२२ बैशाख २०८१, शनिबार

नदी सीमाना बनाउने प्रावधान फेर्नुपर्छः पूर्व भारतिय राजदूत श्याम शरण

प्रकाशित मिति :  27 November, 2019 12:46 pm


काठमाडौ, ११ मंसिर ।

भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि पूर्व राजदूत श्याम शरणले दुबै देशलाई स्वीकार्य हुने गरी सीमा विबादको समाधान खोज्नै पर्ने बताउनु भएको छ ।

कालापानी विवादको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले नदीलाई सीमा बनाउने प्रावधानलाई फेर्नु पर्ने बताउनु भएको हो ।

सुगौली सन्धी १८१६ ले महाकाली नदीलाई नेपालको पश्चिमी सीमा मानेको छ । बेलायती शासकसँग भएको सो सम्झौतामा यसो भनिए पनि बेलायतीहरुका विभिन्न नक्शाले महाकाली नदीको स्रोत विभिन्न ठाउँमा दर्शाइएकोले बुझाईमा मतभेद उत्पन्न भएको श्यामशरणको भनाइ छ ।

“यस्तै समस्या भारतको चीनसँगको पूर्वी क्षेत्रमा म्याकमोहन लाइनसँगको विवाद देखिन्छ” ‘नेपाल, इन्डिया मस्ट सीक म्युचली अक्सेप्टेबल सलुसन टु कन्ट्रोभर्सी ओभर न्यूम्याप’ शीर्षकमा इन्डियन एक्सप्रेसमा छापिएको आलेखमा भनिएको छ, “यस्तो विवादको समाधानका दुई उपाय हुन्छन् । एक नदीको वहावले बनाउने सीमालाई मानौ वा नदीको वहावलाई बेवास्ता गर्दै ठोस विधिको पालना गरौं ।”

सम्भवतः दोस्रो उपाय बढी विवेकसम्मत हुन सक्ने बताउँदै यसका लागि मैत्रीपूर्ण परामर्श र दुबै पक्षलाई स्वीकार्य हुने गरी गर्नुपर्नेमा उहाँको जोड छ । भवानात्मक आरोपका आधारमा नभएर दुबैलाई स्वीकार्य हुनेगरी यसको समाधान खोज्नुपर्ने विषय आलेखमा उल्लेख छ ।

सन् २००२ देखि २००४ सम्म नेपालका लागि भारतीय राजदूत समेत भइसकेका श्यामशरणले काठमाडौमा हुने भारत विरूद्धको प्रदर्शनले आफैंलाई हराउने विन्दुको निर्माण गराउने चेतावनी समेत आलेखमा दिइएको छ । यस्ता खाले प्रदर्शनले भारतमा रहेका ६० देखि ८० लाख नेपाली नागरिकहरूको समस्या बढाउने संकेत आलेखमा गरिएको छ ।

इन्डियन एक्सप्रेसमा प्रकाशित आलेख हेर्न यहाँ क्लीक गर्नुहोला ।

Photo Credit: dnaindia



प्रतिक्रिया दिनुहोस !