१२ श्रावण २०८१, शनिबार

कांग्रेसमा आन्तरिक किचलो मिलाउने प्रयास

प्रकाशित मिति :  14 December, 2019 6:01 pm


काठमाडौं, २८ मंसिर । आन्तरिक किचलो बढ्दै गएपछि  प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै निवासमा पुगेर छलफल गर्नु भएको छ ‌।

महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै असन्तुष्ट रहेका पौडेललाई भेट्न शनिबार बिहान उपसभापति बिमलेन्द्र निधिसहित देउवा पौडेल निवास पुग्नु भएको हो।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भेटमा पार्टीलाई कसरी एकढिक्का बनाएर लैजाने भन्ने विषयमा कुराकानी भएको जानकारी दिनुभयो। पार्टीभित्र देखिएका विवाद वार्ता र सहमतिबाटै हल गर्ने विषयमा कुराकानी भएको उहाँको भनाई थियो ।

कांग्रेसभित्र देखिएको विवाद समधानका लागि पौडेल पक्षले प्रकाशमान सिंहको नेतृत्व दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी रहेको समिति बनाएको छ भने संस्थापन पक्षबाट विमलेन्द्रनिधिको नेर्तत्वमा वार्ता समिति गठन भएको छ। कांग्रेसभित्र विभाग थप, जनवर्गीय संगठनको महाधिवेशन र पार्टीको महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद देखिएको छ।

विवादकै कारण पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय समितिको बैठक समेत बहिष्कार गरेको थियो। सभापति देउवाले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्नेमा कार्यकाल सकिनै लाग्दा विभाग थप गर्ने, तरुण दलको म्याद थप गर्ने लगायतका कार्यसूची लगेपछि पौडेल समूहले केन्द्रीय समितिको बैठक बहिष्कार गरेको थियो।

बैठक बहिष्कारपछि शुक्रबार पौडेल पक्षको छुट्टै बैठक बसी महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !