यो क्षेत्रमा पर्ने प्राय सबैजसो स्थानीय तहलाई त्यसबाट फाईदा हुन्छ ।

त्यसबाट विकासको गतिविधिमा अग्रसरता हुन्छ भन्ने लागेर हामी सबै सहमत भएरै यो काममा लागेका हौं ।

मेयर साप ! तपाईंले गर्दै आएका काम,महामारीको अवस्था लगायतका विषयमा पनि कुरा सुन्यौं । सँगसँगै तानसेन नगरपालिकाको मेयरसापको एउटा विशेषता भन्छन् कुरा मिठो गर्नुहुन्छ तर तानसेन नगरपालिका भित्र काम चाही अलि सुस्त हुन्छ । बाटो खनेर त्यत्तिकै अलपत्र छ । काम भएपनि अपेक्षा गरेजस्तो भएको छैन । गति अलि कम भयो भन्ने सुनिन्छ । हुँदैन केहीपनि भन्नुहुन्न तर हुँदै गरेका कामहरु ढिला हुन्छन् भन्ने गुनासो छ नि ?

मेरो सिद्धान्त के हो भने मानिसको धारणा सकारात्मक हुनुपर्छ । मान्छेलाई निराश पार्नुहुन्न भन्नेपनि हो । एउटा नेतृत्व गर्ने मान्छेले निराशा बाड्ने होईन आशा बाड्ने हो । तर हरेक कामहरु थैली हेरेर हुन्छ । अहिलेसम्म हाम्रो कामको कुरा हेर्ने हो भने हामीसँग भएका स्रोतहरुको ८५ प्रतिशत भन्दा बढी हामीले लगानी गरेका छौँ । उन्नति प्रगति भएको छ ।

मैले अघि नै भने हाम्रो यतिबर्षदेखि थाँती रहेको कुरा, एउटा कार्यकालमा निश्चिय नै पुरा हुँदैन ।सकारात्मक दिशातिर त्यसको प्रयास र प्रयत्न भाको छ कि छैन भन्ने कुरा हो । जहाँसम्म सडकको कुरा हो हामीले सडकहरु खन्दै गयौँ र पहिलो चरणमा प्रत्येक वडामा जाने सडक कालोपत्रे गर्ने भनेर नीति लिइसकेका छौँ । खनेका सडकहरु एकै वर्षमा एउटै कार्यकालमा पुरा गर्न सकिने हुँदैन । हामीले भनेको जति सबै पुरा गर्न सकिएको छैन तर हामी प्रयास र प्रयत्न गरिरहेका छौँ ।

 

गति ढिलो र छिटो भन्ने कुरा के हुन्छ भने स्रोतले पनि हुन्छ । गाडी पेट्रोलले चल्ने हो । पेट्रोल हाम्रो स्रोत हो अर्थात आर्थिक हो । पेट्रोल कम भइसकेपछि गति ढिलो हुनसक्छ र अर्को के देखिन्छ भने हामीले समिक्षा गरेका छौँ । हामीले जतिपनि बोलकबोलको माध्यमबाट अर्थात ठेक्काबाट दिएका योजनाहरु छन् यो वा त्यो बाहनामा नगरिदिने प्रवृत्ति पनि छन् ।

यो कुराबाट सरकार नै पीडित छ । सबै स्थानीय तहहरु पीडित छन् । सबै संस्थाहरु पीडित छन् । यसले पनि केही केही कुराहरुले असर गरेको छ । हाम्रो १३ वटा मेगा प्रोजेक्टहरु ठेकदारको कारणले ढिलो भएको छ । तानसेनजस्तो सानो ठाउँमा १३ वटा मेगा प्रोजेक्टहरु जसको न्यूनतम लागत ४० लाख छ र बढी भनेको ४ करोड रुपैयाँसम्मका छन् र यसरी ढिलो हुनु भनेको राम्रो कुरा होईन । जनताले गरेको यो गुनासो मैले सुझावको रुपमा लिएको छु । गति बढाउनुपर्छ भन्ने उहाँका चाहना हो ।

यसमा हाम्रो स्रोतले भ्याएको र यहाँको जनशक्ति, क्षमताले भ्याएसम्म त्यसलाई गति बढाउने र उहाँले उठाएका कुराहरु उहाँहरुको आवश्यकता हो भन्ने कुरालाई सम्पतिको रुपमा राखेर हामी अगाडी बढ्छौं । हामीले छोड्दाको दिनमा जनताले समीक्षा गर्दा नराम्रो भयो भन्ने पार्ने अवस्था रहँदैन । यो कुरा म यहाँलाई विश्वास दिलाउन चाहन्छु । छिटो गरोस् भन्ने बेग्लै कुरा हो तर हाम्रो जुन कार्यकाल हो यो सारै ठिक ढंगले गर्यो । क्षमता अनुसार अगाडि बढेको कुरा जनताले भन्ने छन् । यो कुरा त्यो बेलापनि सोध्नुहाला यहाँले ।

अब यहाँको कार्यकाल जति छ त्यो अवधिमा गर्ने योजनाहरु के के छन् ? जनतासँग गरिएका प्रतिबद्धताहरु कति पुरा गरिएछ ?

हामीसँग ४ वटा प्रोजेक्ट छन् ।जस्तै ‘बिग बुद्ध’को टेण्डर गर्दैछौं । तानसेनको श्रीनगरमा बुद्ध भगवानको आसनसहित हिसाब गर्दा लगभग एक सय फिटभन्दा बढी हुन्छ त्यो गर्दैछौं । गुफाचौरमा ‘ब्याक टप’ गर्न टेण्डर गर्यौ तर बजेट प्रिज गराएर ठेकदार भाग्यो । त्यसलाई हामी फेरि सुरु गर्दैछौँ ।

हामीले खनेका सबै बाटोहरुमा कालोपत्रे गर्न नसकेपनि अब नयाँ ट्रयाक खोल्न छोडेर हामीले त्यसलाई ग्राभेल गर्ने र नाली काट्ने भन्ने योजनामा हामी लागिरहेका छौं ताकि भोली वर्षाको बेलामा हिलो भएर चल्न नसकिने र अरु बेला धुलो उडेर चल्न नसकिने खालको स्थिति नहोस् । अहिले केही केही बाटा त्यस्ता पनि छन् ।

हामीले बाटो खनेर एकै सालमा सबै पुरा हुँदैन । एक वर्षमा ट्याक खोल्छौँ अर्को साल केही काम गर्छौँ । अब मोटामोटी हाम्रो डेढ वर्षमात्रै समयावधि बाँकी छ । यो डेढ वर्षकोबीचमा हामी सबै बाटोहरु ग्राभेल गर्ने, साह्रै खतरा बालहरुमा ‘रिटेनीङ वालहरु’ दिने, नालीहरु काट्ने, त्यसरी हामी अगाडि बढ्ने सोंचेका छौँ र बाँकी काम भनेको ऐतिहासिक धरोहरुहरुलाई अलि राम्रोसँग बनाउने ।

जस्तै हरित बसपार्क भनेर अन्तराष्ट्रियस्तरको बसपार्क बनाउन भनेर सरकारबाट १०० रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसका लागि वन फडानी लगायतका कामहरु भएका छन् । त्यसको डीपीआरको लागि सूचना जारी गरिसकेका छौँ । सूचना आइसकेपछि नगरपालिकाबाट हुनसक्ने कामहरु हामी गर्दै जाने र यसलाई सार्वजनिक निजी साझेदारैको माध्यमबाट गर्ने भनेर हामीले सोंचीराखेका छौँ ।

रानीमहल, श्रीनगरको शौन्दर्यकरणको कुरा, शहरी सेवा केन्द्रहरु लगायत पाँचवटा प्रोजेक्टहरु हाम्रो सम्झौताको क्रममा छन् । सरकारले मात्रै कतिपय कुरा लगानी गर्न नसकिदो रहेछ । स्थानीय सरकारसँग स्रोत कम हुँदाखेरी यि कुराहरु गरिरहेका छौँ ।

अर्को हामीले पर्यटन-पर्यटन भनिरहेका छौँ र पर्यटनका लागि एउटा बृहत योजना जुन विगतमा बनाएको भन्दा फरक किसिमको बनाउने, कृषिको प्रोफाईल बनाउने भनेर सोंचिरहेका छौँ र, यसै वर्षभित्र हामीले कृषि उपज संकलन केन्द्र स्थापना गर्ने त्यसका लागि हाम्रो कार्य सुरु भइसकेको छ ।

यसरी हामीले कामको ठूला प्रोजेक्टहरु छन् यसले दिर्घकालसम्म आर्थिक चलायमान बनाउन सक्ने । आर्थिक हिसाबले प्रभाव पार्नसक्ने खालको योजनाहरुलाई विशेष चासोका साथ गरिरहेका छौँ र सँगसँगै सिद्धार्थ हाईवेको पुछारदेखि हाम्रो सिमानासम्मको सडकलाई फराकिलो बनाउने काम भइरहेको छ । गुल्मीको सिमानासम्म बाटो फराकिलो बनाएर सकिसकेका छौं । यसरी काम अगाडी बढाउने क्रममा रहेको छ ।

मेयर साप ! अन्तमा केही छुटेका विषय छन् कि ?

हामीले अब यो चालु आर्थिक बर्षमा राखेको योजना कोभिडले असर गर्यो त्यो भनेको यहाँका सबै सामुदायिक विद्यालयहरुलाई प्रविधिमा जोड्ने भनेका थियौँ । लकडाउनका करणले यसमा प्रभाव पारेको छ । एउटा ‘विग स्कूल’को रुपमा लैजान केहीलाई विद्यालयलाई मर्ज गरेर लैजाने सोंचेका थियौँ त्यो भएन ।

अन्तराष्ट्रिय पर्यटन प्यासिफिक समितिको सदस्यता हामीले प्राप्त गरेका छौँ । चीनको लसान नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेका  छौं । जापानको एउटा नगरपालिकासँग हाम्रो भगिनी सम्बन्ध कायम हुने अवस्थामा पुगेको थियो । लकडाउनको कारणले रोकिएको छ । कोरियाको नगरपकिालसँग कुरा गरेका थियौँ लकडाउनका कारणले रोकिएको छ ।

राष्ट्रिय रुपमा अन्तराष्ट्रिय रुपमा पनि हाम्रो नगरपालिकाको सम्बन्ध विस्तार गर्ने काममा हामी सबैको प्रयासले मिडियाकर्मीहरुको सहयोगले अगाडि बढीरहेका छौं । यो निरन्तर रहने छ । यसबाट आउँदा दिनहरुमा विकास निर्माणको कामहरुमा गति दिनको निमित्त प्रचारात्मक कुराहरुलाई लैजानको निमित्त सघाउन पुग्नेछ भन्ने मलाई लागेको छ ।



प्रतिक्रिया दिनुहोस !