१३ बैशाख २०८१, बिहिबार
नेकपा विभाजन

पार्टी एकताका लागि भन्दै बामदेव गौतमद्धारा संगठन बनाउन सुरु,केन्द्रमा घोषणा सभाको तयारी

प्रकाशित मिति :  25 January, 2021 6:30 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान अन्तर्गत संगठन निर्माण सुरु गरेका छन् ।

गौतमले गृह जिल्ला प्यूठान र निर्वाचन क्षेत्र भएको जिल्ला कमिटी गठन सुरु गरेका छन् भने केन्द्रमा घोषणा सभा आयोजना गर्दैछन् । केन्द्रमा घोषणा सभा गर्नुअघि जिल्लामा पनि कमिटी गठन सुरु गरेका हुन् । पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजन भएपनि बामदेव कतै गएका छैनन् ।

उनले पार्टी एक नै हुनुपर्ने भन्दै अभियान चलाएका छन् । गौतमले ललितपुरमा माघ १४ गते भेला गरेर पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन् ।
उपाध्यक्ष गौतमले पुस २३ गते राष्ट्रिय सभा बोल्दै पार्टी एकताका लागि छुट्टै संगठन बनाएर जाने घोषणा गरेका थिए ।

उनले पार्टी जोगाउन पटक पटक प्रयास गरेपनि सफल हुन नसकेको भन्दै एकता दाबावका लागि छुट्टै संगठन बनाएर जाने घोषणा गरेका थिए । उनले भनेका थिए,“म अझै एकताको पक्षमा छु । एकता अपरिहार्य छ र एकताका लागि आफै संगठन निर्माण गरेर जाने पक्षमा छु ।”

बर्दियामा भएको अभियानबारेको छलफल । फोटो : बामदेव गौतमको सचिवालय

पुस २५ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजकको हैसियतले आज अपिल जारी गर्दै भनेका थिए,“नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्नुहोस तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् ।”

एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्को समूहको नेतृत्व गरिररहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पटक पटक छलफल गरेपनि गौतम कतै जान मानेका छैनन् ।

विभाजित दुबै पक्षले संगठन निर्माण गरिरहेका बेला गौतमपनि संगठन निर्माणमा जुटेका हुन् ।



प्रतिक्रिया दिनुहोस !