१२ फाल्गुन २०७७, बुधबार

अधिकारको खोजीमा कर्तव्यको बिदाइ

प्रकाशित मिति :  २७ मंसिर २०७७, शनिबार ०९:३३


उठान :
वर्तमान समयमा सबैजसो व्यक्ति अधिकारका बारेमा बढ्ता चर्चा–परिचर्चा गर्न र सुन्न मन पराउँछन् । घरपरिवार, समाज, राष्ट्र र विश्वमा नै अधिकारको आवाज दिन प्रतिदिन चर्को स्वरमा घन्किँदै गएको छ भने कर्तव्यको कुरा गर्ने र सुन्ने फुर्सद कसैलाई पनि भएजस्तो देखिँदैन ।

अधिकार र कर्तव्य एउटै सिक्काका दुईटा पाटाजस्तै हुन् तापनि वर्तमानमा अधिकारको मात्र बढ्ता खोजी हुँदै गएका कारण कर्तव्य हराउँदै गएको देखिन्छ । अधिकारको स्वागत हुँदै जाँदा कर्तव्यको बिदाइ हुँदै जान थालेकाले हाम्रो गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ ।

मानव अधिकारको खोजी :

सबै मानवको नैसर्गिक अधिकारलाई मानव अधिकार भनेर चिनिन्छ । राष्ट्रियता, लिङ्ग, जातीयता, रङ्ग, धर्म, भाषालगायतका कुनै पनि किसिमको भेदभाव नभईकन सबैले आआफ्नो अधिकार उपभोग गर्न पाउने विषयमा मानव अधिकारले जोड दिएको पाइन्छ ।

मानव अधिकारको सुरक्षा गर्न र अधिकार हनन गर्नेहरूलाई खबरदारी गरिरहनका लागि विश्वमा धेरै किसिमका मानव अधिकारवादी संघसंस्थाहरू खोलिएका छन् तापनि दिनप्रतिदिन मानव अधिकारको उल्लङ्घन भएका घटनाहरू सार्वजनिक भइरहेको पाइन्छ । मानव अधिकारको खोजीमा अग्रसर हुँदै जानु खुसीको कुरा भए पनि मानव अधिकार प्राप्त गरेपछि मानव कर्तव्यप्रति उदासीन हुँदै जाँदा वास्तविक रूपमा मानव अधिकारको संरक्षण र संवद्र्धन हुन सकिरहेको देखिँदैन ।

महिला अधिकारको खोजी :

सबै अधिकारहरू मानव अधिकारभित्रै पर्दछन् तापनि प्रत्येक वर्ग वा समुदायका अधिकारको प्राप्तिका वर्गीय संघसंस्थाहरूको स्थापना हुँदै आएको पाइन्छ । महिलाहरू हिंसा, बलात्कार र अत्याचारको सिकार हुँदै जान थालेपछि महिला अधिकारका आवाजहरू विश्वव्यापी हुँदै गएका हुन् ।

महिलाहरू घरेलु हिंसामा परिरहेका, दाइजोजस्ता सामाजिक विसङ्गगतिले गर्दा प्रताडित भइरहेका, बोक्सीको आरोपमा अत्याचार सहँदै आउनुपरेका र बलात्कारका कारण दिनप्रतिदिन असुरक्षित हुँदै गएका सन्दर्भमा महिला अधिकारवादी संघसंस्थाहरूले उल्लेखनीय योगदान दिँदै आएका छन् तर महिला अधिकार प्राप्त गरिसकेपछि आआफ्नो कर्तव्यप्रति महिलाहरू बढ्ता सचेत हुँदै जान नसक्ता प्राप्त महिला अधिकारको सुरक्षा हुन सकेको पाइँदैन ।

पितृसत्तात्मक सोचका कारण थिचोमिचोमा परेका महिलाहरूले नै महिला अधिकारका बारेमा वकालत गर्दै जानुपर्ने हो तर महिला अधिकारको वकालत गर्ने व्यक्ति नै पुरुष हुनु वा पुरुषवादी प्रवृत्तिबाट प्रभावित हुँदै गर्दा त्यसलाई अन्त्य गर्न नसक्नु निश्चय नै चिन्ताको विषय मानिन्छ ।

शिक्षक अधिकारको खोजी :

सबै किसिमका शिक्षकहरूले आआफ्नो पेसागत हकहितको सुरक्षा र अधिकार प्राप्तिका लागि विभिन्न वर्गीय सङ्गठनहरू खोलेका छन् । त्यस्ता सङ्गठनहरूभित्र पनि विभिन्न राजनीतिक दलसँग आबद्ध रहेका समूहहरूको सक्रियता देखिन्छ । दलीय समूहभित्र पनि गुटउपगुट खडा भएका छन् । जसका कारण शिक्षक तथा प्राध्यापकका साझा समस्या र अधिकारहरू क्रमशः ओझेलमा पर्दै गएको पाइन्छ ।

आआफ्नो विषयगत शिक्षणलाई केकसरी प्रभावकारी बनाउने, बेलाबेलामा विषयगत तालिमको व्यवस्थापनका लागि सम्बद्ध निकायलाई घच्घच्याउने, राजनीतिमा बढ्ता क्रियाशील हुँदा विद्यार्थीको पढाइमा गम्भीर असर पर्छ भन्ने बारेमा शिक्षकलाई सचेत गराउने, आफ्नो विषयगत अध्यापनमा गुणस्तर कायम गर्दा पनि घरपायकभन्दा घरअपायक शिक्षक उपेक्षित नै भइरहेका त छैनन् भन्ने बारेमा ध्यान दिने, राजनीतिक शिक्षकका रूपमा आफूलाई चिनाउन नचाहने शिक्षक नै किन अपायक सरुवा भइरहेर पीडित हुँदै जानुपरेको छ ?

आदि इत्यादि विषयमा पनि सम्बद्ध शिक्षक संघसङ्गठनको ध्यान जानुपर्ने हो तर यस्ता विषयप्रति बेवास्ता गर्दै जाने प्रवृत्ति बढेका कारण यथार्थमा शिक्षकको वर्गीय हकहितको संरक्षण र संवद्र्धन हुन सकेको छैन भने धेरैजसो शिक्षकले आप्mनो विषयगत ज्ञानलाई अद्यावधिक गर्ने विषयमा ध्यान दिन सकेको पाइँदैन ।

कर्मचारी अधिकारको खोजी :

नेपालका सबैजसो सरकारी र गैरसरकारी संघसंस्थाहरूमा काम गर्ने कर्मचारीहरूले आफ्नो हकहित र अधिकारको प्राप्तिका लागि साझा छाता सङ्गगठन र त्यसअन्तर्गत प्रत्येक राजनीतिक हकको वर्गीय सङ्गठनका रूपमा विभिन्न समूहहरूको गठन गरेका छन् । आफू कार्यरत संस्थाको संस्थागत उन्नति भयो भने मात्र हामीहरूको पनि सुरक्षा हुन्छ भन्ने कुरामा पनि त्यस्ता वर्गीय सङ्गठनहरूले चासो दिनुपर्ने हो तर आआफ्नो हक र अधिकारको बढ्ता खोजी गर्दै जाँदा संस्थाको समुचित उन्नति हुन सकेको देखिँदैन ।

फलस्वरूप भृकुटी कागज कारखानालगायत अनेकौँ संस्थाहरू बन्द हुन पुगेका र कतिपय संस्थाहरू बन्द हुने क्रममा रहेका छन् । हक अधिकारको मात्र बढ्ता चासो राखी दलीय राजनीतिक दबाव दिइरहँदा र कर्तव्यप्रति सबैजसो कर्मचारीहरू सचेत नहुँदा हरेक संघसंस्थाहरू रुग्ण हुँदै गएका छन् ।

व्यवसायी अधिकारको खोजी :

सबै क्षेत्रका व्यक्तिले आआफ्नो हक र अधिकारको खोजी गर्दै जान थालेपछि उद्योग–व्यवसायका सञ्चालकहरू पनि एकआपसमा एकजुट भएर वर्गीय सङ्गठनहरू खोल्दै गएका छन् । कपडा व्यवसायी, पुस्तक व्यवसायी, सुनचाँदी व्यवसायी आदि विभिन्न तहका व्यवसायीहरू आआफ्ना व्यवसायसँग सम्बद्ध वर्गीय संघसङ्गठनमा आबद्ध भएका देखिन्छन् ।

कतिपय जिल्लामा पुस्तक व्यवसायीले आफ्नो छाता सङ्गठनमार्फत उपभोक्तालाई कुनै किसिमको छुट दिन नमिल्ने निर्णय गरेकाले छुट दिने पुस्तक व्यवसायीलाई कारवाही गरेका उदाहरणहरू पनि भेटिन्छन् । यस किसिमका निर्णय र कारवाहीले सम्बद्ध क्षेत्रका व्यवसायीहरूलाई आर्थिक लाभ त अवश्य होला तर ‘ग्राहक नै हाम्रा देवता हुन्’ भनेर ग्राहकको सम्मान गर्न चाहने व्यसायी र व्यसायीबाट त्यस किसिमको सम्मानजनक व्यवहार पाउँदै गरेका ग्राहक निश्चय नै छुट नदिई आर्थिक लाभ लिन खोज्ने व्यसायीहरूबाट विकर्षित हुँदै जानेछन् ।

बाल अधिकारको खोजी :

ससाना बालबालिकाहरू विशेष गरी घरेलु कामदारका रूपमा संलग्न भइरहेका कारण बाल अधिकारबाट वञ्चित भएका छन् भने गरिबीका कारण धेरैजसो बालबालिका शिक्षाको पहारिलो घामबाट वञ्चित हुँदै आएका छन् ।

शिक्षालाई बालमैत्री बनाउनुपर्छ भन्ने विषयमा नेपाल सरकार पनि नीतिगत रूपमा नै अग्रसर भएको छ र धेरैजसो विद्यालयले आप्mनो विद्यालयमा बालमैत्री शिक्षण भइरहेको भनेर विज्ञापन पनि गरिरहेका छन् परन्तु यथार्थमा बालमैत्री शिक्षणलाई व्यवहार उतार्नबाट अधिकांश विद्यालय र स्वयं अभिभावकहरू पनि चुकेका छन् । जति धेरै बाल अधिकारका कुराहरू उठिरहेका छन् त्यति नै धेरै बाल अधिकार हनन भएका समाचारहरू पनि सार्वजनिक हुँदै गएका छन् ।

बाल अधिकारको खोजीमा अग्रसर भएका बालबालिकाहरूलाई पनि हाम्रा विद्यालय र अभिभावकहरूले उनीहरूको कर्तव्यका बारेमा सचेत गराउन सकिरहेका छैनन् । जसका कारण भोलिका कर्णधार मानिएका हाम्रा बालबालिकाहरू भोलि पनि अधिकारकै पछि मात्र लागिरहने हुन् र आप्mनो कर्तव्यप्रति गम्भीरतापूर्वक अग्रसर नहुने हुन् कि भन्ने चिन्ता धेरैजसो अभिभावकले प्रकट गर्दै आएका छन् ।

कर्तव्य विस्थापन हुने चिन्ता :

मान्छेहरू क्रमशः निष्क्रिय हुँदै नजाऊन् भनेर भगवान्ले पनि आफूलाई  कर्तव्य कर्ममा प्रवृत्त गराउँदै आएका हुन्छन् । परिवार र समाजमा अग्रज र श्रेष्ठ व्यक्तिहरू निष्क्रिय भएर बसिरहे भने नवपुस्तालाई सक्रिय भएर आआफ्ना कर्ममा प्रवृत्त भइरहने प्रेरणा प्राप्त हुँदैन । ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात् कर्म वा कर्तव्य गर्नमा मात्र तिम्रो अधिकार छ त्यसको फल प्राप्त गर्ने तिम्रो अधिकार छैन भनेर गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई त्यसै उपदेश दिएका थिएनन् ।

अधिकारको मात्र खोजी गर्ने वा फलको मात्र चाहना राख्ने व्यक्त कर्तव्यमा पूर्णतः समर्पित हुन सक्तैन जसका कारण त्यस्तो व्यक्ति कर्तव्यच्युत हुँदै जान्छ । जस्तोसुकै कर्मठ व्यक्ति पनि कर्तव्यचुत हुँदै गएपछि निष्क्रिय हुन्छ र निष्क्रिय रहेका व्यक्तिले अधिकार मात्र खोज्न पनि उचित हुँदैन । कर्तव्यविहीन अधिकारको खोजीले मात्र व्यक्ति स्वयंको तथा परिवार, समाज र देशरूपी वृक्षमा फल लाग्न सक्तैन । तसर्थ कर्म गर्दै अधिकारको खोजीमा अग्रसर हुनु आवश्यक छ ।

बैठान :

अधिकारका जतिसुकै चर्का स्वरहरू सुसेलिए तापनि सबै वर्गका व्यक्ति कर्तव्यमा समर्पित भइरहेका छन् कि छैनन् भन्ने कुरा विचारणीय देखिन्छ । जुन जुन व्यक्तिहरू कर्तव्य कर्ममा समर्पित रहँदै आएका छन् उनीहरूले नैसर्गिक रूपमा अधिकार प्राप्त गर्दै आएको पाइन्छ भने जुन जुन व्यक्तिहरू कर्तव्यप्रति उदासीन भएर अधिकारको खोजीमा मात्र भौँतारिइरहेका छन् उनीहरू अधिकार पाएर पनि सन्तुष्ट भएको देखिँदैन ।

तसर्थ मानव अधिकारसँगै वर्गीय अधिकारको प्राप्तिका लागि क्रियाशील रहने प्रत्येक व्यक्तिले कर्तव्यलाई बिदाइ गरेर होइन कर्तव्यलाई सदैव आत्मसात् गर्दै अधिकारको प्राप्ति र त्यसको संरक्षणमा अग्रसर भइरहनु आवश्यक छ ।

लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।



प्रतिक्रिया दिनुहोस !