७ बैशाख २०८१, शुक्रबार

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फूटबल खेल्ने, सरकारले दियो स्वीकृति

प्रकाशित मिति :  17 October, 2020 3:24 pm


काठमाडौं, १ कार्तिक ।
नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

राष्ट्रिय खेलकुद परिषदले नेपाली राष्ट्रिय टिमलाई बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि शुक्रबार स्वीकृति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

फिफाले अन्तर्राष्ट्रिय खेलका लागि नोभेम्बर ११ देखि १९ को अवधि तोकिदिएको छ र त्यही अवधिमा मैत्रीपूर्ण खेलका लागि बंगलादेश फुटबल महासंघले एन्फासँग प्रस्ताव गरेको हो ।

कोरोना महामारीका कारण नेपाली खेलकुद चैतदेखि ठप्प छ । उक्त खेल सम्भव भएमा नेपाली फुटबल टिमका लागि त्यो प्रतिस्पर्धा कोरोना भाइरसको महामारी पछिको पहिलो अन्तराष्ट्रिय खेल हुनेछ ।

दुई देशबिचको मैत्रिपूर्ण खेलको मिति र आयोजनास्थल निश्चित नभएको तर बंगलादेशले खेलका लागि उतै प्रस्ताव गरेकाले दुवै खेल बंगलादेशमा हुनसक्ने सम्भावना छ ।

कोरोना महामारीपछि विश्वका प्रसिद्द लिगहरु केही महिना अघिदेखी नै चालु भइसकेका छन् भने युरोप, अमेरिका लगायत छिमेकी भारतमै पनि फुटबल पुनः सुचारु भए पनि नेपालमा ठप्प नै छ । चैतमा लकडाउन घोषणा गर्नुअघि रोकिएको सहिद स्मारक बी डिभिजन लिग सुचारु गर्नेबारे एन्फाले कुनै निर्णय गरेको छैन ।

 

 

 



प्रतिक्रिया दिनुहोस !