४ बैशाख २०८१, मंगलबार

पर्यटन क्षेत्रका जायज समस्या सम्बोधन गर्छु: पर्यटनमन्त्री ढकाल

प्रकाशित मिति :  15 January, 2021 1:45 pm


पोखरा।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।

पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटनका बारेमा बुझेर व्यवसायीका सुझाव र समस्यालाई समाधान गर्न पहल गर्ने बताए ।

मन्त्री ढकालले कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र राज्यले नागरिकको ज्यान बचाउनतिर ध्यान केन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा पर्न गएको बताए । “धेरै क्षेत्रमा समस्या छ, तर राज्यले नागरिकको ज्यान जोगाउने कुरालाई प्राथमिकतामा राख्दा अन्यत्र केही नगरेजस्तो भएको छ, अब सरकारले अन्यत्र पनि चासो दिएर काम गर्नेछ”, उनले भने, “रत्नमन्दिर खुला हुन भइरहेको ढिलासुस्तीका विषयमा पनि धेरै कुरा उठेका छन्, रत्न मन्दिर खुला हुन कहाँनेर गाँठो परेको हो त्यो फुकाउने कोसिस गर्नेछु ।”

पर्यटन क्षेत्रका समस्यालाई समाधान गर्न सरोकारवाला र विज्ञको राय सुझावसहित आएका एकमत आवाजको नेतृत्व गरेर योजनाका साथ अघि बढ्ने बताउदै मन्त्री ढकालले भने “म निर्वाचनको मिति तोकेपछिको मन्त्री हुँ, ठूला–ठूला आश्वासन म दिन्न, यस क्षेत्रका जायज कुरालाई पक्कै सम्बोधन गर्नेछु ।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले वर्तमान अवस्थामा शतप्रतिशत घाटा व्यहोरिरहेको पर्यटन क्षेत्र राज्यले घोषणा गरेको मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायीले समस्या भोग्नुपरेको बताए । “पर्यटन क्षेत्र निकै प्रभावित छ, राज्यले छुट्याएको रु ५० अर्बको व्यवसाय सञ्चालन कोष पनि व्यवसायीले पाउन सकेका छैनन्, पर्यटन क्षेत्रबाट व्यवसायी विस्थापित हुँदैछन्, अर्बौँको लगानी जोखिममा छ, तर सरकारले तदारुकता देखाएन”, उनले भने।



प्रतिक्रिया दिनुहोस !