१७ माघ २०७९, मंगलबार

विद्यार्थीको पढाइमा सृजनशीलताको विकास कसरी गर्ने ?

प्रकाशित मिति :  5 December, 2020 10:44 am


उठान 

तोतेबोली फुट्न नपाउँदै हाम्रा बाबुनानीहरू घरपरिवारको न्यानो काख र साथ छाडेर पढाइका नाममा विद्यालय परिसरभित्र प्रवेश गर्छन् । उनीहरूले बोक्ने पुस्तक र कपीको झोला उनीहरूका लागि भारी बोकेजस्तै गह्रुँगो हुन्छ । ‘सरकारी विद्यालयमा पढाइ नै राम्रो हुँदैन’ भन्ने मानसिकता बोकेका हामी अधिकांश अभिभावकहरूले खोजी खोजी र सकी नसकी महँगा बोर्डिङ स्कुलमा आफ्ना बाबुनानीहरूलाई भर्ना गरिदिन अग्रसर हुन्छौँ ।

प्रत्येक महिना विद्यालयबाट शुल्क बुझाउने ताकेता आइरहन्छ र हामीहरू समयमै शुल्क बुझाएर आफूलाई इमानदार अभिभावकका रूपमा परिचित गराउने प्रयत्न गर्न पनि छाड्दैनौँ । हामीहरू आफ्ना बाबुनानीको पढाइका बारेमा भन्दा उनीहरूको स्कुलको शुल्क कसरी जुटाउने भन्ने बारेमा बढ्ता चिन्तित हुन्छौँ । हाम्रा बाबुनानीहरू प्रत्येक वर्ष कक्षा त चढ्दै जान्छन् तर उनीहरूको सृजनात्मक क्षमतामा किन क्रमशः ह्रास आउँदै जान्छ ? भन्ने बारेमा हामीले ख्याल गर्न सकिरहेका छैनौँ ।

घरबाटै सृजनात्मकताको अभ्यास :

हामी अभिभावकहरूमध्ये धेरैले आफूले राम्रोसँग पढ्न नपाउँदा आफ्नो जीवन अन्धकारमय भएको अनुभूति गरेर आफ्ना सन्ततिहरू पढाइमा मात्र बढ्ता केन्द्रित भइदिऊन् भन्ने चाहन्छौँ । विशेष गरी निजी स्कुलमा पढ्ने विद्यार्थीहरू एकातिर कठोर अनुशासनमा बसेर स्कुलमा पढ्दा पढ्दा वाक्क भइरहेका हुन्छन् भने अर्कातिर घरमा समेत बिहान–बेलुका जतिखेर पनि उनीहरूलाई ‘पढ पढ’ भनेर हामीहरूले बारम्बर दबाव दिइरहेका हुन्छौँ ।

यस किसिमको दोहोरो दबावले गर्दा विद्यार्थीमा पढ्नुबाहेक अरू केही होइन रहेछ भन्ने एकोहोरो मानसिकता विकसित भइरहको हुन्छ भने त्यही एकोहोरो मानसिकताका कारण उनीहरूमा पढाइप्रति क्रमशः वितृष्णा पनि पैदा हुँदै जाने प्रबल सम्भावना रहन्छ । विद्यार्थीका लागि पढाइ नै सर्वस्व हो तापनि पढ्नु भनेको स्कुलमा र घरमा समेत पाठ्यपुस्तकमात्र पढ्नु र त्यसमा मात्र सीमित हुनु भन्ने होइन । अधिकांश विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा संलग्न   गराउँदैनन् ।

त्यसैले उनीहरूका लागि अभिभावकले घरायसी अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै जानु आवश्यक छ । हामी अभिभावकले आफ्ना बाबुनानीहरूलाई सधैँ ‘पढ पढ’ मात्र भनिरहनुभन्दा घरमा कहिलेकाहीँ खाना पकाउन, भान्साको अन्य काम सघाउन, पाहुनाहरूको सत्कार गर्न, करेसाबारीको काम गर्न सिकाउन र आफ्नो खेतबारीको निरीक्षण गर्न पनि प्रोत्साहन गर्नुपर्छ । हामी आमाबुवाले कुनै पेसाव्यवसाय अँगालेका छौँ भने त्यसका बारेमा क्रमशः परिचित गराउँदै त्यसमा संलग्न गराएर जिम्मेवारीबोधको विकास गराउनुपर्छ । हाम्रा बाबुनानीले घरबाट नै सृजनात्मक क्रियाकलापको अभ्यास गर्दै जान सकेका खण्डमा उनीहरूले आफ्नो पढाइमा र पढाइपछि आफूले जीवनमा अँगाल्ने पेसामा पनि उनीहरू सृजनशील हुन सक्नेछन् ।

विद्यालयमा अतिरिक्त क्रियाकलापको अनिवार्यता :

विद्यार्थी भर्ना गर्ने बेलामा गरिने विज्ञापनमा त धेरैजसो विद्यालयले अतिरिक्त क्रियाकलापहरू गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्छन् तर अधिकांश विद्यालयहरूले अतिरिक्त क्रियाकलाप गर्दा वा अन्यत्र सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा आफ्ना विद्यार्थीहरूलाई क्रमशः सहभागीका रूपमा पठाउँदा विद्यार्थीको पढाइमा प्रतिकूल प्रभाव पर्ने सोचाइ राखेको पाइन्छ ।

आफ्नो विद्यालयमा अत्यन्त न्यून मात्रामा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुमा पनि पढाइमा प्रतिकूल प्रभाव नपरोस् भन्ने उद्देश्य रहेको ठान्ने विद्यालयहरू पनि भेटिन्छन् । अन्यत्र सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थी पठाउँदा पनि प्रायः सधैँ एउटै विद्यार्थीलाई पठाउने गरेको पाइन्छ तर त्यसरी एउटै विद्यार्थीलाई बारम्बार अतिरिक्त क्रियाकपलापमा भाग लिन पठाउँदा उसको पढाइ त छुट्छ नै, साथै एउटै विद्यार्थीलाई मात्र सहभागी गराउँदा अन्य प्रतिभावान् विद्यार्थीहरू सहभागी हुनबाट वञ्चित हुँदै जान्छन् ।

सदैव पुरस्कृत हुने एउटै विद्यार्थीलाई सहभागीका रूपमा पठाउँदै जाँदा त्यस विद्यार्थीले विद्यालय तहको पढाइ पार गरेर विद्यालय छाडेपछि वा अन्य विद्यालयमा स्थानान्तरण भएपछि विद्यालयले नयाँ प्रतिभा जन्माउन र हुर्काउन निकै गाह्रो परिरहेको पनि देखिन्छ । तसर्थ विद्यालयले प्रत्येक शुक्रबार नियमितरूपमा विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरू गर्ने योजना बनाएर त्यसलाई कार्यान्वयन गर्दै जान सकेका खण्डमा विद्यार्थीभित्र विद्यमान सृजनात्मक क्षमताको विकास हुनेछ र त्यसबाट उनीहरूको पढाइमा समेत विशेष सहयोग पुग्नेछ ।

कक्षामा सृजात्मकताको अभ्यास :

नेपाली, अङ्ग्रेजीजस्ता भाषागत विषयका पाठ्यपुस्तकमा नै सृजनात्मक अभ्यासहरू समावेश गरिएका हुन्छन् । तिनलाई औपचारिकतामा मात्र सीमित नगरी तिनको व्यावहारिक अभ्यास गर्ने विषयमा सम्बन्धित विषय शिक्षकको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ । पाठ्यपुस्तकमा समावेश भएका सृजनात्मक अभ्यासका अतिरिक्त हप्तामा न्यूनतम एकदिन कक्षामा नै विद्यार्थीभित्र अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउने खालका विभिन्न सृजनात्मक अभ्यासहरू गराउन सकिन्छ ।

नेपाली र अङ्ग्रेजी विषयका शिक्षकले प्रत्येक दिन कक्षा प्रारम्भ गर्नुपूर्व पालैपालो गरी प्रत्येक दिन एउटा विद्यार्थीलाई कविता, गजल, गीत वा लघुकथा आफैले  लेखेर ल्याई सुनाउनका लागि प्रोत्साहन गर्नाले पनि विद्यार्थीमा सृजात्मकताको विकास हुँदै जान्छ । कक्षागत रूपमा गराइने त्यस किसिमको अभ्यासका क्रममा वाचन गरिएका राम्रा र उत्कृष्ट रचनाहरूको सङ्कलन गरी कक्षागत समूहबाटै षाण्मासिक वा वार्षिकरूपमा साहित्यिक पत्रिका प्रकाशन गर्दै जान सकेका खण्डमा त्यसबाट तल्लो तहका विद्यार्थीहरू पनि लाभान्वित हुन्छन् र उनीहरूमा आफूले  पनि यस्तै किसिमको अभ्यास गर्नुपर्दो रहेछ भन्ने भावनाको विकास हुन सक्छ ।

विद्यार्थीलाई आफै उत्तर लेख्न लगाउने :

विद्यार्थीका अगाडि उभिँदा धेरैजसो शिक्षकले आफूलाई सर्वज्ञ पात्रका रूपमा प्रस्तुत गर्ने दुष्प्रयास गर्छन् र आफूलाई विद्यार्थीले भन्दा केही बढ्ता जानेको जेठो विद्यार्थी ठान्न कुनै पनि शिक्षक अग्रसर भएको पाइँदैन ।

सूचना र प्रविधिको द्रुततर विकास भइरहेको वर्तमान समयमा पुरानै शिक्षण पद्धति र बासी ‘नोट’मा अभ्यस्त भएका शिक्षकहरू विद्यार्थीका बीचमा अघोषित रूपमा अनुत्तीर्ण भइरहनुपर्छ । त्यसैले हरेक शिक्षकले आफूलाई एउटा सहजकर्ता व्यक्तिका रूपमा उभ्याउने प्रयास गर्नु आवश्यक छ ।

शिक्षकले आफूले नजानेका कुरामा आफूलाई थाहा नभएको र ‘मैले सोधखोज गरेर बुझेपछि मात्र विद्यार्थीको जिज्ञासा समाधान गर्नेछु’ भन्दा कुनै पनि शिक्षकको इज्जत जाँदैन बरु सम्मान नै बढ्दै जान्छ । कक्षामा रहेका सबैजसो व्यक्तिमा एकै किसिमको बौद्धिक क्षमता हुँदैन । कतिपय विद्यार्थीहरू त गुरुका पनि गुरु ठहरिन सक्ने खालका हुन्छन् । त्यसैले हरेक शिक्षकले विद्यार्थीलाई नेपाली, अङ्ग्रेजीजस्ता सृजनशील र व्याख्यात्मक विषयका प्रश्नको उत्तर लेखाइदिने गर्नु राम्रो हुँदैन ।

त्यसरी उत्तर लेखाइदिँदा विद्यार्थी स्वयंले सोधखोज गरेर मौलिक उत्तर लेख्ने प्रयास नै गर्दैनन् किनभने विद्यार्थीले शिक्षकलाई सर्वज्ञ ठानिरहेका हुन्छन् र शिक्षकले लेखाइदिएको उत्तर नै उत्तम हो भन्ने भ्रम विद्यार्थीमा पर्न जान्छ । जसका कारण सबैजसो विद्यार्थी शिक्षकले लेखाइदिएको उत्तर लेख्न अग्रसर हुन्छन् । यसरी लेखिएको एकै किसिमको उत्तरमा प्रत्येक विद्यार्थीको सम्भावित सृजनात्मक क्षमता पनि प्रस्फुटित हुन पाउँदैन ।

शिक्षकले लेखाइदिएको उत्तरमै बढ्ता भर पर्दा विद्यार्थीले परीक्षामा उत्तरलेखनका क्रममा बिर्सने र अन्योलमा पर्ने सम्भावना पनि रहन्छ । त्यसैले विद्यार्थीलाई सबैजसो प्रश्नको उत्तर लेखाइदिने प्रवृत्तिको अन्त गरी विद्यार्थी स्वयंलाई मुख्य मुख्य बुँदा टिपोट गरी लेख्न लगाएर नमिलेका ठाउँमा मात्र शिक्षकले मिलाउन र नपुगेका कुरा थपथाप गर्न मार्गनिर्देशन दिनु समुचित हुनेछ ।

यसो हुन सकेका खण्डमा विद्यार्थी स्वयंले सृजनात्मक उत्तर खोज्ने प्रयास गर्नेछन् र परीक्षामा उनीहरूलाई उत्तरलेखनमा समस्या पनि हुने छैन । कतिपय विद्यार्थीहरूले गृहकार्यका क्रममा आफै उत्तर खोज्न अल्छी गरी इन्टरनेटमा उपलब्ध हुने सहायक सामग्री र म्यासेन्जर, भाइबर आदिबाट साथीले लेखेको प्रश्नोत्तरलाई हुबहु सार्ने दुष्प्रयसा पनि गर्न सक्छन् । कहिलेकाहीँ कक्षामै उत्तर लेख्न लगाउने र गृहकार्य गरी ल्याइएका प्रश्नोत्तरको सम्बन्धित विद्यार्थीलाई मौखिक रूपमा प्रस्तुत निर्देशन दिँदै जान सकिएमा त्यस किसिमको प्रतिलिपीकरण (कपी पेस्ट) को दुष्प्रवृत्ति विद्यार्थीहरूमा मौलाउने छैन ।

सन्दर्भ सामग्रीको अध्ययनमा प्रोत्साहन :

कतिपय शिक्षकहरूले पाठ्यपुस्तकमा रहेका सबै विषयवस्तु नै नपढाईकन परीक्षामा आएका र आउन सक्ने प्रश्नको उत्तरलेखनमा विद्यार्थीलाई बढ्ता अभ्यास गराउने गरेको पाइन्छ । सर्वप्रथम पाठ्यपुस्तकमा रहेका सबै विषयवस्तुको अध्यापन र अभ्यासको पुनरावृत्ति गरेर सकेपछि विद्यार्थीलाई प्रश्नोत्तरलेखनको अभ्यास गराउनु उचित हुनेछ ।

यसका साथै सम्बन्धित पाठको विषयवस्तुमा आधारित सन्दर्भ सामग्रीहरूको सूचना दिने र तिनको अध्ययन तथा अभ्यास गरिरहने निर्देशन पनि शिक्षकले विद्यार्थीलाई दिनुपर्छ । सन्दर्भ सामग्री लिखित रूपमा मात्र होइन हाम्रै परिवार, छरछिमेक र समाजमा समेत अलिखित रूपमा रहेका हुन्छन् । तिनको अध्ययन र अवलोकनबाट पनि विद्यार्थीमा क्रमशः सृजनात्मक क्षमताको विकास हुँदै जान सक्छ ।

बैठान :

कुनै पनि पढाइको परिपक्वताका लागि कक्षागत पढाइको मात्र भर परेर हुँदैन । त्यसका लागि विद्यार्थी आपैmले अध्ययन गर्ने, आपूmले जानेबुझेका कुरा आफ्ना साथीलाई तथा भाइबहिनीलाई वितरण गर्ने र त्यसलाई आफ्नो व्यवहारमा समेत कार्यान्वयन गर्ने प्रयास गर्नुपर्छ । पढाइ र नदी उस्तै गतिशील मानिन्छन् । पानी बग्न नपाउँदा प्रदूषित भएझैँ पढाइ पनि निरन्तर अभ्यास र वितरण भइरहन सकेन भने विस्मृति हुँदै जान्छ ।

डुङ्गाले  झैँ ज्ञान प्राप्त गर्दै जाने र आफ्नो ज्ञानका पाइलाहरू मेट्तै जाने हो भने त्यस्तो पढाइको कुनै सार्थकता रहँदैन । तसर्थ आफ्नै परिवारबाट, विद्यालयमा अतिरिक्त क्रियाकलापबाट, कक्षागत अभ्यासबाट, आफैले उत्तर लेख्ने अभ्यासबाट र सन्दर्भ सामग्रीको बढीभन्दा बढी उपयोगबाट विद्यार्थीले आफ्नो पढाइलाई क्रमशः सृजनशील बनाउँदै जानु आवश्यक छ ।

– लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।



प्रतिक्रिया दिनुहोस !