१२ श्रावण २०८१, शनिबार

दाङमा १४ हजार भन्दा धेरै  उद्योगहरु सञ्चालनमा

प्रकाशित मिति :  26 November, 2019 2:22 pm


दाङ, १० मंसिर 

दाङमा १४ हजार भन्दा धेरै  उद्योगहरु सञ्चालनमा रहेकाेे एक तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष२०७५ -७६ मा गरिएको आर्थिक गणनाअनुसार दाङमा साना ठूला गरी १४ हजार ४ सय २१  उद्योगहरु सञ्चालित छन्।

पाँचौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा प्राध्यापक अरुणकुमार शर्माले दाङमा औद्योगिक विकासको अवस्था, सम्भावना र चुनौतीबारे अवधारणापत्र प्रस्तुत गर्दै  उद्योगबारे  जनाकारी दिनुभएको हो । तथ्यांक अनुसार दाङमा रहेका उद्योगमा ४७ हजार पाँच सय ९८ जनाले रोजगारी प्राप्त गरेको शर्माले बताउनुभयो ।

सबैभन्दा धेरै उद्योग घोराही उपमहानगरपालिकामा सञ्चालित छन् भने सबैभन्दा थोरै राजपुर गाउँपालिकामा रहेको तथ्यांकले देखाएको छ । आर्थिक गणना अनुसार घोराही उपमहानगरपालिकामा पाँच हजार दुई य १९ उद्योग सञ्चालित छन् भनेराजपुरमा तीन हजार २३ उद्योग सञ्चालित छन् ।

यसैबीच, कार्यक्रममा आधार पत्र प्रस्तुत गर्दै प्रध्यापक शर्माले उद्योग, कलकारखाना नै आर्थिक विकासको आधार रहेको बताउनुभयो।

कार्यक्रममा समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले राज्य बलियो बन्न उद्योगहरु स्थापना हुनै पर्ने बताउनुभयो । उद्योगधन्दा, कलकारखाना स्थापना भए मात्रै आउने करबाट सरकार बलियो बन्ने उल्लेख गर्नुभयोे ।

विदेश गैरहेको बढ्दो श्रमशक्तिलाई रोक्न उद्योगको स्थापना हुनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष प्रदिप मजगैयाँले कुनै पनि उद्योगका संरक्षण र प्रोत्साहन सरकारले गर्नुपर्ने बताउनुभयो ।

बाताबरणलाई असर नगर्ने गरी उद्योगहरु स्थापना गरि रोजगारी सृजना र बढ्दो आयातलाई रोक्न सरकारले भूमिका खेल्नुपर्नेमा उनीहरुले जोड दिए । उद्योग दिवसका अबसरमा ४ जना उद्योगीहरुलाई सम्मान गरिएको छ ।

बोरा उत्पादक बुद्ध प्याकेजिङका प्रकाशचन्द्र घिमिरे, बुटवल बेकरीका अशोक श्रेष्ठ, कागजको झोला उत्पादक अभिसिंह ठकुरी र दुना टपरी उद्योगका शान्ति चौधरीलाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !