७ बैशाख २०८१, शुक्रबार

एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा

प्रकाशित मिति :  27 January, 2021 5:45 pm


काठमाडौं । एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियू क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिसलाई ३० रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा बागमती र आर्मी भिड्ने छन् ।

एपिएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटिएको थियो । पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाए । त्यस्तै राशिद खानले ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए ।

अनिल साहले २१ रन बनाउदा आरिफ शेखले १६ रन जोडे । सागर ढकाल ११ रनमा आउट भए । पुलिसलाई सस्तैमा समेट्न भुवन कार्कीले ४ विकेट लिए । कमल ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २, २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए । त्यस्तै भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए ।

सुवास खकुरेल र कमल ऐरीले समान १९, १९ रन बनाए । कप्तान शरद भेषवाकरले १८ रन जोडे । अविनास बोहरा ११ रनमा अविजित रहँदा सुर्य तामाङ १ रनमा अविजित रहे । पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २, २ विकेट लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !