१२ बैशाख २०८१, बुधबार

कर्णाली प्रदेश ५९ रनले पराजित

प्रकाशित मिति :  22 January, 2021 4:25 pm


काठमाडौ ९ माघ ।  प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले सान्त्वना जित निकालेको छ।

आज भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो। सान्त्वना जित निकालेको प्रदेश–१ तीन खेलमा हार र १ मा जित निकाल्दै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदै घर फर्केको छ।

प्रदेश १ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश, ३५ ओभरमा १ सय ५६ रन जोड्दा अलआउट भयो। कर्णालीका विपिन रावलले ४७ रनको महत्वुर्ण योगदान दिए पनि टोलीको हार टार्न भने सकेनन्।

निश्चल रावल ३१, कप्तान रविन्द्र शाही १८, दिवान पुन १४ र दिनेश अधिकारी ११ रनमा पवेलियन फर्के।

कर्णालीलाइ कम स्कोरमा रोक्न थापाले कसिलो बलिङ गरे। उनले आफ्नो स्पेलमा २ मेडन राख्दै २६ रन खर्चेर ५ विकेट लिए। ९ ओभर बलिङ गरेका दिपेश कँडेलले ३ मेडन राख्दै २३ रन दिएर ३ विकेट लिए। मनोज तामाङको नाममा २ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १५ रनको योगफल तयार पारेको छ।

प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रनको योगदान दिए। ९७ बलको सामना गरेका लोहनीले ९ चौका प्रहार गरे। मनिस थापाले २५, फिर्दोस अन्सारी र श्रवण यादवले समान १७ रन जोडे।

कर्णाली प्रदेशका रविन्द्र शाहीले ३ विकेट लिए। दिनेश अधिकारी र अर्जुन चुनाराले २–२ विकेट लिए।



प्रतिक्रिया दिनुहोस !